वामदेवमाथिको व्यङ्ग्य तस्बिर सूर्य थापाले फेसबुकबाट किन हटाए ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता वामदेव गौतमाथि चर्को व्यङ्ग्य गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेता गौतमले प्रधानमन्त्री केपी ओलीलाई थापालाई प्रेस सल्लाहकारबाट हटाउन सुझाव दिएपछि थापाले सामाजिक सञ्जालमा गौतममाथि व्यङ्ग्य गरेका हुन्  ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचार विभाग उपप्रमुखसमेत रहेका थापाले पार्टी उपाध्यक्ष गौतमले केही वर्ष अगाडि गृहमन्त्री हुँदा सडक पार गर्नेक्रममा रत्नपार्कमा डोरी पार गर्दै गरेको तस्बिर पोस्ट गर्दै व्यङ्ग्य गरेका हुन् । यो तस्बिर नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको थियो।

उक्त तस्बिरसहित थापाले फेसबुकमा लेखेका छन्, ‘को कस्तो ? तस्बिर काफी छ !’  सयौं कमेन्ट र शेयर भएपछि थापाले उक्त पोस्ट फेसबुकबाट भने हटाएका छन्।

नेकपा उपाध्यक्ष  गौतमले प्रधानमन्त्री ओलीलाई आफ्ना प्रेस सल्लाहकार हटाउन समेत अनुरोध गरेकोप्रति उनले व्यङ्ग्य गर्दै आपत्ति जनाएका हुन् ।

‘सूर्य थापाले भित्रभित्रै सकाइदिएको छ,’ बैठकमा उपस्थित एक सचिवालय सदस्यले फरकधारसँग गौतमको बोलीलाई उद्धृत गरे, ‘तपाईंले अहिले नै प्रेस सल्लाहकारबाट सूर्य थापालाई नहटाउने हो भने भोलिका दिन राम्रा छैनन् ।’

गौतमले ओलीलाई थापाले प्रेस सल्लाहकार भएकै कारण अहिले सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा अनावश्यक रुपमा टिप्पणी भएको धारणा राखेका थिए।



यही भनाइविरुद्ध थापा गौतमाथि आक्रोशित भएका हुन् । थापाको यो व्यङ्ग्य प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतम गलत बाटोबाट राष्ट्रियसभामा पुगेको सन्दर्भलाईसमेत जोड्न खोजेको देखिन्छ । अरुलाई गाली गर्दा अर्थात् अर्काको खोट देख्दा आफ्नो बाटो नबिर्सन व्यङ्ग्यात्मक शैलीमा थापाले गौतमलाई सुझाव दिएको देखिन्छ ।



यो दृश्यले नेकपा नेताबीचको सम्बन्धमा कति धेरै दरार पर्दै गएको छ भन्ने पुष्टिसमेत गरेको छ । नेकपा विवाद समाधानका लागि आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्दैछ । 

  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १०:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया