सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद थप बढ्दै गएको छ ।
बुधबार बालुवाटारमा यी दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि कुनै सहमति निस्किन सकेन ।
दुवै अध्यक्षका प्रतिवेदन अहिले नेकपा स्थायी कमिटीमा छलफलमा प्रवेश गरेका छन् । प्रचण्डले २८ कार्तिकमा र ओलीले १३ मंसिरमा सचिवालय बैठकमा राखेका प्रतिवेदनमाथि २८ मंसिरमा बस्ने स्थायी कमिटी बैठकमा छलफल हुँदैछ ।
यसअघि आइतबार धुमवाराहीमा भएको स्थायी कमिटी बैठकमा अध्यक्ष ओली सहभागी भएका थिएनन् । तर, त्यसयता उनले आफूनिकट नेताहरुलाई सहमति गर्न सन्देश दिँदै माधवकुमार नेपालकहाँ पठाएका छन् । तर, नेपालले ओलीको यो प्रस्ताव अस्वीकार गरिदिएका छन् ।
नेपालले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि बुधबार बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच भेट भएको थियो ।
भेटमा ओलीले प्रचण्डलाई आफूसँग सहमति गर्न अनुरोध गरेका थिए । तर, प्रचण्डले ओलीको प्रस्तावको जवाफमा अब कमिटीहरुबाट नै निष्कर्ष निकाल्ने बताए ।
स्रोतका अनुसार त्यसपछि ओली प्रचण्डसँग रिसाएका थिए । उनले अब बस्ने स्थायी कमिटी बैठकमा पनि आफू सहभागी नहुने बताएका छन् ।
‘म बैठकमा आउन्नँ,’ स्रोतका अनुसार ओलीले प्रचण्डलाई चुनौति दिएका छन्, ‘जे गर्न सक्नुहुन्छ, गरेर देखाउनू । कारवाही नै गर्ने भए पनि गर्नू ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।