भुवनकुमार दाहाल भन्छन्–बैंकहरूसँग पुँजी पर्याप्त छ, लगानी गरौं

यतिबेला कोरोना भाइरसको महामारीले विश्वब्यापी रुपमा असर गरिरहेको छ । यसबाट नेपाली बैकिङ क्षेत्र पनि अछुतो छैन ।  लामो समयदेखि उद्योग, कलकारखाना ठप्प छन्, जसका कारण कारोबार पनि रोकिएको छ । यो अवधिमा खास ठूलो कारोबार कतै भएको छैन । यही कारण कर्जाको माग अत्यन्तै कम छ । बैँकहरूसँग ‘आइडल फण्ड’ त्यत्तिकै बसिरहेको छ । पर्याप्त पुँजी थुप्रिएको छ ।  कोरोना भाइरसका कारण बैंकहरूको आम्दानी घटेर नाफामाथि दबाब परेको छ । 

बैंकहरूको खराब कर्जा बढेको कुरामा दुईमत छैन । तर, नयाँ तथ्यांक निकालिएको छैन । गत वर्षको पुसमा निकालिएको तथ्यांकलाई नै मान्नुपर्ने हुँदा अहिले हेरिने तथ्यांक सही मान्न सकिने अवस्था छैन । अर्को कुरा राष्ट्र बैंकले ऋणीहरूलाई पुस मसान्तसम्म तिर्ने छुट दिएको हुँदा यसको ठिक तथ्यांक भने त्यसपछि नै आउँछ । २०७६ असार मसान्तमा बैंकहरूको नउठेको ब्याज ११ अर्ब रुपैयाँ हाराहारी थियो । अहिले त्यसमा पाँच गुणा बढिसकेको अनुमान गर्न गाह्रो छैन ।  

धेरैले किस्ता तिरिसकेको अवस्था छैन । हाल बैंकहरूको मुख्य चुनौती भनेको निष्क्रिय कर्जा कति हुने हो र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बनेको छ । गत वर्ष करिब साढे ३ महिनामात्र कोरोनाले प्रभाव परेको थियो । चालु आवको भने सुरुदेखि कोरोनाको प्रभाव परेकाले यो वर्ष झनै वित्तीय क्षेत्रलाई चुनौती छ ।

गतवर्ष बैंकको नाफामा संकुचनमात्र आएको हो । यो वर्ष पनि घाटामै जाने अवस्था भने छैन । तर, स्वभाविक रुपमा कोरोना महामारीका कारण भएका बन्दाबन्दीले आर्थिक क्रियाकलाप तथा बैंकिङ गतिविधि चलायमान नहुँदा गत आवको समग्र वित्तीय विवरण प्रभावित भएको चाहिँ सत्य हो । बैंकहरूको ब्याज आम्दानी, सञ्चालन मुनाफा र प्रतिसेयर आम्दानी घटेको छ । साथै, वितरणयोग्य नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको छ । 

गत वर्षको तथ्यांक हेर्दा नाफावृद्धिमा आएको कमीका कारण समग्र बैंकको सम्भावित लाभांश दिने क्षमता करिब ११ प्रतिशतको हाराहारीमा मात्र रह्यो । यस वर्ष यसमा अझैं कमी आउँछ । तर, यति हुँदाहुँदै पनि हामीले निकै कमजोर स्थितिमा पुग्छौं भन्ने जुन अनुमान गरेका थियौं । त्यस्तो अवस्था भने रहेन । 

यतिबेला आर्थिक गतिविधि कम हुने भएकाले विभिन्न खाले कारोबार कम भएका हुन्, जसले गर्दा कर्जाको माग पनि कम भएको छ । तर, बैंकका ‘इन्डिकेटर्स’हरू बलियो अवस्थामा नै  छन् । अब विस्तारै सकारात्मक हुने आशा गरेका छौं । 



कोरोना महामारी ल्याएका यी आम समस्याका बीच पनि पुँजी कोष साढे ८ प्रतिशत अनुमान गरिएकोमा १४ प्रतिशत छ । बैंकहरूमा तरलता झण्डै ३० प्रतिशत छ । कोरोना भाइरसका कारण धराशयी बनेका उद्योगधन्दालाई ऋण दिन कुनै समस्या छैन । अहिले बैंकहरूमा तरलताको अवस्था ७३ प्रतिशतभन्दा कम छ । जबकि, ८५ प्रतिशतसम्म लगानी गर्न मिल्ने अवस्था हुन्छ । यसरी हेर्दा बैँकहरूसँग ४ खर्बजति लगानीयोग्य पुँजी छ । 

यतिबेला बजारमा अधिक तरलताको समस्या छ । यस्तो अवस्थामा बैंकहरूले गर्न सक्ने खास केही छैन । अन्तर्राष्ट्रिय बैंकिङ बजारमा हेर्दा बोण्ड मार्केटमा लगानी गर्न सक्ने अव्यवस्था हुन्छ । बैंकहरूलाई यस्ता अन्य सुविधा दिएको हुन्छ ।  



हामीले भने नेपाल राष्ट्र बैंककै मुख ताक्नुपर्ने अवस्था छ । ‘ओपन मार्केट अपरेसन’मा राष्ट्र बैंकसँग थुप्रै अधिकार छ । त्यही अधिकारको उपयोग गर्दै बढी ‘भोलुम’मा कम गरौं भनेर हामीले भनिरहेका छौं । 
यतिबेला बैंकहरू डिजिटल प्रणालीमा अगाडि बढ्दै छन् । यसलाई कोरोना महामारीको असरले बैंकहरूलाई दिएको अवसरको रुपमा लिन सकिन्छ । अर्थात् डिजिटल बैंकिङ प्रणाली ‘लकडाउन’ अवधिमा धेरै नै बढेको छ । संख्यात्मक हिसाबले बढेको डिजिटल प्रणालीलाई उपयोग ल्याउने गरी मानिसहरू विस्तारै बानी पार्दै छन् । 
अहिले विस्तारै उद्योग धन्दाहरू सकारात्मक दिशामा अघि बढिरहेका छन् ।

व्यवसाय सञ्चालन हुँदै छन् । विकास निर्माण कार्यले गति लिइरहेको छ । यस्तो बेला बैंकिङ क्षेत्रको ठूलो महत्त्व हुन्छ । किनभने, बैँकहरूले यस्तोमा लगानी गर्ने हो । हामीसँग लगानीयोग्य पुँजी प्रयाप्त छ । उद्योगी व्यवसायीले नयाँ जोश जाँगरका साथ आफ्नो काम अगाडि बढाउनुभए हुन्छ । 

(बैंकर संघका अध्यक्ष दाहालसँग फरकधारले गरेको कुराकानीमा आधारित)
 

  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १४:१०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया