के ईश्वर पोखरेलले पनि छाडेका हुन्, ओलीको साथ ?
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद बढ्दै जाँदा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयमा एक्लिँदै गएका छन् ।

गत मंसिर १६ गते बसेको बैठकमा अध्यक्ष ओलीले सचिवालय बैठक नै नराख्न प्रस्ताव गरेपछि स्थिति चर्काचर्कीमा परेको थियो । बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको औचित्यका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए ।

त्यसपश्चात् बैठकमा सहभागी महासचिव विष्णु पौडेलबाहेक सबैजसो सचिवालयका सदस्यहरूले छलफल गर्नुपर्ने कुरामा सहमति जनाएका थिए । खासगरी सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्ताव र त्यसको जवाफमा अध्यक्ष ओलीले लेखेको प्रतिउत्तरका विषयमा छलफल गर्नुपर्ने कुरामा सबैको मत थियो ।

तर, प्रधानमन्त्री ओलीले भने, प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्ताव आरोपपत्रहरूको संगालो भएको भन्दै त्यसमा छलफल गर्ने औचित्य सकिएको बताएका थिए । सोहीक्रममा छलफल हुँदा सचिवालयका अधिकांश सदस्यहरूले हो मा हो मिलाएका थिए ।

उक्त दिन प्रधानमन्त्री तथा अध्यक्ष ओलीका निकट भनिएका सचिवालयका सदस्य ईश्वर पोखरेलले पनि बैठकमा छलफल गर्नुपर्ने कुरामा सहमति दिएका थिए । सचिवालयका सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि छलफल गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीको कित्तामा लामो समयदेखि दह्रो रूपमा उभिँदै आएका नेता ईश्वर पोखरेलको भूमिकालाई भने अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार उक्त बैठकमा नेता पोखरेल मौन बसेका थिए ।



‘प्रधानमन्त्रीज्यूले अध्यक्ष प्रचण्ड कमरेडको प्रस्तावलाई फिर्ता गर्नुपर्ने र त्यसको औचित्य सकिएको बताएका थिए । तर, सचिवालयका अधिकांश नेताहरूले उक्त कुराको बिरोध गरेर बैठकमा छलफल गर्नुपर्ने बताएका थिए,’ सचिवालयका ती नेताले भने, ‘कमरेड ईश्वर र बादलले पनि सबै सचिवालय सदस्यहरूको कुरामा सहमति जनाउँदै दुवै अध्यक्षले सचिवालयमा पेस गर्नुभएको प्रस्तावमाथि छलफल गर्नुपर्ने बताएका थिए ।’

नेता बादल केही समय पहिले मात्रै ओलीको कित्तामा उभिएका हुन् । तर, नेता पोखरेलले १६ मंसिरमा बालुवाटारमा बसेको सचिवालय बैठकमा देखाएको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १२:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया