पार्टी बैठकबाट किन तर्किरहेका छन् ओली ?

केही महिनादेखि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै प्रक्रिया दोहोरिइरहेको छ । पार्टी सचिवालयका अधिकांश नेताहरु बैठक बोलाउन माग गरिरहेका हुन्छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका बैठक डाक्न कत्ति पनि रुचि राख्दैनन् । सकेसम्म ओली बैठक राख्नै खोज्दैनन् । बल्लतल्ल बोलाइएको बैठकमा ओली सहभागी त हुन्छन्, तर ती बैठक विनानिर्णय टुंगिन्छ, कि फेरि नयाँ विवाद देखापर्छ । 

मंगलबार बसेको पार्टी सचिवालय बैठकले बुधबार १ बजेका लागि बैठक तोकेको थियो । ओलीले त्यो समयमा अर्कै जरुरी काम भएकाले बैठकमा उपस्थित नहुने बताएका थिए । ओलीइतरका सचिवालयका अन्य ५ नेताले ओली सहभागी नभए पनि बैठक गर्ने बताइरहेका थिए । १ बजे भनिएको बैठक २ बजेका लागि सारियो, तर पनि ओली बैठकमा सहभागी भएनन् । केहीबेर बसेर २० गते अर्काे बैठक बस्ने गरी बैठक सकियो । 

नेकपा सचिवालयका एक नेताले २० गतेको बैठकमा ओली सहभागी हुने बताएका छन् । दुवै अध्यक्षले बैठकमा राखेका प्रस्तावबाट संयुक्त प्रस्ताव तयार गर्ने त्यसपछि ओली बैठकमा सहभागी हुने ती नेताको दाबी छ । 

अध्यक्ष ओली अर्का प्रचण्डको प्रतिवेदन फिर्ता गराएरै छाड्ने प्रयत्नमा छन् । तर, प्रचण्ड र नेपाल समूह त्यसलाई फिर्ता नगरी तल्ला कमिटीमा पठाउने अडानमा देखिन्छ । आफूमाथि विभिन्न आरोप लगाई ल्याइएको त्यो प्रस्ताव तल्ला कमिटीमा पठाउन ओली कुनै हालतमा तयार छैनन् । स्थायी समिति र केन्द्रीय समितिमा पनि आफ्नो तीव्र विरोध हुने आकलन ओलीको छ । 

बैठकमा चर्काचर्की

मंगलबार बसेको सचिवालय बैठक तिक्ततापूर्ण हिसाबले टुंगियो । बैठकको सुरुमै बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा ‘छलफल गर्न आवश्यक छैन’ भनेपछि बैठक चर्काचर्कीको स्थितिमा परिणत भएको थियो । 



सुरुवातमै प्रधानमन्त्री ओलीले के छन् आजको कार्यसूची ? भनेर प्रचण्डलाई प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले मेरो प्रस्ताव, तपाईंको जवाफ आदि त हुन् भनेपछि प्रधानमन्त्री ओली कड्किएको स्रोतले जानकारी दियो । ‘बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्रीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई के छन आजको कार्यसूची ? भनेर सोध्नुभयो,’ सचिवालयका एक नेताले भने, ‘प्रचण्डले मेरो प्रस्ताव, तपाईंको जवाफ आदि त हुन् भनेपछि प्रधानमन्त्री कड्किँदै तपाईंको प्रस्ताव बैठकको एजेन्डा बन्न सक्दैन भन्नुभयो ।’

ओलीले त्यो प्रस्ताव फिर्ता भएपछि मात्रै बैठक अघि बढ्ने बताएका थिए । ती सचिवालय सदस्यका अनुसार ओलीले प्रचण्डको प्रस्तावलाई  गालीगलौज, कुण्ठा, ईश्र्या, द्वेष र लाञ्छना मात्रै भएको आरोप लगाएका थिए । ओलीले ती सबै आरोपलाई तथ्यहीन भनेका थिए । 



सचिवालयमा प्रक्रियागत ढंगले पेस भएको प्रस्तावमा छलफल नै गर्नुहुँदैन भनेपछि प्रचण्ड आक्रोशित हुँदै अरु सचिवालयका सदस्यहरुले जे भन्छन् त्यही गर्नुपर्ने जवाफ फर्काएका थिए ।
 
‘तपाईंले प्रस्तावमाथि छलफल हुन्छ कि हुँदैन भनेर हुँदैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अरू सदस्यहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ ।’

बैठक किन अस्वीकार गर्छन् ओली ?

हिजो–आज प्रधानमन्त्री ओलीको गतिविधि र अभिव्यक्ति हेर्दा उनी पार्टी बैठकबाट भागिरहेको जस्तो देखिन्छ । केही समयपहिले पनि ओलीले सचिवालय बैठक राख्न सहमति नदिँदा नेकपाका बहुमत सदस्यले ठूलै संघर्ष गर्नुपर्यो । अध्यक्ष प्रचण्डलगायत वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कार्यालयमा बैठक बसी सचिवालय बैठक डाक्न पत्रसमेत लेखे । 

त्यसको जवाफमा केही दिन ओली र प्रचण्डबीच पत्रयुद्ध नै चल्यो । अन्ततः कात्तिक २८ गतेका दिन ओली सचिवालय बैठक बोलाउन बाध्य भए । तर, बैठक सुरु भएसँगै नेकपाको आन्तरिक झगडा पुनः तिक्ततापूर्ण स्थितिमा पुगेको छ । 

मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठक पनि चर्काचर्कीमै सीमित भयो । प्रधानमन्त्री ओलीले आवश्यक तयारी गरेर, व्यवस्थित गरेर, योजनासहित छलफल गर्न आग्रह गरेका थिए । ओलीको यस्तो प्रस्तावलाई सचिवालयका बहुमत सदस्यले अस्वीकार गरेका थिए । ‘आवश्यक तयारी गरेर, व्यवस्थित प्रस्ताव तयार गरेर पार्टीलाई अगाडि बढाउने गरी बैठक गरौँ भन्दै आएको छु,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईंहरु पार्टीलाई विखण्डन र सर्वनाशतिर लैजान खोजिरहनुभएको छ ।’ 

यसरी पार्टीको बैठक गर्नुको औचित्य नहुने ओलीले बताएका थिए । ओलीले आफूले पार्टी एकता, जनताको जनादेशलाई जोगाउन सामथ्र्यले भ्याएसम्म कोसिस गरिरहेको दाबी गरेका थिए । साथै, उनले आफूइतरका नेताले सबै कुरा भत्काएर समाप्त पार्ने चलखेल गरेको आरोप लगाएका थिए । 

प्रचण्डसहितको समूहले पार्टी विभाजनका लागि तयारी हालतमा देखिएको गतिविधिको सूचना आफूले पाएको दाबी ओलीले गरेका थिए । 

मंगलबारको बैठकमा ओलीले १० दिन बैठक स्थगन गरेर छलफल गर्नसमेत प्रस्ताव गरेका थिए । यसबीचमा छलफल, बहस गरेर विवादलाई साम्य बनाउने अनि मात्रै बैठक बस्नुपर्ने धारणा ओलीले राखेका थिए । ओलीको यस खालको प्रस्तावमा सचिवालयका अरु सदस्यले आपत्ति जनाएपछि ओलीले बैठकमा आउँदिन भनेका थिए । 

नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पार्टीभित्रको विवाद गलत अभ्यास भएको बताउँछन् । पार्टीको आन्तरिक झगडाले जनतासँग गरेका बाचा पूरा गर्न कठिन भइरहेको उनको भनाइ छ । अब देश र जनतालाई बेवकुफ बनाएर कोहीले पनि नेता बन्ने सपना नदेख्न उनले आग्रह गरे । 

‘अहिलेसम्म सिंगो नेपाली जनता र सिंगो देशलाई बेवकुफ बनाएर कोही नेता बन्न चाहन्छ भने, त्यो जोसुकै व्यक्ति भए पनि नेपाली जनताले माफ गर्नेवाला छैनन्,’ नेता मण्डलले भने, ‘जनताले ५ वर्ष काम गर्नका लागि म्यान्डेड दिएको हो । लडाइँ झगडा गर्नका लागि होइन ।’ आन्तरिक झगडा बन्द गरे बाँकी कार्यकालमा राम्रोसँग जनताको काम गर्नुपर्ने उनको भनाइ छ ।
 
नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे प्रधानमन्त्री ओलीले बैठक नबस्ने भनिरहे पनि पार्टीको बैठक भने, निरन्तर बस्ने बताउँछन् । पार्टीको जारी विवादका सन्दर्भमा नेता गैरेले पुस लागेसँगै यो झगडाको अन्त्य हुने दाबीसमेत गरे । ‘उहाँ(प्रधानमन्त्री ओली)ले बैठक बस्दैन भनिरहनुहुन्छ । बैठक पनि बसिरहन्छन् । मंसिरभरि झगडाको महिना । पुस मेलमिलाप, सहकार्य, सहयात्राको महिना हुन्छ,’ नेता गैरेले भने । 

स्थायी समितिको त्यो लफडा 

गत असारमा भएका भएको पार्टीको स्थायी समिति बैठकमा आफ्नो धेरै आलोचना भएपछि केपी शर्मा ओली बैठकमै जान छाडेका थिए । ओलीले बैठक अगाडि बढाउन अस्वीकार गरेपछि लामो समयसम्म बैठक स्थगित गरिएको थियो । 

ओलीले स्थायी समितिलाई हुल्लडहरुको समूह भएको भन्दै त्यो बैठकमा नजाने र त्यसका कुनै निर्णय पनि आफूलाई मान्य नहुने अडान लिएका थिए । 

त्यो स्थायी समितिको बैठक कुनै टुंगोमा नपुगी लामो समय रोकियो । यसबीचमा शीर्ष नेताबीच भएका कुनै छलफल टुंगोमा पुग्न सकेको थिएन । पछि विवाद समाधानका लागि कार्यदल बनाएर त्यसले बुझाएको प्रतिवेदनका आधारमा एक खालको सहमति जुट्यो । असार १० बाट सुरु गरिएको स्थायी समितिको बैठक २६ गते टुंगोमा पुगेको थियो । 


  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार २०:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया