अझै पुगेन, कर्णालीका ५ जिल्लामा राष्ट्रिय विद्युत प्रशारण लाइन
विद्युत आपूर्तिलाई नियमित गराउन माग गर्दै मैनबत्ती र दियालो बालेर प्रदर्शनमा उत्रिएका जुम्लाबासी ।

कर्णाली प्रदेशका ५ जिल्ला हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । स्थानीय स्तरमा निकालिएका केही स–साना जलविद्युत् आयोजनाले जिल्लाका सबै क्षेत्रको माग धान्न सकेका छैनन् । तिनै आयोजनामा पनि बेला बेलामा आउने समस्याले यहाँका बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् ।

राष्ट्रिय प्रशारण लाइनमा जोडिएला र उज्यालोको अनुभूति गरौंला भन्ने वर्षौंदेखिको आशा, आशामै रहेको स्थानीय बासिन्दा बताउँछन् ।

जुम्लामा २५० किलोवाटको जुगाड खोलाबाट निकालिएको लघु जलविद्युत् आयोजनाको पावर हाउसमा समस्या आएपछि अहिले जुम्लाबासी अन्धकारमा बस्न बाध्य छन् । पावर हाउसमा रहेका दुई वटै युनिटमा समस्या देखिएको छ । युनिटमा रहेका मेसिनमध्ये एउटा यसअघि नै बिग्रिएको थियो भने अर्को मेसिन पनि हाल बिग्रिएपछि जुम्लामा विद्युत् वितरणमा समस्या देखिएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए ।

‘यही मंसिर १५ गते मेसिन बिग्रिएपछि विद्युत् वितरणमा समस्या आएको छ,’ उनले भने, ‘हाल मेसिन मर्मतका लागि नेपालगञ्ज लगिएको छ । भने जेनेरेटर मार्फत दैनिक ६ घण्टा विद्युत वितरण भइरहेको छ । त्यो पनि नियमित छैन ।’ उनका अनुसार आयोजनाको विद्युत् गृहमा आउने समस्याले वितरणमा समेत समस्या देखिएको छ । उनले भने, ‘यसको दीर्घकालीन समस्या समाधानका लागि राष्ट्रिय प्रशारण लाइन आउनुको विकल्प छैन ।’

लामो समयसम्म विद्युत्को समस्या समाधान नभएपछि जुम्लाबासीहरु मैनबत्ती, दियालो बालेर दबाबमुलक प्रदर्शन समेत गरिरहेका छन् । राजनीति दल, सामाजिक संघसंस्था, पत्रकार, नागरिक समाज, युवा सम्मिलित विद्युत् आपूर्ति संघर्ष समिति समेत गठन गरिएको छ ।

जुम्ला मात्र नभएर कालिकोटमा पनि विद्युत्को समस्या उस्तै छ । जिल्लाको एक मात्र पोतमारा साना लघु जलविद्युत् आयोजनाको विद्युत् गृहमा गएको साउनबाट नै समस्या देखिएको छ । पेट्रोलियम पदार्थबाट चल्ने जेनेरेटरमार्फत् प्रतिघण्टा ४८ देखि ५० लिटर पेट्रोल खर्च गरेर दैनिक ६ घण्टा विद्युत् वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले जानकारी दिएको छ । 



साविकको कर्णालीको अर्को जिल्ला डोल्पामा पनि विद्युतको समस्या उस्तै छ । डोल्पा साना जलविद्युत् आयोजना, जैरीगाडमा एकदमै समस्या छ । दुई वटा युनिट रहेको उक्त ठाउँमा एउटा युनिटमा यसअघि नै बिग्रिएको छ भने एउटाबाट न्यून मात्रामा विद्युत् उत्पादन भइरहेको विद्युत् वितरण केन्द्र डोल्पाले जानकारी दिएको छ ।

डोल्पा वितरण केन्द्रका प्रमुख शंकर सिंह ठकुरीले २ सय किलोवाटको जलविद्युत् आयोजना भए पनि हाल ८० देखि ९० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेको बताए । ‘हाल विद्युत दिउँसो ३ बजे जान्छ अनि बिहान एकै पटक १० बजे आउँछ,’ उनले भने, ‘त्यसमा पनि आलो पालो एकदिन सदरमुकाम दुनैमा वितरण हुन्छ भने अर्को दिन जुफालमा ।’ 



हिँउदमा चिसोका कारण विद्युतको अत्याधिक माग भए पनि माग अनुसारको विद्युत आपूर्ति गर्न नसकिएको उनको भनाइ छ । साविकको कर्णालीका मुगु र हुम्लामा पनि विद्युतको समस्या उस्तै छ । मुगुमा गमगाड वितरण केन्द्र र हुम्लामा हेल्दुङ वितरण केन्द्रमार्फत स्थानीय स्तरमा उत्पादन भएको विद्युत् वितरणको काम भइरहेको छ । 

यसरी हिमाली जिल्लामा अत्यधिक मात्रामा विद्युतको माग भए पनि विद्युतको सेवा विस्तार हुन सकेको छैन । विद्युत अभाव कै कारण व्यवसायीले आफ्नो व्यवसाय व्यवस्थित रुपमा गर्न नपाएको गुनासो गरिरहेका छन् । 

विद्युतको दीर्घकालीन समस्या समाधान नभएसम्म साविकको कर्णालीमा उद्योग धन्दा सञ्चालन गर्ने विषयमा सोच्न समेत नसकिने उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन शाहीले बताए । 

‘अहिलेकै अवस्थामा काम अघि बढ्ने हो भने राष्ट्रिय प्रशारण लाइन आउन अझै केही वर्ष लाग्छ । उनले भने, ‘प्रविधिबाट हुने नयाँ काम केही पनि अघि बढ्न सकेका छैनन् ।’  विद्युतबाट हुने काम जेनेरेटरबाट गर्दा एकदमै महँङ्गो हुने भएकाले उपभोक्ता मारमा पर्ने उनको भनाइ छ । राष्ट्रिय प्रसारण लाइन आउने कुरामा विद्युत प्राधिकरणले तिव्र गतिमा अघि बढेको भने पनि त्यो व्यवहारमा नभएको उनको भनाइ छ । 

यसरी जोडिँदै छ साविक कर्णालीमा राष्ट्रिय प्रसारण लाइन

गएको साउनमा आएको बाढीले पहिरोले बगाएको कालिकोटको पोतमारा लघु जलविद्युत आयोजना ।

साविकको कर्णालीका जिल्लामा राष्ट्रिय प्रसारण लाइनका लागि दैलेखदेखि कालिकोट, दैलेखदेखि जुम्ला र जाजरकोटदेखि डोल्पामा निर्माणका कामहरू अघि बढिरहेका छन् । दैलेख कालिकोट प्रसारण लाइन अन्तर्गत पोल गाड्ने काम अन्तिम चरणमा पुगेको र अब लाइन विस्तारको काम हुने नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश वितरण केन्द्रका प्रमुख सुरेन्द्रप्रसाद अग्रहरिले बताए । झण्डै १२ करोडको लगानीमा निर्माण हुन लागेको लाइनमा कुनै पनि बाधाहरू नआए ५, ६ महिनामा कालिकोटमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्ने उनको भनाइ छ । 

दैलेखदेखि जुम्ला जोड्ने प्रसारण लाइन अन्तर्गत हाल कालिकोटको नाग्मदेखि जुम्ला क्षेत्रमा पोल गाड्ने काम भइरहेको प्रमुख अग्रहरिले जानकारी दिए । करिब १० करोडको लगानीमा निर्माण हुन लागेको लाइन दैलेखको महाबु गाउँपालिकाबाट कालिकोटको चिलखाया हुँदै जुम्ला जोडिनेछ । महाबु क्षेत्रमा ठूलो मात्रामा जंगल रहेको र जंगलमा लाइन विस्तारमा समस्या हुने भएकाले दैलेख कालिकोट पुगेको लाइन नै जुम्ला जोडिन सक्ने समेत उनको भनाइ छ । 

डोल्पाका लागि जाजरकोटको कुदुबाट चौखा हुँदै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा जोड्ने लाइनको काम समेत अघि बढिरहेको बताइएको छ । हाल शव स्टेसनका लागि जग्गा अतिक्रमण र लाइन वितरणको टेन्डर भएर प्रि कन्ट्रसन सर्वेको काम भएको नेपाल विद्युत् वितरण केन्द्र डोल्पाले जानकारी दिएको छ ।

लाइन विस्तारको काम गर्दा कुनै पनि विवाद नआएको खण्डमा २ वर्षभित्र हुम्ला बाहेकका कर्णालीका जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्ने प्रमुख अग्रहरिको भनाइ छ । भौगोलिक कठिनाइका कारण हुम्लामा विद्युतको प्रसारणलाइन पुग्न अझै केही वर्ष लाग्ने उनले जानकारी दिए । 
 

  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १२:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया