वामदेवको विवादित् फोटो सेयर गरेपछि, सूर्य थापाका यी काण्डबारे प्रश्न उठ्यो

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सूर्य थापाले पार्टी आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमको एक विवादित तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरे।

७ वर्ष पहिला गृहमन्त्री हुँदा काठमाडौंको रत्नपार्कमा डिभाइडरमा लगाइएको डोरी नाघेर सडक पार गरेपछि वामदेव विवादमा आएका थिए। सल्लाहकार थापाले सोही फोटो आफ्नो फेसबुकमा पोस्ट गरी क्याप्सनमा लेखेका थिए ‘को कस्तो ? फोटो काफी छ’। शनिबारको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले थापालाई प्रेस सल्लाहकारबाट हटाउन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए। यसैको रिस फेर्नका लागि थापाले गौतमको कमजोरीमाथि प्रहार गरेका थिए। पछि उनले त्यो पोस्ट फेसबुकबाट हटाए।

उनको यस कार्यप्रति वामदेव गौतमको सचिवालय निकै आक्रोशित  बनेको छ। गौतमका स्वकीय सचिव विश्वमणी सुवेदीले फेसबुकमा लामो स्टाटस लेखेर सूर्य थापामाथि आक्रोश पोखेका छन्। उनले थापालाई यस्ता हर्कत गर्न कतिञ्जेल छुट दिने ? भनेर प्रश्न गरेका छन्। ७ वर्षअघि भएको सानो गल्तीका लागि माफी मागिसकेको सन्दर्भ सुवेदीले उल्लेख गरेका छन्। त्यही फोटो प्रयोग गरी थापाले गम्भीर टिप्पणी गर्नु निच कार्य भएको सुवेदीको भनाइ छ।

कुनै योगदानबिना नेताकै चाकडी गरेको भरमा केन्द्रीय सदस्य भएका थापाको काम जो शक्तिमा आयो उसैको चाकडी गरी फाइदा लिने रहेको आरोप सुवेदीले लगाएका छन्।

‘सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो ।’ सुवेदीले फेसबुकमा लेखेका छन्, ‘सूर्य थापा को हो ? जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने?’ 

थापामाथि आक्रोश पोख्ने क्रममा उनले २०४९ सालको टेप रेकर्ड काण्ड,  पार्टीको मुखपत्र नवयुग मुद्रणमा भएको घोटाला काण्डमा थापाको सहभागिता बारेका प्रसंग उठाएका छन्।



‘आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ? सुवेदीले  थापालाई प्रश्न गरेका छन् । 
 



  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १३:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया