सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज पनि बस्दैछ र यसअघि यही मंसिर २१ गते बसेर एकसाताका लागि बैठक रोकिएको थियो ।
प्रधानमन्त्री तथा अध्यक्ष मध्येका एक केपी शर्मा ओली २१ गतेको बैठकमा उपस्थित भएनन् । ओलीको अनुपस्थितिमा बसेको स्थायी समिति बैठकले अध्यक्षद्वयले सचिवालय बैठकमा पेश गरेका प्रस्ताव तथा दुई अध्यक्षबीच आदान–प्रदान गरिएका पत्र स्थायी समिति सदस्यहरुलाई बाँडेको थियो ।
ती दस्तावेजहरु अध्ययनका लागि भन्दै एकसाताको समय दिइएको थियो । अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने अडान प्रधानमन्त्री ओलीको छ ।
यसबीचमा सहमतिका लागि विभिन्न तहका नेताहरु छलफलमा जुटेका थिए ।
आइतबार बिहान मात्रै पनि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । स्रोतका अनुसार नेम्वाङले प्रचण्डलाई ओलीसँग मिलेर अघि बढ्न आग्रह गरेका थिए ।
ओलीको सन्देश बोकेर शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओलीनिकट नेता शंकक पोखरेल प्रचण्ड निवासमा पुगेका थिए । बैठक आज १ बजेका लागि तोकिएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पनि सहभागी हुने उनी निकट स्रोतले दावी गरेको छ ।
बैठक बोलाउन र बैठकमा आउन अस्वीकार गरिरहेका ओली आइतबारको बैठकमा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने आम चासो रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।