प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
योसँगै नेकपामा पछिल्लो देखिएको विवादले अब कुन मोड लेला भन्ने विभिन्न अनुमान पनि गर्न थालिएका छन् ।
यसरी नेकपाको विवादमा अनुमान गरिनुका केही कारणहरु छन् ।
आउनुहोस्, यी कारणहरुबारे चर्चा गरौँ । सबैभन्दा पहिले त शनिबार नेकपा सचिवालय बैठक हुनुभन्दा पहिले के भयो भन्ने विषयमा ससर्ती बुझौँ ।
नेकपामा यो विवाद सुरु भएको केही समय पहिले हो । जब नेपालमा भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले भ्रमण गरेका थिए, त्यति बेला नेकपामा विवाद सुरु भइसकेको थियो । त्यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त गरेका थिए, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइसकेको थियो । यही दुई विषयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल तथा झलनाथ खनाल, नेकपा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले यसको विरोध गरेका थिए । त्यहीबीच प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् रिसफल गरे । यसले नेकपाको विवाद झन् उत्कर्षमा पुर्यायो ।
यसपटक फरक के थियो भने यसअघि प्रधानमन्त्री तथा अध्यक्षमध्ये एक पदबाट ओलीले राजीनामा दिनु पर्ने व्यापक माग गरिएको थियो । यसपटक उनीसमक्ष प्रष्ट रुपमा यो माग राखिएन । तर, उनलाई प्रधानमन्त्रीबाट नै हटाउने प्रयास भएको उनी स्वयंले आरोप लगाउँदै आएका छन् । यहीबीचमा नेकपाका यी दुई समूहबीच संसदीय दलमा बहुमत र अल्पमतको विषयमा पनि चर्चा हुन थाल्यो ।
यो विवाद कतिसम्म उत्कर्षमा पुगेको थियो भने प्रधानमन्त्री ओलीले विपक्षी दल नेपाली काङ्ग्रेसका सभापतिलाई सत्ता साझेदारीको अफरसमेत गरेका थिए । कांग्रेस सभापति देउवा पनि ओलीको यो प्रस्तावमा सकारात्मक भएको कुरा बाहिर आएको थियो ।
विवाद बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ याङ्छीले नेकपा विवाद मिलाउन निकै जोड पनि गरेका हुन् । त्यहीबीच भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभाने र भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगंलाले नेपाल भ्रमण गरे । उता, चिनियाँ रक्षामन्त्रीले पनि एक दिनको नेपाल भ्रमण गरे । यी भ्रमणहरुले नेपालको राजनीतिमा माइक्रो म्यानेजमेन्ट गरेको आरोप अहिले पनि विभिन्न दलका नेताहरुले लगाउन थालेका छन् ।
जे होस्, राष्ट्रपति भण्डारी, चिनियाँ राजदूत याङ्छी र दुई देशका वरिष्ठ अधिकारीहरुको भ्रमणपछि नेकपामा विवाद अलिक मत्थर चाहिँ भयो ।
तर, अब फेरि यो विवाद उत्कर्षमा पुग्दै छ ।
२८ कार्तिकमा नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र त्यसअघि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भएको पत्राचारका कारण नेकपा विवाद थप शिखरमा पुगेको थियो । प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीमाथि निकै गम्भीर आरोपहरु लगाइएका छन् । यो प्रतिवेदन पेश गरिएको १३ दिनपछि १० मंसिरमा ओलीले पनि सचिवालयमा प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रचण्ड प्रतिवेदनको जवाफी प्रतिवेदनमा आएको यो प्रतिवेदनमा ओलीले फेरि प्रचण्डमाथि निकै धेरै गम्भीर आरोप लगाएका छन् ।
प्रचण्डको १९ बुँदो लामो प्रतिवेदनको जवाफमा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए ।
दुई अध्यक्षबीचको यो लडाइँ थप उत्कर्षमा किन पुगेको हो भने अहिले प्रचण्डलाई सचिवालयका अन्य चार जनाले प्रत्यक्ष साथ दिएका छन् । त्यसैले सचिवालयमा प्रचण्ड बहुमतमा छन् । अर्कोतिर बहुमत आफ्नो पक्षमा पार्न लगातार कसरत गरिरहेका ओली यसमा असफल भइरहेका छन् । फलस्वरुपः उनी कहिले बैठक टारिरहेका छन् त कहिले बैठकमा आफ्ना पुराना अडानलाई दोहोर्याइरहेका छन् ।
अन्ततः शनिबारको सचिवालय बैठकले आइतबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
अब स्थायी कमिटी बैठकमा के होला ? यसबारे केही चर्चा गरौँ ।
यसअघि नेकपाको स्थायी कमिटी बैठक २६ भदौमा सकिएको थियो । त्यति बेला ८२ दिनसम्म चलेको बैठकमा सुरुमा निकै विवादित भएको थियो । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले ओलीले एक पदबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । तर, पछि बैठकमा नेकपा सचिवालयले बनाएको एक कार्यदलको प्रतिवेदनअनुसार गर्ने निर्णय गर्यो ।
अहिले नेकपामा दुई समूहबीच भएको विवादको बिन्दू नै त्यही हो । त्यति बेला कार्यदलले बनाएको प्रतिवेदनमा संघीय र प्रदेशका सरकारमा हेरफेर गर्ने र यसका लागि दुई अध्यक्षले छलफल गर्ने बताइएको थियो । तर, ओलीले त्यसलाई अवज्ञा गरेको आरोप प्रचण्ड समूहले लगाउँदै आएको छ ।
अब आइतबार लागि बोलाइएको स्थायी कमिटी बैठकमा ओली र प्रचण्डले एकअर्कालाई लेखेका पत्र र प्रतिवेदनमाथि चर्चा गर्ने भनिएको छ ।
यो चर्चाले अब फेरि एक पटक नेकपा विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ । नेकपा सचिवालयले शनिबार गरेको निर्णयअनुसार अब यी प्रतिवेदनमाथि चर्चा हुन थाल्दा फेरि स्थायी कमिटी बैठकमा बहुमतको विषयमा चर्चा हुने निश्चित छ । दुवै प्रतिवेदनमाथि छलफल हुँदा दुई खेमामा बाँडिएका नेकपा नेताहरुले एउटा प्रतिवेदनलाई अस्वीकार गर्ने छन् । वा, स्थायी कमिटीबाट दुवै प्रतिवेदनलाई मिलाएर संयुक्त प्रतिवेदन बनाउन सचिवालयलाई आग्रह गर्न सकिनेछ । त्यसका लागि नेकपामा अर्को कार्यदल बन्ने सम्भावना पनि उत्तिकै छ ।
तर, के यसले समस्या समाधान गर्ला ?
‘अहिले जुन विवाद देखिएको छ,’ नेकपा स्थायी कमिटीका एक सदस्यले भने, ‘यो विवाद यति सहजै मिल्ने लक्षण देखिएको छैन । सचिवालयमा दुवै अध्यक्षले राखेका प्रतिवेदन मिडियाबाट बाहिर आइसकेका छन् । यसले नेकपामा विभाजन ल्याइसकेको छ भन्ने सन्देश बाहिर गएको छ । त्यसैले केही दिन यो विवादमाथि चर्काचर्की पर्ने सम्भावना बढेको छ ।’
प्रचण्डनिकट ती नेकपा नेताले अहिलेको विवाद केन्द्रीय कमिटी बैठकमा गएर मात्र टुङ्गिन सक्ने सम्भावना रहेको अनुमान गरेका छन् । फरकधारसँग शनिबार अबेर साँझ कुराकानी गर्दै उनले भने, ‘समस्या थप गहिरो बन्दै गएको छ । यसले पार्टीको भविष्यमाथि नै प्रश्न उठाएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।