खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज शाखाले कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद सुरु गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरिद गर्ने व्यवस्था गरेपछि किसानले सजिलै धान विक्री गर्न पाएका छन् । कुपन अनुसार आफ्नो पालो परेको दिन प्रतिकुपन ५० क्वीन्टल सम्म धान विक्री गर्न पाउने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका कारण किसानहरू दैनिक रुपमा आफ्नो कुपन अनुसार धान लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयसम्म पुग्ने गर्छन् ।
कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा कृषकको विवरणसहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकाले किसानलाई सहज भएको बताए । कुपन प्रणाली लागू गर्दा धान लिएर बिक्रीका लागि लाइन लाग्नुपर्ने स्थितिको समेत अन्त्य भएको छ ।
कुपन प्रणालीबाट धान खरिद भएपछि सहज भएको कृषकहरुले बताएका छन् । कुपन प्रणाली लागु गरे पछि कुपन वितरणमा भने भिड लाग्ने गरेको छ । कुपन लिनका लागि लालपुर्जा देखाउनुपर्ने व्यवस्था भएपछि अधियाँ बटिया गरी धान उत्पादन गरेका किसान भने चिन्तित छन् ।
स्थानीय किसान सिराज अहमदले ५० क्विन्टल धान विक्री गर्न २५ कठ्ठा जग्गाको लालपुर्जा देखाउनुपर्ने भएकाले समस्या भएको बताए ।
कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्वीन्टल मोटा र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले मोटा धान प्रतिक्वीन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मुल्य तोकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।