जो मृतकको नम्बरका नक्कली लाइसेन्स बेच्थे
पक्राय परेका आशिष गिरी र उनको साथबाट बरामद भएका सामग्री । तस्वीर : महानगरीय प्रही परिसर, भक्तपुर

प्रहरीले भक्तपुरको मध्यपुर ठिमीमा मंगलबार संयुक्त सवारी चेकजाच अप्रेसन चलाइरहेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसर भत्तपुरले मंगलबार दिउँसो पाटीविहारमा चलाएको संयुक्त सर्च अप्रेशनमा प्रहरीले नयाँ ठिमीतर्फ जाँदै गरेको बा १५ च नम्बरको ह्यून्डाइ गाडीलाई रोक्यो । 

त्यसपछि सुरु भयो–प्रहरीको सोधपुछ । यही दौरान प्रहरीले यसै गाडीबाट विभिन्न शंकास्पद कागजात बरामद गर्‍यो । 

अनुसन्धानको दौरान ती व्यक्तिले गरेका शंकास्पद रवैयाले संयुक्त टोलीका प्रहरीको मनमा चिसो पस्दै गएपछि ती व्यक्तिलाई थप अनुसन्धानका लागि टोलीले भक्तपुर प्रहरीको जिम्मा लगायो । त्यसपछि नक्कली लाइसेन्स बेच्ने उनको धन्दाको रहस्य खुल्यो । 

प्रहरी नियन्त्रणमा रहेका  सिन्धुपाल्चोक घर भई हाल भक्तपुर ठिमी बस्ने २८ वर्षीय आशिष गिरीले नक्कली लाइसेन्स बिक्री वितरण गर्ने काम केही वर्षदेखि गर्दै आएका थिए । तर उनी एक्लै नभई यसमा यातायात कार्यलयका कर्मचारीहरूको मिलेमतोमा हुनसक्ने प्रहरीको अनुमान छ ।

उनले एक लाइसेन्स बराबर ३० हजारदेखि सवा लाखसम्ममा विक्री गर्ने गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले उनको साथबाट विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि ४ थान, विभिन्न बैंकको २५ लाख रुपैयाँ बराबरको ४ थान चेक, ४१ हजार नगद तथा मोबाइल तीन थान र केही थान नक्कली लाइसेन्ससमेत बरामद गरेको छ।

उनले प्रायः मृतक र म्याद गुज्रेर खारेज भएका लाइसेन्स नम्बर यातायात कार्यालयबाट लिने गर्थे। पछि सोही नम्बरबाट नक्कली नयाँ लाइसेन्स बनाएर बिक्री गर्ने गरेको भक्तपुर प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले जनाए।  





  • प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार १५:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया