पहिले घरका सदस्यलाई सामान्य हो भनेँ, तर सामान्य होइन रहेछ कोरोना : दीपक विष्ट

चीनको वुहानमा गत वर्ष डिसेम्बरमा पहिलो पटक देखिएको कोरोनाभाइरस (कोभिड १९) अहिले विश्वका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । नेपाल पनि यसबाट अछुतो छैन । 

पछिल्लो तथ्यांकअनुसार नेपालमा २ लाख ४० हजारभन्दा धेरैलाई कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेका छ । यीमध्ये २ लाख २५ हजारभन्दा धेरैले कोरोना जितिसकेका छन् । 

यी २ लाख ४० हजार कोरोना संक्रमितमध्ये एक हुन्, ओलम्पियन दीपक विष्ट । तेक्वान्दोका विभिन्न प्रतियोगितामा स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्याएका दीपकलाई मात्र होइन, उनको घरका अन्य सदस्यलाई पनि कोरोना भएको थियो । 

तर, अब दीपकले कोरोना जितिसकेका छन् । एक साताअघि मात्र कोरोनाबाट ठिक भएका दीपकले फरकधारसँग आफ्नो कोरोना अनुभव पनि सुनाएका छन् । उनले सुनाए— 

विश्व महामारी कोरोनाभाइरसँग हामी सतर्क भइरहेका थियौँ । लकडाउनमा त हामी घरबाट बाहिर निस्किएकै थिएनौँ । लकडाउन पछि पनि हामी निकै सतर्कताका साथ घरबाट आआफ्नो काममा निस्किन थाल्यौँ । बाहिर निस्किए पनि मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्ने काम हामीले गरेकै थियौँ । 

तर, सावधानी अपनाउँदा अपनाउँदै हाम्रो परिवारमा कोरोना छिर्यो । 



सुरुमा घरमा मेरो भाइलाई कोरोनाभाइरस संक्रमण भएको हो । उसलाई त दसैं अगाडि नै कोरोना भएको हुनुपर्छ । किनकि उसले दसैं अगाडि नै ज्यान थकित भएको र दुखेको अनुभव गरेको थियो । ज्यान दुखेपछि ऊ घरमा नै आइसोलेसनमा बसेको थियो ।

केही दिनमा नै उसलाई कोरोनाका अरु लक्षण पनि देखिए । ज्वरो आउने, रुघाखोकी लाग्ने हुन थाल्यो । कोरोना हो कि भन्ने आशंकामा उसले पिसिआर गर्यो । नभन्दै उसलाई कोरोना भएको रहेछ । उसको पिसिआर रिपोर्ट पोजेटिभ आयो ।



मेरो भाइ बैंकर हो, बैंकमा काम गर्छ । हामीले सोच्यौँ, बैंकको काम गर्ने क्रममा नै उसलाई कोरोनाले छोपेको हुनुपर्छ ।

भाइलाई कोरोना पुष्टि भएको केही दिनमा उसकी श्रीमती र बच्चाहरुलाई पनि कोरोनाभाइरस संक्रमण देखियो । तर, उनीहरुलाई कुनै लक्षण देखिएका थिएनन् । 

भाइबुहारीलाई कोरोना देखिएपछि हामी घरमा नै अझ बढी सचेत हुन थाल्यौँ । हो, त्यति बेला हामी आत्तिएका पनि थियौँ । तर, हामीलाई थाहा थियो, आत्तिएर केही हुँदैन । हामीले भाइको परिवारको रेखदेख गर्न थाल्यौँ, सतर्कता अझ बढाउन थाल्यौँ । मेरो भाइको परिवार मेरो घरभन्दा केही पर बस्थ्यो । हाम्री आमाले सबै रेखदेख गर्ने हुनुभयो । उहाँ भाइको घरमा जानुभयो ।

संक्रमित मेरो भाइ र उसको परिवारको हेरचाह गर्ने क्रममा नै आमालाई पनि कोरोनाका लक्षण देखिन थाले । हामीले उहाँको पिसिआर परीक्षण गर्ने आवश्यकता नै देखेनौँ । उहाँमा देखिएका लक्षण ठ्याक्कै कोरोनासँग मेल खान्थे । केही दिनमा नै आमालाई ज्वरो बढी आयो, लगातार खोकी लाग्न थाल्यो । म अब अलिक बढी आत्तिन थालेँ । समाचार र इन्टरनेटमा मैले पढिरहेको थिएँ, कोरोनाले बढी बुढाबुढीलाई असर गर्छ ।

आमा भाइको घरमा गएपछि बा पनि भाइको घरमा जाने आउने गरिरहनु भएको थियो । 

केही दिनमा त बालाई पनि कोरोना देखियो । बालाई पनि लक्षण देखिन थालेपछि म झन् आत्तिएँ । अझ बढी सावधानी अपनाउन मैले छोराछोरीलाई उनीहरुको मामाघर पठाएँ । 

बा र आमालाई पनि कोरोना देखिएपछि मैले र आयशाले बाआमा, भाइबुहारीको हेरचाह गर्न थाल्यौँ । परिवारमा सबैलाई कोरोनाभाइरस संक्रमण भएपछि हामीलाई अझ बढी डर लाग्न थालेको थियो । हामी के गर्ने के नगर्ने भन्ने अन्योलमा बस्यौँ र आत्तिन पनि थाल्यौँ । 

सतर्कता अपनाउँदा अपनाउँदै पनि त्यसको केही दिनपछि आयशालाई पनि जिउ दुख्न थाल्यो, गाह्रो हुन थाल्यो । मलाई शंका लाग्यो, अब आयशालाई पनि कोरोना भयो । मैले उनलाई घरमा नै आइसोलेसनमा बस्न भनेँ ।

अब घरमा सबैलाई कोरोनाभाइरस संक्रमण भएको थियो । सबैको हेरचाह मैले गर्न थालेँ ।

हो, त्यति बेला सबैलाई कोरोना भयो भनेर म पनि आत्तिन थालेको थिएँ ।

तर, आत्तिएर हुँदैन भन्ने पनि मनमा थियो । अनि मैले पूरै परिवारको रेखदेख गर्न थालेँ । सबैलाई कोरोना भयो भनेर निराश भएको मलाई अन्योल थियो तर म आत्तिएँ र अन्योल भएर बसेँ भने अरु सबैको मनोबल घट्छ भन्ने मलाई लागिरहेको थियो ।

त्यसैले पनि म पूरै जोशका साथ परिवारका सबैको रेखदेखमा लाग्न थालेँ । मैले सबैलाई भन्ने थालेँ– कोरोना सामान्य हो । तातो सुप र तागतिला खानेकुरा बनाएर परिवारका सबैलाई भन्थेँ– नआत्तिनु, यो सामान्य हो, ठिक भइहाल्छ ।

आमा, बुबा र भाइलाई एन्टिबायोटिक औषधी पनि चलाउन परेको थियो । चिकित्सकको सल्लाह लिएरै मैले यस्तो गरेको थियो । ज्वरो र खोकीको औषधी पनि उहाँहरुलाई खुवाएँ । 

विस्तारै उहाँहरुमा लक्षण ठिक हुँदै गएका थिए । तर, दोस्रो पटक गरेको कोरोनाभाइरस परीक्षणमा पनि सबैको रिपोर्ट पोजेटिभ आयो । हामीले मास्क लगाएर दशैं मनायौँ । त्यसको केही दिनपछि सबैको कोरोना रिपोर्ट नेगेटिभ आयो । हामीले कोरोना जित्यौँ भनेर सबै खुसी भयौँ । 

अब दशैं त्यस्तै भयो, तिहार राम्रोसँग मनाउने भनेर हामीले योजना बनायौँ ।

घरमा सबैले कोरोना जितेपछि खुसी पनि भएका थियौँ हामी । तर, अचानक एक दिन मलाई समस्या देखिन थाल्यो । लक्ष्मी पूजाको साँझ हुनुपर्छ, मेरो शरीर निकै दुख्न थाल्यो । 

मलाई पनि अब कोरोना भयो भन्ने आशंका गरेँ । शरीर दुखेर उठ्नै नसक्ने भए पछि तिहार मनाउँछु भन्ने योजना बनाएको मैले आइसोलेसनमा तिहारका दिन कटाउन पर्यो । भाइटिकाकै भोलिपल्ट मैले पिसिआर गराएँ ।  

त्यति बेला हामीले आयशाको पनि कोरोना परीक्षण गराएका थियौँ । त्यो परीक्षण गर्दा मेरो कोरोना रिपोर्ट पोजेटिभ आयो, आयशाको नेगेटिभ आयो ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि मेरो ज्यान थप दुख्न थाल्यो, श्वासप्रश्वासमा पनि समस्या देखिन थाल्यो । खानै मन नलाग्ने हुन थाल्यो, टाउको झुम्म भयो, रिस बढी उठ्न थाल्यो । कसैसँग बोल्न नमिल्ने हुन थाल्यो । १४ दिन म ठ्याक्कै आइसोलेसनमा बसेँ । 

यी दिनहरुमा मैले बिहान र बेलुका योगा गर्थेँ, वाफ लिन्थेँ अनि चिन्ता लिन्नथेँ । पहिले मैले परिवारका सबैलाई कोरोना सामान्य हो भनेको थिएँ, तर त्यस्तो पनि होइन रहेछ । 

सबैभन्दा ठूलो कुरा त चिन्ता लिन हुने रहेनछ ।

अनि कोरोना भए पनि परिवारको साथ र आत्मविश्वास छ भने यसलाई जित्न सकिने रहेछ । हो, यो सामान्य त होइन रहेछ तर कोरोनाका कारण धेरै डर मानेर आत्तिनु पनि हुँदो रहेनछ । 

अरुबेला भाइरल ज्वरो आउँदा पनि मलाई श्वासप्रश्वासमा अलिक समस्या हुन्थ्यो, शरीर दुख्थ्यो । त्यसैले पनि कोरोना भएको समयमा मैले त्यस्तो नौलो नै चाहिँ महसुस गरिनँ । तर, यति हुँदा हुँदै कोरोनालाई निकै हलुका रुपमा चाहिँ लिनु हुँदैन । स्वास्थ्य मापदण्ड अपनाउनु नै पर्छ । 

फेरि म आइसोलेसनमा बसेको समयमा साथीभाइ र छरछिमेकको निकै ठूलो सहयोग पाएँ । छरछिमेक र साथीभाइले मलाई हौसला दिनुभयो, के खाने भनेर समेत सोध्नुभयो र खानेकुराहरु समेत ल्याइदिनुभयो । 

त्यो साथ पाएकाले पनि मैले कोरोना जित्न सकेँ । 

कोरोना जित्न खानपानमा ध्यान दिनु त विशेष कुरा, साथीभाइ र आफन्तको साथ र सहयोग अनि आत्मबल चाहिँदो रहेछ ।

  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १४:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया