भौतिक रुपमै कक्षा तथा परीक्षा सञ्चालन गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर भौतिक रुपमै नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ ।  स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएको त्रिविका रजिष्ट्रार डा पेशल दाहालले जानकारी दिए । 

कोभिड–१९ का कारण गत चैतदेखि नियमित कक्षा सञ्चालन हुन सकेको छैन । परीक्षा भने छठलगत्तै हुन थालेको छ । 

रजिष्ट्रार दाहालले भौतिक उपस्थिति हुन नसक्ने क्याम्पसलाई वैकल्पिक विधि प्रयोग गरेर नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए । उनका अनुसार स्नातकोत्तर तहको पढाइ भने भर्चुअल विधिबाट भए पनि स्नातक तहको कक्षा भने भएका छैनन् ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार कार्यकारी परिषद्को बैठकले त्रिविअन्तर्गतका सबै क्याम्पस विभाग, स्कुलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने र सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न सबै क्याम्पसलाई अनुरोध गरेको थियो ।

यसैगरी, त्रिविले यही मंसिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा सुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । 

यही मंसिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन संकायको चौथो वर्षका परीक्षा हुँदै छन् ।  पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघमा र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने बताइएको छ । त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिन सक्ने व्यवस्था मिलाएको छ । उनका अनुसार कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १३:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया