विद्यानाथ कोइरालाको विचार–प्रविधिलाई आत्मसात् नगरे शिक्षाको विकास हुँदैन

यतिबेला अन्य क्षेत्रसँगै नेपाली शैक्षिक प्रणालीमा पनि गम्भीर असर परेको छ ।  शिक्षा क्षेत्रमा त महामारी एक बहाना मात्रै हो । समस्या त शिक्षा क्षेत्रका ‘मालिक’हरूले बनाएका हुन् । अर्थात्, शिक्षा मन्त्रालय, विश्वविद्यालयका व्यवस्थापक, शिक्षक संगठन, विद्यार्थी संगठनलगायत संघसंस्थासँगै प्रशासन कार्यालयले समेत आफूअनुकुल निर्णय गर्दा यो अवस्था सृजना भएको छ । 

अर्को कुरा केन्द्र सरकारले मात्रै समग्र शिक्षाको जिम्मा लिएर संवैधानिक रुपमा पाएको स्थानीय तहलाई अधिकारबाट पनि बञ्चित गरिदियो, जसका कारण ८७ लाखको हाराहारीमा रहेका नेपाली विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भएको छ ।   

पढाइ कि सिकाइ ?

पढाइलाई सिकाइमा बदल्नुपर्छ भन्ने बुद्धिजीवीको चिन्तन पहिल्यैदेखिको हो । तर, पढाइ र सिकाइको तात्त्विक भिन्नता छुट्याउनै नसक्ने नेपाली शिक्षा क्षेत्रका ‘मालिक’हरू भएकै कारण विद्यार्थीको भविष्यमाथि अन्योलता थपिएको छ ।  

खास सिकाइ भनेको जहाँ जस्तोसुकै अवस्थामा पनि हुन सक्छ । विद्यार्थीले सिक्नका लागि कक्षाकोठा, शिक्षक, कालोपाटी अत्यावश्यक भन्ने छैन । घरमा, बाटोमा, भान्सामा टेलिभिजनमा, मोबाइलमा, इन्टरनेटमा जहाँबाट पनि सिक्न सकिन्छ ।  यी सबै कुरामा ख्याल नै नगरी किताबमा घोकेर पढ्ने प्रणालीबाट हामी अगाडि बढ्न सकेका छैनौं । 

परीक्षा लिनलाई निश्चित मापदण्ड अपनाउनु जरुरी छैन । उदाहरणका रुपमा तराईको एक कुनै बाटोमा एक जना विद्यार्थी आफ्नो अभिभावकसँग हिँडिरहेको छ । त्यसले एक लडिया (गोरुगाडा) देख्यो । त्यहाँ गोरुको मुखमा मोला लगाइदिएको छ । त्यो देख्नेबित्तिकै सानो बच्चाले आफ्नो छेउको अभिभावकलाई सोधिहाल्छ । किन त्यस्तो गरेको ? त्यो के हो ? अनि त्यही जिज्ञासाबाट उसले जे सिक्छ त्यही सिकाइ हो  । सानो विद्यार्थीले यसरी नै सिक्ने हो । 



अर्को उदाहरण अनलाइनबाट त साना विद्यार्थीलाई त घरको वातावरण अनुकूलको सिकाइमा प्रेरित गराउने हो । जस्तो कसैले चिया खाइरहेको छ भने चियाबारे पूर्ण विवरणसहित सिकेर आउन भनेपछि त उसले सोधेर, खोजेर, पढेर सबैतिरबाट संग्रह गरेर आफ्नो धारणा बनाउँछ नि ।

उसले कक्षा कोठामा बसेर सिक्ने कुरा त केही औपचारिक लिपी, वाक्य, कथा कविता सिक्ने त हो नि । यस्तो शिक्षा प्रणालीको विकास गर्नका लागि यो उपयुक्त बेला पनि हो । हामीले पम्परागत शिक्षा प्रणालीलाई फेरबदल गर्न ठूलो भूमिका खेल्न सक्छौं । यतिबेला असम्भव भन्ने नै छैन । परिस्थिति सुहाउँदो सिकाइ विकासका लागि शिक्षक र प्राध्यापकलाई जिम्मेवार बनाउनुपर्यो नि । केन्द्रले निर्णय गरेर त्यही निर्णय मुगुको गाउँमा मान भनेर हुन्छ ? अहिले त शिक्षकले सरासर तलब पाइरहेका छन् । विद्यार्थीहरूले केही सिक्न पाएका छैनन् । यो कोरोना कारण भएको होइन, हाम्रो शिक्षा प्रणालीका कारण भएको हो । 



हामी गम्भीर ढंगले चुक्यौँ

यतिबेला सरकार चलाउनेहरू र सरकारबाट इतर रहेका मानिसहरू यति महत्त्वपूर्ण क्षेत्रका विषयमा गम्भीर ढंगले चुकेका छन् । उनीहरू गैरजिम्मेवार र जवाफदेहिताबाट टाढा बनेका छन् । यसको सजिलो उदाहरण छ, यति लामो अवधिमा सबै दलका नेताहरू एक ठाउँमा बसेर हाम्रो शिक्षा प्रणालीलाई कसरी अगाडि बढाउने भनेर के एक पटक पनि छलफल÷संवाद गरे ? कहिल्यै गरेनन्, किन कि उनीहरूको मगजले शिक्षालाई त्यति महत्त्व नै दिएको छैन । योभन्दा ठूलो गैरजिम्मेवारी र बेइमानी के हुन सक्ला ?

अर्को कुरा संवैधानिक आँखाबाट पनि शिक्षामाथि बेइमानी भएको छ । त्यो के हो भने विद्यालय सञ्चालनका लागि स्थानीय सरकारको एकल अधिकार लेखेपछि स्थानीय सरकारले एकल अधिकारअन्तर्गत केके काम गर्ने, साझा कामअन्तर्गत केके काम गर्ने, प्रदेश सरकारले केके गर्ने र संघीय सरकारले के गर्ने भनेर लेख्नुपर्दैन ? त्यसपछि सर्वोच्च अदालतले टुंगो लगाइदिनु पर्दैन ?

यसपछि हामीले पढाइलाई व्यावहारिक सिकाइमा बदल्ने कुरामा पनि चुकेका छौं । यो गर्दै गरेका छैनौं । अर्को कुरा केन्द्रमा शिक्षा प्रणालीका लागि सामग्री बनाउने अनि सबै स्थानमा त्यही लागु गर्नुपर्ने ? यी सबै पक्षमा हामी गम्भीर ढंगले चुकेका छौं ।

प्रविधि छैन भन्नु बहाना मात्रै

नेपालमा महामारीको संकट देखिएपछि प्रविधिको उपयोग गरिएको छ ।  योचाहिँ समय सुहाउँदो सकारात्मक कुरा हो । तर, इन्टरनेटमार्फत पनि परम्परागत हिसाबको घोकाइमा सीमित भएका छौं । यो भने निकै गलत भएको छ ।  इन्टरनेटमार्फत पनि किताबमा भएको पाठ घोकाएर पढाउने हुँदै होइन । इन्टरनेटमार्फत सिकाउने काम गर्न जरुरी छ । 

अर्को कुरा शहरी क्षेत्रमा इन्टरनेटमार्फत पढाइ हुँदा गाउँघरतिरका स्थानीय तह र शिक्षकले आफूसँग प्रविधि नभएको बहाना बनाइरहेको सुनिन्छ । यो एकदमै गैरजिम्मेवार जवाफ हो ।

प्रविधि छैन भन्ने तर भएको सुविधाको उपयोग गर्ने गराउने बुद्धि भएन । हामी चुनावमा भोट माग्दा कुनै गाउँमा भोट माग्न जान छुटाउँछौँ ? हो त्यसरी नै जहाँ जसरी सकिन्छ त्यसरी विद्यार्थी र अभिभावकसँग सम्पर्क गरी परिस्थिति सुहाउँदो सिकाइ गर्नुपर्दैन ? 

यतिबेला जे स्रोत र साधन छ, तिनको नै उपयोग गर्नुपर्छ । जस्तो कर्णालीको एउटा कुनै स्थानीय तहमा टेलिफोन पनि छैन, तर त्यहाँ केही न केही कम्युनिकेशनको उपयोग त हुन्छ नि, हो त्यही कुरालाई उपयोग गरी परिस्थिति सुहाउँदो सिकाइ पनि गर्न सकिन्छ  । त्यसका लागि केन्द्रले केहीलाई मात्र शिक्षाका ठेकेदार बनाउनुभन्दा सम्बन्धित स्थानीय तह र शिक्षकहरूलाई नै जिम्मेवार बनाएर स्थानीय स्रोत साधनअनुसारको सिकाइ सिकाउन उत्प्रेरित गराउनुपर्छ ।  

रेडियो, टेलिभिजन, टेलिफोन र इन्टरनेटबाट सिकाइ गर्नुपर्ने कुराबारे यतिबेला आएर निर्णय हुनु पनि गलत हो । अर्थात् निकै ढिलो भइसकेको छ । हुन त कतिपय मानिसले यी वैकल्पिक विधिबाट पढाइलाई अगाडि बढाउँदा शैक्षिक प्रणालीमा झन ठूलो खाडल देखियो पनि भनिरहेका छन् । त्यो बुझाइ पनि गलत छ । किनभने, कुनै पनि चिज आफैमा गलत छैन÷हुँदैन । त्यसको प्रयोग तथा उपयोग गर्ने तरिकामा ख्याल गर्नुपर्छ । शहरमा इन्टरनेट छ त्यसको उपयोग गर्ने, टेलिभिजन भएको ठाउँमा त्यसको उपयोग गर्ने, रेडियो र टेलिफोन भएको स्थानमा त्यसको उपयोग गर्ने वातावरण सृजना गर्नुपर्यो । त्यसबाट स्थानीय स्तरको सिकाइमा ध्यान दिने र त्यसैअनुसारको परीक्षा तथा जाँच लिने व्यवस्था पनि गर्न सकिन्छ ।

यतिबेला आम विद्यार्थीहरूमा छटपटी भएको छ । विश्वविद्यालय स्तरका विद्यार्थीदेखि विद्यालय स्तरका बालबालिकामा मनोवैज्ञानिक असर देखिएको छ । ठूला विद्यार्थीहरू आफ्ना भविष्यप्रति चिन्तित भइरहेका छन् भने साना विद्यार्थीको ‘क्रिएटिभिटी’ घटेको छ ।

त्यसकारण यतिबेला हाम्रो शिक्षण प्रणालीलाई अनुसन्धानात्मक र व्यावहारिक रुपमा  बदल्न जरुरी देखिएको छ । यसले स्थानीय स्तरमा जे जे छ त्यही सिक्ने वातावरण सृजना हुन्छ । साना विद्यार्थीको जिज्ञासालाई सिकाइमा बदल्ने ठूला विद्यार्थीको व्यवहार रुचिअनुसारको कुरा सिक्न सिकाउने वातावरण बनाउन सकिन्छ । अनलाइनमार्फत पाठहरू घोकाउनुको सट्टा अनुसन्धानमा जोड दिन सकिन्छ । 


 

  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १४:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया