द हेल्थ हब
मिर्गौला कसरी बचाउने ? डा. ऋषिकुमार काफ्लेका सुझाव (भिडियोसहित)

अति महत्वपूर्ण अंग हो, मिर्गौला । हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्, दाहिने र देब्रेपट्टी गरेर । 

मिर्गौलामा काम गर्ने इकाइलाई नेफ्रोन भनिन्छ । पहिले सबैको शरीरमा नेफ्रोन १० लाख हुन्छ भनिएको हुन्थ्यो, तर अहिले यसको अध्ययन परिवर्तन भएको छ । 

गर्भवती हुँदा आमाले कति पौष्टिक खाइन् भन्ने कुराले अब बच्चाको मिर्गौलामा कति नेफ्रोन हुन्छ भन्ने निर्धारण गरिएको हुन्छ । त्यसैले शरीरमा जति धेरै नेफ्रोन भयो, त्यति राम्रो हुने भयो । 

हामी दैनिक जीवनमा खाने खाद्यान्नबाट निस्कने फोहोर पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट फाल्ने गर्छ । स्वस्थ मिर्गौलाले शरीरमा धेरै भएको पानी, नुन तथा अन्य धेरै फोहोरहरु फालिरहेको हुन्छ । मिर्गौलाले हाम्रो रगत सफा राख्न पनि सहयोग गर्छ । 

यति महत्वपूर्ण भए पनि यो अंग सधैं स्वस्थ नहुन सक्छ । ३० वर्षसम्मको उमेरमा त मिर्गौला निकै राम्रो हुन्छ तर विस्तारै नेफ्रोन घट्दै जाँदा मिर्गौलाको काममा पनि ह्रास आउन सक्छ । त्यसैले हामीले मिर्गौलामा के भयो भने रोग आउँछ भन्ने त थाहा पाउनु जरुरी छ । शरीररभित्र बिग्रँदै गरेको मिर्गौला बाहिर देखिँदैन । बाहिर थाहा नहुने वा कुनै लक्षण नभएपछि मानिसले आफूलाई स्वच्छ छु भन्ने ठानेको हुन्छ । मिर्गौला साह्रै कमजोर भए पनि मानिसले बाहिर थाहा हुँदैन ।

कतिपय अवस्थामा त मानिसले स्वस्थ अनुभव गरेको हुन्छ तर सबैजना स्वस्थ नहुन सक्छन् । भित्र मिर्गौला बिग्रिसकेको हुन्छ तर बाहिर केही थाहा नहुँदा समस्या देखिने गरेको छ । 



त्यसैले हामीले प्रत्येक वर्ष एकपटक स्वस्थ जाँच गर्नुपर्छ । 



मिर्गौलाकै लागि विशेषत हामीले धेरै जाँचहरु गर्नु नै पर्दैन । पिसाब र रगत जाँच गर्दा नै धेरै कुराहरु थाहा पाउन सकिन्छ । यसका लागि हामी अस्पताल जानु पर्ने हुन्छ । अस्पताल नगइ घरमा नै रोग पालेर बस्ने मान्छेहरु अहिले धेरै छन् । अहिले नेपालमा पनि झन्डै ३ लाख व्यक्तिमा मिर्गौलामा समस्यामा देखिन थालेको छ । यसमध्ये ३० हजारको मिर्गौला निकै बिग्रिसकेको छ । 

त्यसैले मिर्गौला बिग्रेर अहिले डायलाइसिस गर्नेहरुमा धेरै समस्या देखिएको छ । मोटोघाटो, उच्च रक्तचाप तथा खानपानमा हेलचक्र्याइँ गरेकाले यो समस्या बढ्दै गएको छ । उच्च रक्तचाप, मधुमेहका कारण मिर्गौला बिग्रिएको हुन्छ । तर, अहिले हामीमा चिकित्सककहाँ जाने चलन नै छैन । अहिले चाहिँ मानिसहरु समस्या लिएर ढिलो अस्पताल आउनु भएको छ । 

उहाँहरु पहिले आफू स्वस्थ भएको भन्नुहुन्छ । तर, मिर्गौला बिग्रिसकेपछि मात्र उहाँहरु अस्पताल आउनुहुन्छ । मधुमेह र उच्च रक्तचापका कारण दुवै मिर्गौला एकैपटकमा बिग्रिएका हुनसक्छन् । त्यसैले मिर्गौला बिग्रिसकेपछि गर्ने उपचार भन्दा पहिले नै अस्पतालमा आउनु पर्छ । 

बिग्रिएको मिर्गौला कतिसम्म बिग्रिएको छ भन्ने हामीले अध्ययन गर्नका लागि पनि केही समय लाग्छ । मिर्गौला बिग्रिएको मानिसमा हामीले डायलाइसिस गर्नुपर्छ वा मिर्गौला नै प्रत्यारोपण पनि गर्नु पर्ने हुन्छ । डायलाइसिस भनेको शरीरमा थुप्रिएको फोहोरलाई बाहिर फाल्ने काम हो । त्यसैले समयमा नै हामीले मिर्गौलाको स्वास्थ्यबारे चासो दिनु पर्ने हुन्छ । 

डायलाइसिस गर्दा पनि नहुने हो भने हामीले मिर्गौला प्रत्यारोपण नै गर्नु पर्ने हुन्छ । स्वस्थ मानिसको मिर्गौला रोगी मानिसमा राख्दा फेरि त्यो मान्छे स्वस्थ हुन्छ । हो, मिर्गौलाको उपचार सम्भव छ । तर, योभन्दा राम्रो त हामीले मिर्गौलालाई नै स्वास्थ राख्नु हो ।

यसका लागि हामीले दिनको सुरुवात एक गिलास पानीबाट गर्न सक्छौँ । दिनको दुई देखि तीन लिटर पिसाब फेर्ने गरि पानी पिउनु पर्छ । त्यस्तै, प्रत्येक दिन १० हजार पाइला हिँडौँ । खेले पनि, हिँडे पनि १० हजार पाइला दैनिक हामीले हिँड्नै पर्छ । हामीले खानपिनमा पनि विशेष ध्यान दिनुपर्छ । अहिलेको प्रोसेस्ड फुडलाई हामीले प्राथमिकता पनि दिनुहुन्न । राति समयमा सुत्नु र समयमा नै उठ्नु पनि मिर्गौला बचाउने अर्को अचुक उपाय हो ।

त्यस्तै, हामीले कतिबेला खाने भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । अनि पेनकिलर खाने कुरामा हामीले विशेष ध्यान दिनुपर्छ ।

त्यस्तै, चुरोट, खैनी जाँड र रक्सी पनि खानु हुँदैन । यी भनेका रोग बढाउने साधन हुन् । भोलि एक दिन यस्तो खाँदा हामीलाई रोग लाग्ने निश्चित जस्तै हुन्छ ।

त्यसैले मिर्गौलालाई स्वास्थ्य राख्न खानपानमा ध्यान दिनु पर्यो, व्यायाम गर्नुपर्यो, समयमा सुत्नु पर्यो । अनि यसले मात्र पनि हुँदैन, वर्षको एकपटक हामीले मिर्गौलाका जाँच गर्नैपर्छ । हामी स्वास्थ्य रहने हो भने हामीले हाम्रो स्वास्थ्यलाई विशेष उपचार पनि गर्न सक्छौँ । तर, हामीले यसलाई बेवास्ता गर्नु हुँदैन । 

यस विषयमा डा. ऋषिकुमार काफ्ले फरकधारको द हेल्थ हबमा प्रत्येक बिहीबार आउन थाल्नु भएको छ । उहाँलाई बिहीबार साँझ फरकधारको फेसबुकयुट्युब, र केही क्लिप्सहरु फरकधारको टिकटकमा पनि सुन्न सकिन्छ । त्यसका लागि हामीलाई फलो गर्नुहोला ।

 

  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १२:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया