प्रचण्ड–नेपालको रणनीतिः कम्तिमा एक पदबाट ओलीलाई हटाउने
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद सचिवालय हुँदै अब स्थायी कमिटी बैठकमा पुगेको छ । स्थायी कमिटी बैठकबाट पनि यो विवाद अझ तल केन्द्रीय कमिटीमा पुग्न सक्ने अनुमान अब हुन थालेका छन् । 

पछिल्लो समय नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आआफ्ना अडान लिइरहँदा यो विवाद केन्द्रीय कमिटी बैठकसम्म पुग्ने अनुमान बढ्दै गएको हो । 

आइतबार पार्टी कार्यालय धूमवाराहीमा बसेको स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । उनले बैठकका लागि दुई पाने चिठी पठाए, ईश्वर पोखरेलमार्फत् । त्यो पत्रमा उनले प्रचण्डले २८ कार्तिकमा राखेको प्रतिवेदनलाई लाच्छना पत्र भनेका छन् ।

त्यसो त २८ कार्तिकमा पनि ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोप पत्र भनेका थिए । उनले त्यस लगत्तै बसेको अर्को सचिवालय बैठक अगाडिसम्म आफूले प्रचण्डको प्रतिवेदनलाई कुनै पनि जवाफ दिन आवश्यक नभएको बताएका थिए  । तर, त्यसको भोलिपल्टको सचिवालय बैठकमा उनले १० दिनको समय माग गरे । १० दिनपछि ओलीले राखेको प्रतिवेदनमा पनि प्रचण्डमाथि निकै धेरै गम्भीर आरोपहरु लगाइएको छ ।

ओलीले अस्वीकार गर्दै आएको प्रचण्डको यो प्रतिवेदनलाई चाहिँ सचिवालयका बहुमत सदस्य नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि समर्थन जनाएका छन् । एकातिर ओली आफ्नो अडानमा कायम छन् र बैठकमा सहभागी नहुने बताइरहेका छन् भने अर्कोतिर प्रचण्ड–नेपाल समूह नयाँ रणनीति बनाउँदै अगाडि बढेको छ ।

यो समूहका एक नेताले फरकधारलाई बताए अनुसार अब २८ मंसिरका लागि बोलाइएको स्थायी कमिटी बैठकमा पनि ओली सहभागी नभएमा दुवै अध्यक्षका प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा लगिने छ । उनका अनुसार केन्द्रीय कमिटीमा बहुमतको आधारमा एउटा प्रतिवेदनलाई पारित गरिने छ भने अर्को प्रतिवेदनलाई रिजेक्ट गरिने छ । यस्तो भएको खण्डमा अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समूहको बहुमत भएकाले ओलीलाई थप समस्या पर्ने उनको विश्लेषण छ ।



पछिल्लो समय ओली आफ्नो अडानमा कायम भइरहँदा अब प्रचण्ड र नेपाल समूहले उनलाई एक पद छोड्न बाध्य बनाउने रणनीति अख्तियार गरेका छन् । 

‘यसले नेकपामा नयाँ कम्पन त पक्कै ल्याउनेछ,’ ती नेताले फरकधारलाई बताए, ‘तर, अब अर्को उपाय पनि छैन । पछिल्लो समय जसरी नेकपामा ओली कमरेडले आफ्नो अडान लिनु भएको छ र पार्टीलाई विधि र विधानभन्दा मनोगत ढंगमा अगाडि बढाउनु भएको छ, यसले उहाँलाई नै कमजोर बनाउँदै गएको छ ।’



आइतबारको नेकपा स्थायी कमिटी बैठकमा ओली पनि सहभागी हुनसक्ने अनुमान अनुसार धूमवाराहीको सुरक्षा निकै कडा बनाइएको थियो । तर, ओलीले त्यसअघिको सचिवालय बैठकमा भनेजस्तै स्थायी कमिटी बैठकमा सहभागी भएनन् । उनी स्थायी कमिटी बैठकमा सहभागी नभए पछि प्रचण्ड–नेपाल समूहले छलफललाई तीव्र बनाउँदै लगेको छ । 

‘पछिल्लो समय अब ओली कमरेडलाई एक पदमा मात्र रहन बाध्य पार्ने सम्भावना बढेको छ,’ ती नेताले भने, ‘यो प्रचण्ड–नेपाल कमरेडको रणनीति पनि हो र नेकपा विवाद केन्द्रीय कमिटीमा पुग्दा यही नतिजा पनि आउने निश्चित छ ।’

ओलीलाई एक पदबाट हटाउँदा ओली प्रधानमन्त्रीमा रहिरहन सक्ने उनको दाबी छ । ‘यस्तो भएको खण्डमा नेकपामा नयाँ अध्यक्ष माधव नेपाल हुने सम्भावना बढी छ,’ उनले भने, ‘ओली कमरेडले प्रधानमन्त्री पद छोड्नुभयो भने प्रचण्ड प्रधानमन्त्री हुनुहुनेछ ।’

त्यसो त ओलीलाई एक पद छाड्न बाध्य पारिएमा उनले पार्टी फुटाएर नयाँ पार्टी घोषणा गर्ने सम्भावना पनि छ । यस्तो भएको खण्डमा नेपाली कांग्रेससँगको सहकार्यमा ओलीले सत्ता चलाइरहन सक्छन् ।

  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार ७:२८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया