सचिवालय बैठकअघि यस्तो सहमती गरे ओली–प्रचण्डले
फरकधार / २० मंसिर, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार दिउँसो बालुवाटारमा सुरु भयो । तर, यो बैठक बस्नुअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लामो वान टु वान छलफल भएको थियो । 



नेकपाका यी दुई अध्यक्षबीच आज लामो समयपछि वान टु वान वार्ता भएको हो । यसअघि यी दुईले एक्लाएक्लै २५ कार्तिमा भेट गरेका थिए । 

त्यसपछि नेकपामा यी दुई अध्यक्षबीच लामो समय वाकयुद्ध जारी रह्यो । ओली र प्रचण्डबीच चिठीबाट र सचिवालयमा राखिएको राजनीतिक प्रतिवेदनका कारण चिसोपना झन् झन् बढ्दै गयो । यही कारण यी दुईबीच पछिल्लो समय वार्ता समेत  हुन सकेको थिएन । 

तर, नेकपाका दोस्रो तहका नेताहरु दुई अध्यक्षलाई वार्तामा ल्याउन प्रयासरत थिए । यही सिलसिलामा ओलीनिकट ईश्वर पोखरेल र विष्णु पौडेलले शनिबार पनि प्रचण्डलाई भेट गरेका थिए । यी दुईसँगको भेटपछि प्रचण्ड ओलीलाई भेट्न तयार भए । 



तीन दिनअघि मात्र बैठकको आवश्यकता नभएको भन्दै सचिवालय बैठकमा अनुपस्थित ओली पनि शनिबारको सचिवालय बैठकमा उपस्थित भए । यो घटनाक्रमसम्म आइपुग्दा प्रचण्ड र ओलीबीच भएको आजको वार्तालाई विशेष प्राथमिकताका साथ हेरिएको छ ।

‘उहाँहरुबीच छलफल र सल्लाह नभएकाले आजको वार्ता निकै महत्वपूर्ण रह्यो,’ ओली–प्रचण्ड भेटबारे जानकार एक नेकपा नेताले भने, ‘यसले नै आज सहमतीको बिन्दूमा पुग्न हामीलाई सहयोग पनि गरेको छ ।’

उनका अनुसार आजको भेटमा ओली र प्रचण्डबीच राजनीतिक प्रतिवेदनबारे एउटा सहमतीमा पुग्ने सम्झौता पनि भएको छ । ‘उहाँहरु दुवै जना व्यक्तिगत लाच्छनालाई निकालेर दुवै राजनीतिक प्रतिवेदनबाट एउटा साझा प्रतिवेदन बनाउन सहमत हुनु भएको छ,’ ती नेताले भने, ‘अब दुवै राजनीतिक प्रतिवेदनलाई संयुक्त रुपमा एउटा प्रतिवेदन बनाइने छ र त्यो प्रतिवेदनलाई केन्द्रीय कमिटीमा लगिने भएको छ ।’

  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १५:३७:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया