उत्कर्षमा नेकपा विवाद, ओली बैठकमै गएनन् भने के हुन्छ ?
नेकपा सचिवालयका नेताहरु । फाइल तस्वीर

आठ महिनादेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक झगडा साम्य हुनुको सट्टा दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो समय पार्टी सचिवालयको बैठकमा दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनको विषयलाई लिएर विषयलाई लिएर अहिले विवाद उत्कर्षमा पुगेको छ।  

गत कार्तिक २८ गतेको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र गत मंसिर १३ गतेको सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनको विषयलाई लिएर नेकपाको आन्तरिक विवाद झन्–झन् जटिल बन्दै गएको छ। 

बुधबार २ बजे बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली अनुपस्थित रहे। ओली बाहेकका अन्य नेताहरु भने बैठकमा सहभागी भएका थिए। केहीबेर मात्रै बसेको यस बैठकले अर्को बैठक २० गते बस्ने निर्णय गर्‍यो। त्यस बैठकमा जसरी भएपनि ओलीलाई सहभागी गराउने नेताहरुले बताइरहेका छन्। 

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समूहले प्रधानमन्त्री ओलीलाई ३ दिने अल्टिमेटम समेत दिएका छन्। 

बैठकमा पेश भएका प्रस्तावमाथि छलफल÷बहस गर्दा  ओली उपस्थित हुनु अनिवार्य रहेकाले यसबीचमा ओलीलाई मनाएर बैठकमा सहभागी गराउने प्रचण्डसहितका नेताहरुको छ। 

अर्को बैठकमा प्रधानमन्त्री ओलीलाई उपस्थित गराउन पहल गर्ने र त्यसका लागि समय दिने कुरामा सबै  सचिवालय सदस्यले एक मतले निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिए। 



‘सचिवालयमा उठेका सबै विषयहरु प्रधानमन्त्रीसँग सम्बन्धित छन्।’ ती सचिवालय सदस्यले भने, ‘त्यसैले उहाँको अनुपस्थितिमा छलफल गर्दा राम्रो नहुने स्थिति देखिएकोले ३ दिनका लागि बैठक स्थगित गरिएको छ।’ 

बैठकमा सहभागी होलान् ओली ?



आगामी बैठकमा सकेसम्म प्रधानमन्त्री ओलीलाई उपस्थित गराउने प्रचण्ड लगायतका नेताहरुको तयारी छ। तर, ओली उपस्थित हुन नमानेमा बहुमतले निर्णय गर्नसक्ने सचिवालयका ती नेता बताउछन्। यसअघि १८ गतेका लागि स्थायी समितिको बैठक बस्ने तयारी थियो। तर, बुधबारको बैठकमा ओली नै उपस्थित नभएपछि २१ गतेका लागि सारिएको छ। 

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव आरोप पत्रहरूको संगालो, अराजनीतिक र आधारहीन भएको भन्दै त्यसलाई बैठकमा छलफल गर्न कुनै जरुरी नरहेको र औचित्य नरहेको अडान लिदै आएका छन्। गत १६ मंसिरको बैठकमा ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिएका थिए। ओलीकै अडानका कारण बैठक विषयवस्तुमा प्रवेश नगरी सकिएको थियो। दुई अध्यक्षले एकले अर्कालाई आरोप मात्रै लगाएका थिए।

स्रोतका अनुसार अध्यक्ष ओली प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा सहभागी हुने पक्षमा छैनन्। ओली पक्षका केही नेताहरु भने संयुक्त प्रस्ताव ल्याउने तयारीमा समेत रहेका छन्। तर यो योजना कसरी अगाडी बढ्छ त्यो भने, हेर्न बाँकी छ। ‘प्रचण्ड–नेपाल पक्षको योजना पार्टीमा विग्रह ल्याउने देखिन्छ। 

यस्तो अवस्थामा बैठक गर्नु र नगर्नुको कुनै अर्थ नहुने दावी ओली पक्षका नेताहरुको छ। प्रचण्डले प्रस्ताव फिर्ता लिने र साझा प्रस्ताव बन्ने ग्यारेन्टी नहुँदासम्म प्रधानमन्त्रीले बैठकमा भाग लिनुहुन्न’, ओलीनिकट स्रोतले भन्यो। ओली इतरका नेताहरु भने दुवै अध्यक्षको प्रस्ताव स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा लैजाने मनसायमा छन्। 

यसरी प्रधानमन्त्री ओली निरन्तर बैठकमा नजाने र बैठक राख्न अस्वीकार गर्ने गरिरहेमा सचिवालयका वहुमत सदस्यको बैठक बस्ने स्रोतले जनाएको छ। त्यसपछि स्थायी समितिको बैठक डाक्ने र विवाद सोही बैठकमा प्रवेश गराउने सम्भावना रहेको स्रोतको भनाइ छ।  

बुधबारको सचिवालय बैठकपछि प्रेस ब्रिफ्रिङमा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली बैठकमै नगएमा के होला ? भन्ने प्रश्नमा अहिले यो सम्भावनाबारे सोच्नै नचाहेको बताएका थिए। 

  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १६:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया