दाङमा भारतीय मेवा आयात ठप्प, ‘रेडलेडी’ मेवाले लियो बजार

‘स्थानीय बजारमा भारतीय मेवा आउनै छाड्यो । मेवा उत्पादन पनि दाङमा प्रशस्त छैन । दुईचार महिनादेखि घोराही, लमही, तुलसीपुर मात्रै होइन, नेपालगन्ज, बुटवल, भैरवा, काठमाडाैंबाट समेत मेवाको माग हुने गरेको छ । अहिले मेवा पुर्याउन हामीलाई भ्याई–नभ्याई छ ।’ 

यो भनाइ बहुुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म घोराही–१० नारायणपुरका सञ्चालक कुलबहादुर डाँगीको हो । ०७६ साउनदेखि बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मले श्री सिद्धरत्ननाथ माध्यामिक विद्यालय घोेराही–१० नारायणपुको साढे दुई बिघा जमिन भाडामा लिएर करिब तीन हजार छ सय मेवाका विरुवा रोपेको थियो । मेवाको सिजन फागुनदेखि सुरु हुने भए पनि फर्मले ०७६ फागुनदेखि नै मेवा बिक्री सुरु गरेको थियो । 

उन्नत प्रजातिको ताइवानी ‘रेडलेडी’ खेती गरिएकाले अहिले बजारका पसलमा मात्रै होइन, प्रत्येक घरमा समेत मेवा पुगिरहेको छ । तर, मेवाको व्यावसायिक खेती अन्य क्षेत्रमा नभएकाले पुर्याउन समस्या परेको उनले सुनाए । ‘अहिले मेवाको माग थेग्नै धौ–धौ भइरहेको छ,’ उनले भने, ‘मेवाले स्वास्थ्यमा कुनै क्षति नपुर्याउने भएकाले पनि सबैले यसलाई रुचाउँदै गइरहेका छन् ।’ 

‘भारतीय मेवा आयात बन्द छ’ 

खेती गर्न धेरै लगानी पनि नलाग्ने, दुःख पनि नहुने, सबैका लागि उपयुक्त फल मेवाको खेती नहुँदा पहिले दाङका फलफूूल पसलहरुमा भारतीय मेवा आउँथे । फर्मले उत्पादन गरेसँगै दाङमा भारतीय मेवा आयात बन्द भएको फर्मका सञ्चालक डाँगीले सुनाए । 



‘अहिलेसम्म फर्मले एक सय क्विन्टल मेवा स्थानीय बजारमा बिक्री वितरण गरिसकेको छ,’ फर्मका अर्का सञ्चालक तुलसीराम केसीले भने, ‘मेवा सेवनमा मात्रै होइन, कसैकसैले खेतीको परामर्शसमेत लिइरहेका छन् ।’ 

कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष गुलाम रसुल पनि मेवा उत्पादनमा दाङ आत्मनिर्भर भएसँगै बजारमा भारतीय मेवा आयात बन्द भएको बताउँछन् ।  मेवाको व्यापार सन्तोषजनक रहेको उनले बताए । 



व्यावसायिक खेतीसँगै परामर्श 

‘मेवाको  बजार राम्रो छ । आम्दानी पनि उत्तिकै पाइन्छ । तर व्यावसायिक खेती दाङमा अझै फस्टाएको छैन । बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मले मेवाको बिक्री वितरणसँगै मेवा खेतीको महत्व र खेती प्रणालीबारे पनि फर्ममा भित्रिने व्यापारीदेखि किसानलाई परामर्श दिइरहेको छ । 

परामर्शपछि फर्ममा अहिले मेवाको ब्याड (बिउ)को माग पनि बढेको छ । यस वर्ष दाङमा थप २५ बिघा क्षेत्रफलमा मेवा खेती हुन सक्ने अनुमान गरिएको छ । डाँगीले भने, ‘ रेडलेडी बाह्रैमास फल्ने मेवा भएकाले किसानको आकर्षणमा पनि यसमा छ । ’ 

राज्यको असहयोग 

हावापानीका हिसाबले दाङ मेवा खेतीका लागि उपयुक्त मानिन्छ । तर, लगानीका हिसाबले व्यवसायिक खेती फस्टाउन सकेको छैन । बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मले मेवा खेतीमा २४ लाख लगानी गरेको छ । तर, खेती प्रवद्र्धनका लागि राज्यले कुनै अनुदानको व्यवस्था गर्न सकेको छैन ।’ 

सिँचाइदेखि ढुवानीसम्मको व्यवस्थापन राज्यले गरे दाङले मेवा खेतीकै माध्यमबाट मुहार फेर्न सक्ने डाँगीको ठहर छ । राज्यले ढुवानी र सिचाई व्यवस्थापनमा लगानी गरिदिए मेवा खेती अझै सहज बन्ने उनको भनाइ छ । 

मेवा खेतीसँगै पशुपन्छी पालन पनि गर्न सकिने उनको भनाइ छ । अन्य भित्रि बाली नभए पनि हाँस–कुखुरालगायत पन्छीहरु पाल्न सकिने उनको भनाइ छ । बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मले हाँसपालन पनि गर्दै आइरहेको छ । 

  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १९:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया