सुन्तलामा रोगको प्रकोप, किसान चिन्तित
फाइल फोटो

सुन्तला पाक्ने समयका फल झर्न थालेपछि म्याग्दीका किसान चिन्तित बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँलो भएर झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिए ।

बोटबाट विक्री नगर्दै सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशत फल झरेर खेर गएको छ । गत वर्ष ४० लाखको सुन्तला निर्यात भएको बाँस्कुना क्षेत्रबाट यस वर्ष न्यून मात्रामा सुन्तला निर्यात हुने देखिएको किसान गुरुङको भनाइ छ ।

म्याग्दीको बाँस्कुना, धामडाँडा, सुर्केमेला, भकिम्ली राखु, मरेक गाउँमा समेत सुन्तलामा कीराको प्रकोप देखिएको छ । जिल्लाको अन्नपूर्ण, रघुगंगा, मंगला र मालिका गाउँपालिकाका सुन्तला बगैँचामा समेत कीराको प्रकोप देखिन थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको सुन्तला जोन सञ्चालक समन्वय समितिका संयोजक खिमबहादुर पुनले जानकारी दिए ।

सुन्तलाको व्यवसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र संक्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको किसानको गुनासो छ । बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने कीराका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न कृषि विज्ञको सुझाब छ । अहिले झरेका फलहरुको कीरा व्यवस्थापन नगरे केही वर्षमै यस क्षेत्रबाट सुन्तलाखेती लोप हुने खतरा रहेको जानकार बताउँछन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा सुन्तला बगैँचामा कीराको प्रकोप बढेको भन्दै किसानलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरेको छ । झरेका फलबाट थप अन्य बोटमा समेत कीरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

जिल्लाको ६ ओटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तलाखेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।





  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १४:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया