दाङको मसिना अब गोलभेंडा गाउँ

कतै पाक्दै गरेका राता, कतै भर्खर पानी चढेका हरिया, गाउँको सिरानदेखि पुछारसम्म जताततै गोलभेंडै गोलभेंडा हरियै बारी । यो दृष्य हो, घोराही उपमहानगरपालिका १८ को मसिना भनेर चिनिने गाउँको । 

यहाँ गोलभेंडा किन्न मात्रै होइन, खेती हेर्न पनि घुइँचो उस्तै छ । जसका कारण मसिनाका गोलभेंडाले व्यापारी मात्रै होइन आन्तरिक पर्यटक पनि तानिरहेको छ । यहाँ गोलभेंडा नरोपिएको एउटा बारी पनि भेटिँदैन । जहाँ खेती स्थानीयले मात्रै होइन अन्य जिल्ला किसानले पनि जग्गा भाडामा लिई व्यावसायिक गोलभेंडा खेती गरिरहेका छन् । जसमध्येका एक हुन् झलकमान पुन ।

‘पहिला मसिना गाउँ भनेर चिन्थे । सब्जी मन्डीबाट तरकारी बोकेर खान्थ्यौँ । मजदुरीका लागि बजारदेखि विदेशसम्म जान्थ्यौँ । अहिले सबैका घरमा तरकारी फल्छ, महिनामा लाखौंको गोलभेंडा बाहिर जान्छ । विदेसिएका पनि फर्केर गोलभेंडा रोपेका छन् । विदेश जाने युवा पनि भए आफ्नै नभए अरुकै जग्गा भाडामा लिएर गोलभेंडा रोपेका छन्’, पुनले भने, ‘गोलभेंडाले किसानको मात्रै होइन गाउँकै मुहार फेरेको छ ।’

लामो समय विदेशमा श्रम बेचेका पुनले अहिले मसिनामै करिब डेढ बिघा जमिन भाडामा लिई व्यावसायिक खेती गरिरहेका छन् । उनले भने, ‘विदेश जान बाध्यता गोलभेंडाले टारेको छ’, करिब एक दशकदेखि दाङकै गोलभेंडा खेतीको पकेट क्षेत्रका रूपमा देखा परेको मसिना अहिले गोलभेंडाबाट मासिक लाखौं रुपैयाँ भित्र्याइरहेको छ । पुनले थपे, ‘गोलभेंडाले हाम्रो जीवन फेरिदिएको छ ।’

रोजाइमा गोलभेंडा

‘मसिना गाउँमा खेतीयोग्य जमिन करिब सय बिघा छ । जहाँ सबैका खेतबारीमा गोलभेंडा फलेका छन् । गोलभेंडाले नै मसिना गाउँको सबथोक धानेको छ । गोलभेंडा खेतीका लागि मसिनाको हावापानी, सिँचाइ सुविधाको विकासले एकदशक अघि बाँझो बस्ने खेतबारी अहिले बाह्रैमास गोलभेंडा फल्ने फुल्ने गरेका छन्’, स्थानीय किसान मधु अर्यालले भने, ‘पढलेख गरेका युवादेखि सामान्य मान्छेसम्मले गोलभेंडा खेती गरेका छौं । जसले गाउँलाई फेरेको छ ।’



गाउँ नै गोलभेंडा खेतीमा जुटेपछि अहिले रोजगारीका लागि कतै भौंतारिनु पर्ने बाध्यता नरहेको उनले बताए । ‘विदेश जाने युवा पनि गोलभेंडा खेतीमा रमाइरहेका छन्’, उनले थपे ।

रोजगारी खोज्न न बजार, न विदेश



‘सयौं बिघामा गोलभेंडा खेती छ । मजदुर पाउन गाउँमै मुस्किल छ । कहिले काहीँ त अन्य ठाउँबाट पनि ज्यालादार मजदुर बोलाउनुपर्ने बाध्यता पर्छ’, किसान पूर्ण मल्लले भने, ‘गाउँमा गोलभेंडाको व्यावसायिक खेती नफष्टाउँदासम्म रोजगारका लागि बजारदेखि विदेशसम्म पुग्नेहरू अहिले कृषिमा रहमाइरहेका छन् ।’

मल्लका अनुसार गाउँमा गोलभेंडा खेती फस्टाएपछि प्रशस्तै रोजगारी र कृषिमा लगानी भित्रिएको छ । गोलभेंडाले हिजोका श्रमिकलाई आज मालिक बनाएको छ, उनी भन्छन् । मासिक रूपमा लाखौं रुपैयाँको गोलभेंडा मसिनाका बारीमा किसानले उत्पादन गर्ने भए पनि किसानले श्रमको मूल्य पाउन सकेका छैनन् । लगानी र उत्पादन किसानको भए पनि बिचौलियाले फाइदा लिइरहेको उनले बताए । 

बिचौलियालाई नाफा 

‘दिनपिच्छे हाम्रा बारीबाट गोलभेंडा बाहिरिन्छ । करिब सय बिघाको गोलभेंडा हामी किसानले आफैं बजारमा लगेर बेच्न सक्दैनौं । व्यापारी आउँछ गोलभेंडा लैजान्छ । हामी टिप्छौं, दिन्छौं । गोलभेंडा लैजादा व्यापारीले कहिले पैसा दिँदैनन् । बेच्छ पछि आएर पैसा दिन्छ । कति रुपैयाँ किलो बिक्री भयो त्यो हामी थाहा पाउँदैनौं । जति व्यापारीले दिन्छ हामीले त्यतिमै चित्त बुझाउँछौं’, स्थानीय किसान बलिराम बुढाले भने, ‘दुःख हामीले गर्छौं, लगानी हामी लगाउँछौं । फाइदा अर्को व्यक्तिले लिन्छ ।’

किसानले गरेको लगानी र परिश्रमको आधारमा खेतमै मूल्य निर्धारण गरी लैजाने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । राज्यले मूल्यदेखि बजार व्यवस्थापनसम्म काम गरे किसान बिचौलियाको ठगीमा नपर्ने उनको भनाइ छ ।

राज्यले राहात दिएन

‘सयौं किसानले गोलभेंडा खेतीमा लाखौं लगानी गरेका छन् । गोलभेंडाले गाँउको मुहार फेरेको छ । रोजगारीदेखि आर्थिक समृद्धिसम्मको टेवा पुर्‍याएको छ । तर, किसानले राज्यबाट पाउने सहायता केही पाएको छैनौं ।’ स्थानीय किसान पूर्णबहादुर मल्लले भने, ‘राज्यले किसानलाई सहायता दिए, गोलभेंडा खेती अझै फस्टाउँथ्यो ।’

तर, राज्यबाट पाउने सहायता र सहयोग पाउन नसकेको उनले बताए । अगुवा किसानबाट किसानले सरसल्लाह गरी खेती सुरु गर्ने उनको भनाइ छ । राज्यले मल बिउमा सहयोग, प्राविधिक ज्ञानसिप, प्रविधि व्यवस्थापन गरिदिए किसान अझै खेतीमा उत्साहित बन्न सक्ने उनको विश्वास छ ।

घोराही उपहानगरपालिका १८ का वडाध्यक्ष भरत अर्यालले सरकारको सहायता किसानलाई सक्दो रहेको बताए । प्राविधिक सल्लाहदेखि प्रविधिसम्मको सहयोग गर्दै आइरहेको बताए । कृषि कार्यक्रमका माध्यमबाट किसानको खेतीमा राज्य सहयोगी बनिरहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार १८:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया