नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर अध्यक्ष छाड्न तयार छु : प्रचण्ड
फरकधार / २१ मंसिर, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आगामी २८ गतेका लागि सरेको छ ।  आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बैठक चलेको थियो ।
 
त्यसक्रममा अध्यक्ष प्रचण्डले मात्र बैठकलाई सम्बोधन गरे । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने बताएका छन् । डेढ घण्टा लामो सम्बोधन गर्दै प्रचण्डले आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताउँदै पार्टी एकतालाई कायम राख्नुपर्ने बताए । आफूले पेस गरेको आरोप नभई प्रस्ताव नै भएको र आरोप लगाउन प्रधानमन्त्री ओलीले नै सुरुवात गरेको बताए । ‘हामी दुवैको प्रस्ताव तपाईंहरुको हात–हातमा पुगेको छ, हेर्नुस्, अनि आफैँ विश्लेषण गर्न सक्नुहुनेछ,’ उनले भने । 



गणतान्त्रिक प्रणाली र पार्टी एकता संस्थागत गर्न आवश्यक रहेको भन्दै उनले व्यक्ति र पद ठूलो कुरा नभएको बताए । आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउँदै प्रचण्डले भने, ‘हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो होइन । हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्तालाई ल्याउन म अध्यक्ष छाड्न तयार छु ।’ 
 
प्रचण्डले नेकपाको जारी विवादको दोष प्रधानमन्त्री ओलीलाई दिए । ‘उहाँले सुरुमा फायरिङ खोलेपछि हामीले पनि जवाफी फायरिङ गर्दा अहिलेको परिस्थिति आएको हो,’ उनले बैठकमा भने, ‘हामीले बैठकका लागि पत्र मात्र लेखेका थियौँ । अनौपचारिक छलफलबाट त्यसको समाधान निस्कन्थ्यो । तर, उहाँ सार्वजनिक रूपमा उत्रिनुभयो ।’



  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १८:४८:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया