लामो समयको प्रतीक्षापछि धनगढीमा आधुनिक सडकको शिलान्यास गरिएको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतका सडकको धनगढी उपमहानगरपालिकाका मेयर र उपमेयरले संयुक्त रुपमा सडकको शिलान्यास गरेका हुन् ।
क्याम्पस गेट–चटकपुर सडकको शिलान्यास गरेसँगै सडक निर्माणको काम अगाडि बढेको हो । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि ०१५मा सम्झौता भएको थियो । सम्झौता भएको लामो समय हुँदा पनि सडक निर्माणको काम अगाडि बढ्न सकेको थिएन ।
पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ । ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपैयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ । पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले ७ वटा सडक निर्माण गर्नेछ । जसअन्तर्गत गुल्म–चर्च रोड (२ हजार ७ मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि कैलालीनाला (१ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (७ सय मिटर), क्याम्पस रोड–चटकपुर (३ हजार ६ सय ५० मिटर), धनगढी–खुटिया स्याउले रोड (८ सय ७० मिटर), मालपोत रोड (४ सय ३० मिटर र हसनपुर रोड (१ हजार १ सय ५० मिटर) रहेका छन् ।
आयोजनाअन्तर्गत यी सडक एकै मापदण्डका बन्नेछन् । आयोजनाका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले बीचमा डिभाइडर भएको चार लेन सडक, दुवैतर्फ सडकको पानी र बर्खाको पानी बग्ने नाली, विद्युत् र टेलिफोनको तार अन्डरग्राउन्ड, ठाउँ–ठाउँमा ट्राफिक संकेत र बसबिसौनी, स्ट्रिट लाइटसहित हरियालीयुक्त सडक बन्ने बताए ।
‘यी सबै अन्तर्राष्ट्रिय मापदण्डका ‘अर्वान’ सडक हुन् । यो सडकमा साइकल लेन, फुटपाथ पनि हुनेछ । यी सबैको एक किलोमिटरको लागत इस्टिमेट ९ देखि ११ करोड आइरहेको छ,’ उनले भने । सडकको निर्माण अवधि दुई वर्ष रहेको छ ।
‘क्षेत्रीय सहरी विकास आयोजना धनगढी विकासको सपना बोकेको आयोजना हो,’ नगरप्रमुख वडले भने, ‘त्यसैले नगरवासीको सपना पनि यस आयोजनासँग जोडिएको छ । क्षेत्रीय सहरी विकास आयोजना उप–व्यवस्थापक श्याम चन्द्र बुढाथोकीले समयमै काम निर्धारित समयमा नै काम सम्पन्न हुनेमा ढुक्क रहेको बताए । उनले भने, ‘सुरुमा ठेक्का प्रक्रियामा केही समस्या भएर काममा केही ढिलाइ भएको हो,’ सबै काम समयमा सम्पन्न हुनेमा ढुक्क छौँ ।
सुदूरपश्चिममा एसियाली विकास बैंकको ऋण लगानीमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा, भीमदत्त नगरपालिकामा ११ अर्बभन्दा बढी लगानीमा उच्च गुणस्तरको सडक निर्माण हुँदै छन् । कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्तमा सुरु भइसकेको छ । गोदावरीमा भने सुरु हुन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।