नेकपा स्थायी कमिटी बैठकको नालीबेली

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अहिले देखिएको विवाद थप लम्बिने भएको छ । आइतबार पार्टी कार्यालय धूमवाराहीमा बसेको बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्, उनले आफ्नो दुई पाने पत्र आफूनिकट सचिवालय सदस्य ईश्वर पोखरेललाई पठाएका थिए । पोखरेलले बैठकमा ओलीको त्यो पत्र पढे ।

ओली अनुपस्थित भएको यो बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्पष्टीकरण दिए ।

यसअघि सचिवालय बैठक धूमवाराहीमा गर्ने भनिए पनि ओलीले आफूलाई सुरक्षा खतरा हुने भन्दै बैठकलाई बालुवाटारमा सारेका थिए । त्यसैले आज बस्ने स्थायी कमिटी बैठकमा धूमवाराहीमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । त्यहाँ कडा सुरक्षा व्यवस्था गर्नुको कारण थियो– ओली पनि बैठकमा सहभागी हुनसक्छन् भन्ने अनुमान । 

तर, ओली आफ्नो अडानमा कायम रहे । उनले शनिबारको सचिवालय बैठकमा नै यो बैठकको कुनै औचित्य नभएको भन्दै आफू उपस्थित नहुने बताएका थिए । बैठकमा ओली उपस्थित नभए पनि उनी निकट नेताहरु उपस्थित थिए ।

यसअघि आफूले लेखेको प्रतिवेदनको सुरुवातमा नै जसरी ओलीले प्रचण्डले कार्तिक २८ गतेको सचिवालय बैठकमा राखेको प्रतिवेदनलाई आरोप पत्र भनेका थिए, आज स्थायी कमिटी सदस्यहरुलाई सुनाउन पठाएको पत्रमा पनि त्यसलाई लान्छनापत्र भनेका छन् । अनि उनले पार्टीलाई विभाजनको डिलमा पुर्याउन उक्त पत्रको भूमिका रहेको र आफूलाई फौजदारी अभियोग लगाएको पनि पत्रमा उल्लेख गरेका छन् । यी कारणहरु देखाउँदै उनले पत्रमा नै बैठकको औचित्य नभएको बताएका छन् ।

जसै ओलीको दुई पाने यो पत्र पढेर ईश्वर पोखरेलले सुनाए, प्रचण्ड अगाडि मन्चमा थप चनाखो भइरहेका थिए । उनले ओलीको पत्र आए पछि आफूले पनि जवाफ दिनै पर्ने भएको बताए । अनि उनले पार्टी एकतालाई कायम राख्न आफू दृढ भएको बताए । 



त्यसपछि गत २६ भदौमा नेकपा स्थायी कमिटी बैठकले गरेका निर्णयहरु प्रचण्डले सम्झिए । अनि यी कुनै पनि निर्णयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गम्भीर नभएको बताए । अहिले नेकपामा देखिएको यो जटिलता पनि यी घटनाहरुले नै निर्दिष्ट गरेको प्रचण्डले बताए । 

उनले अहिले नेकपाको अवस्था आउनुको कारण त्यो स्थायी कमिटी बैठकका निर्णय कुनै पनि पालना नभएको कारक नै मुख्य रहेको बताए । ‘खास समस्या नै त्यही हो,’ प्रचण्डले भने । 



ओलीले आफूलाई कार्यकारी अध्यक्ष पनि मान्न नसकेको र नचाहेको, विभिन्न नियुक्तिहरु र मन्त्रिपरिषद् पुनर्गठन आफूखुसी गरेको आरोप प्रचण्डले लगाए । 

‘त्यसपछि ओली कमरेड बैठक बस्न नमानेको कुरालाई प्रचण्ड कमरेडले प्राथमिकता दिनुभयो,’ नेकपाका एक स्थायी कमिटी सदस्यले फरकधारलाई बताए, ‘ओली कमरेडलाई प्रचण्डले बैठकको अध्यक्षता म गर्छु भन्दा पार्टी फुटाएको हुनेछ भनेर भनिएको रहेछ ।’

बैठकमा प्रचण्डले ओलीले पछिल्लो समय बैठक नै राख्न नमानेको र यही विषयमा कुराहरु हुँदै जाँदा यो समस्या आइपरेको पनि बताए । नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार बैठकको माग गर्दा ओलीले नमानेपछि आफूहरुले पत्र लेखेको प्रचण्डले बताए । अनि उनले भने, ‘त्यसपछि हामीबीच पत्राचार भयो, ओली कमरेडले नै आफ्ना पत्रहरु बाहिर ल्याउन थाल्नुभयो ।’ ओली पक्षले आफ्ना कुराहरु बाहिर ल्याउन थालेपछि आफूहरु पनि बाध्य भएर आफ्ना पत्र तथा प्रतिवेदन बाहिर ल्याउन बाध्य भएको बताए । 

प्रचण्डले आजको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राखेपछि अर्को स्थायी कमिटी बैठक २८ मंसिरमा बस्ने निर्णय भयो । 

यसअघि २८ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । अब त्यसलाई सारेर १ पुषका लागि पुर्याइएको छ ।

  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार २२:२२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया