हलो सर ...
हजुर
मोठ भिडाउने काम आजै सक्ने हो ?
हजुर ..
आजसक्ने भए ५ सय रुपैयाँ लाग्छ । तर, भोलि लाग्दैन आजै सक्ने भए लाग्छ । भोलि बिहान म आफैंले आएर मोठ भिडाउँछु ।
हो र... हजुर हुन्छ भोलि गरम्ला उसो भए ।
यो संवाद भूमिसुधार तथा मालपोत कार्यालय घोराहीको आँगनमा उभिएका सेवाग्राही र लेखनदास बीचको हो । यस्ता संवाद हरेक सेवाग्राहीसँग हुने गर्छ । सेवाका लागि कार्यालयमा तीन सयभन्दा बढी सेवाग्राहीको भीड लाग्छ ।
बुधबार बिहानै कार्यालयको प्रवेशद्वार खुलिकेको थियो । करिब आठ बजे नै कार्यालय सहयोगीहरू कार्यालय सरसफाइको काम गरिरहेका थिए । दुई चारजना कार्यालय सहयोगीसँगै सेवाग्राही पनि देखिन थाले, बिहानै । दस बज्यो कार्यालयका सबै फाँटहरू खुला भए ।
सेवाग्राहीको पनि भिड लाग्यो । कार्यालयका सबै कर्मचारी भित्र पसे । करिब १०ः२५ मा गेटपालेले गेट बन्द गरे । सेवाग्राहीहरू झ्याल–झ्यालमा थुप्रिए । बिचौलियाको भने आउ–जाउ चलिरह्यो । सेवाग्राहीका लागि गेट बन्द भए पनि बिचौलियाका लागि बन्द हुन सकेन ।
सेवाका लागि सेवाग्राही दिनभर लाइनमा उभिन्छन् । तर, बिचौलियाले सेवाग्राहीको लाइन उछिन्दै फाँट फाँटमा पुगी सेवाग्राहीसँग बार्गिनिङ गर्ने र आफैंले छापदेखि ढड्ढा चढाउनेसम्मको काम गर्दछन् । जसका कारण सेवाग्राही साता-दशदिनसम्म पनि लाइनमा बस्ने र फर्किने गरिरहनु परेको छ ।
घोराही–८ सौरीका रत्नलाल चौधरीले भने, ‘म मालपोत धाउन लागेको दस दिन भयो । कहिले सिस्टम छैन, कहिले पर्खिनुस्, कहिले हेर्नुपर्छ भन्दैमा दस दिन बिताइदिए ।’ आफ्नो जग्गाधनी पुर्जामा दिदीको नाम छोरी माया प्यारी चौधरी हुनुपर्नेमा छोरी माया र माया प्यारी चौधरी दुईवटा नाम उल्लेख भएकाले सच्याउन पर्खनुस्, हुन्छ, हेरौंलामा टारिरहेकोे उनले गुनासो गरे । उनले भने, ‘मैले सिस्टम मिलाउन नजान्दा दस दिनसम्म पनि कम्प्युटरको सिस्टमले काम गरेन ।’ जसका कारण आफूले दुःख भोग्नु परिरहेका उनको भनाइ छ ।
उनी मात्रै होइन लिवाङ नगरपालिका–४ की शंकरा बुढाको दुःख पनि उस्तै छ । बुढा पनि जग्गा पासका लागि मालपोत धाउन लागेको ६ दिन बित्यो । होटेलको बसाइ, जग्गा पासको काम, साता दिनसम्मको पर्खाइले उनलाई पनि दुःखी पारेको छ ।
उनले भनिन्, ‘अरूले एक–दुई दिनमै गराउँछन् । हामीले ६ दिनसम्म कुर्दा पनि भएन । लेखापढी आउँछन् भित्र लैजान्छ, उत्तिखेरै काम हुन्छ । हाम्रो त कसले गरिदिन्छ र ?’ कर्मचारीको काम प्रतिको ढिलासुस्तीले सर्वसाधारणले यो सास्ती खेप्नु परेको उनले सुनाइन् ।
सिस्टममा शुल्क
‘लेखनदासको पारिश्रमिक लेखनदासको समितिले निर्धारण गरेको छ । एउटा मुद्दा, निवेदन, राजीनामा, मोठ भिडाउने लगायतका काम गरेवापत जग्गाधनीले १२ सय रुपैयाँ शुल्क तिर्नुपर्ने र कार्यालयमा थैली अनुसारका राजस्व जम्मा गरिदिनुपर्ने हुन्छ ।
त्योभन्दा बाहेक अतिरिक्त शुल्क लाग्दैन । कर्मचारीले छिटो छरितो सेवा प्रवाह गर्न नसक्दा सर्वसाधारणले लेखनदासमार्फत् अतिरिक्त शुल्क बुझाउनुपर्ने बाध्यता रहेको नाम नबताउने सर्तमा एक लेखनदासले फरकधारलाई बताए । उनले भने, ‘पैसा नदिए कुनै कर्मचारी काम गर्न मान्दैनन् । मोठ भिडाएको ५ सय, कम्युटर सर्भिस शुल्क ५ सय, जिआरओ (सुब्बाबाट हुने प्रमाणित) का लागि ५ सय, एलआर (हाकिमबाट हुने प्रमाणित) ५ सय बुझाउनुपर्ने बाध्यता छ ।’
जसका कारणसेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु परिरहेको उनले सुनाए । जो सरासर गैरकानुनी असुली रहेको छ । तर, यसलाई प्रमाणित गर्न आफूसँग अहिले केही नरहेको उनले बताए । तर, कार्यालयमा कर्मचारीहरूले अतिरिक्त शुल्क नबुझाउँदासम्म कुनै काम नगर्दा यस्तो समस्या मालपोतमा सेवाग्राहीले भोग्नु परेको उनले बताए । कार्यालय समयपछि लेखनदासहरूले पालैपालो कर्मचारीहरू यी कामका लागि रकम बुझाउनुपर्ने उनको भनाइ छ । तर, यस कार्यप्रति कसैको ध्यान पुगेको छैन ।
अवैध फर्म, अवैध धन्दा
भूमि सुधार तथा मालपोत कार्यालय परिसर क्षेत्रमा ६० वटा लेखनदासका फर्महरू छन् । करिब पाँचवटा फर्महरू पा.न. दर्ता भई सेवा गरिरहेका छन् । तर, अन्य बाँकी दर्ताबिना नै यो सेवा प्रवाह गरिहेका छन् । जसका कारण सेवा प्रवाहमा बेथिति मौलाएको एक लेखनदासले बताए ।
उनले भने, ‘मेरा नाम नलेख्नुस् मालपोतमा अवैध धन्दा चलेको छ । अवैध फर्म चलेका छन् । जहाँ आर्थिक चलखेलबिना नागरिकले सेवा पाउन मुस्किल छ ।’
कार्यालयमा कर्मचारीभन्दा पनि बिचौलिया आफैंले सबै काम गर्ने, सहीछाप मात्रै कर्मचारीले गरिदिने भएकाले बिचौलियामार्फत् जाने सेवाग्राहीको काम छिटोछरितो र लाइनमा बस्ने सर्वसाधारणहरूले साता दिनसम्म पनि लाइनको लाइन बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।