तनहुँ घटनाका दोषी प्रधानमन्‍त्री नै हुन् : प्रदीप पौडेल
फाइल तस्बिर

कांग्रेस नेता प्रदीप पौडेलले बुधबार तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धडपकडको दोषी प्रधानमन्त्री केपी ओली नै भएको आरोप लगाएका छन् ।

बुधबार तनहुँको व्यास नगरपालिका १ तालघरेमा बनेको तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेलको गिरफ्तारीमा ओलीले नामर्दी देखाएको भन्दै पौडेलले यस्तो आरोप लगाएका हुन् । 

नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवनभर लडेको व्यक्तिमाथि पुल उद्घाटनमा जाँदा भएको व्यवहार निन्दनीय र आपत्तिजनक भएको पौडेलको ठहर छ । यो घटनालाई उनले सामन्तवाद र निरंकुशताको संकेत भनेका छन् । उनले सरकारको अहंकारको एउटा दृश्य तनहुँमा देखिएको भन्दै कडा शब्दमा आपत्ति जनाएका हुन्। 

‘कस्तो संस्कारको विकास गर्न खोजिएको हो नेपालमा ? के गर्न खोजिएको हो ? यो त चरम सामन्तवाद र निरंकुशताको संकेत हो । मै राज्य हुँ । मेरो बोली नै राज्य हो । मैले भनेपछि हुनुपर्छ भन्ने अहंकार देखियो ?’, नेता पौडेलले आक्रोश व्यक्त गर्दै भने,  ‘यो सबै कुराको दोषी वर्तमान प्रधानमन्त्री केपी ओली हुन् । प्रधानमन्त्रीले जसरी भ्रष्टाचारी र ठेकदारलाई संरक्षण गरेका छन् । त्यही अहंकार बोकेका मान्छे त्यहाँ भएका कारण यो परिस्थिति सिर्जना भएको हो ।’  

पौडेलले गणतन्त्रमा राजनीतिक संस्कार बिग्रिएको र नयाँ थिति बसाल्ने नाममा पुरानो थितिलाई पनि थिच्ने गरी विकृति बढ्दै गएको बताए । पञ्चायतमा विरोधीलाई जसरी दमन गरिन्थ्यो आज पनि त्यही भइरहेको भन्दै उनले आपत्ति जनाए । तनहुँ घटनाले सरकारको अनुहार उदाङ्गो बनाएको पौडेलको भनाइ छ । 

‘राजनीति समझदारी कायम गर्ने, एकले अर्कालाई सम्मान गर्ने र विकासको काममा सँगसँगै हिड्ने, यो हाम्रो नयाँ सिद्धान्त हुनुपर्ने । तर, ठिक उल्टो भयो’, पौडेलले भने, ‘पञ्चायतमा विरोधीलाई जसरी दमन गरिन्थ्यो । त्यसरी नै दमन गर्न थालियो । यसले सरकारको अनुहार उदाङ्गो बनाएको छ ।’ 



घटनाको विषयमा केन्द्र सरकार चुपचाप बसेको भन्दै उनले आपत्ति जनाए । ‘स्थानीय प्रशासनले सुझबुझ नभइकन त्यो गर्यो । कसैको उक्साहटमा गर्यो । तर संघीय सरकार के हेरेर बसेको छ अहिलेसम्म ? गल्ती भयो त्यसलाई सच्याउ भनेर गृहमन्त्री वा प्रधानमन्त्रीले किन भन्न सक्नु हुन्न ?’, सरकारसँग प्रश्न गर्दै पौडेल भन्छन्।  



पौडेलले लोकतन्त्रका नायकलाई गिरफ्तार गरेर ओलीले आफ्नो नामर्दी देखाएको टिप्पणीसमेत गरेका छन् । पौडेलले ओली सरकारप्रति आक्रोश व्यक्त गर्दै ट्वीटरमा लेखेका छन्, ‘लोकतन्त्रका नायकलाई गिरफ्तार गरेर ओलीले आफ्नो नामर्दी देखाए। निरंकुश पञ्चायतको झझल्को दिने ओली प्रवृत्तिले सिमा नाघिसक्यो । बुट बजार्दै सडकमा फौज उतारेर कायरता छोप्ने ओलि तमासाले डिङ्गो मार्नेवाला छैन। हेक्का रहोस निरंकुश ओलीहरुलाई नै सत्ताच्युत गरेर प्राप्त गरेको लोकतन्त्र हो यो ।’ 


  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार ११:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया