भक्तपुरको लोकन्थलीदेखि कोटेश्वरसम्मको सडक जाम कम गर्ने लक्ष्यका साथ सुरु भएको मनोहरा करिडोर निर्माण पुनः सुरु भएको छ ।
पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहरा खोला पुलबाट अरनिको राजमार्ग अन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण शुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिए ।
संघीय सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि सुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको जामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण सुरु भएलगत्तै काम रोकिए पनि अहिले उनकै पहलमा पुनः मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम सुरु भएको हो ।
सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए ।
थापाका अनुसार भक्तपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट हुँदा सांसद बस्नेतले सुरु गराएको करिडोर निर्माण उनको सरुवा भएसँगै रोकिए पनि अहिले आएका नयाँ प्रजिअ भट्टराईले पुनः सुरु गराउन प्रशासनिक रूपमा अग्रसरता देखाएपछि काम अगाडि बढेको हो ।
सांसद बस्नेत, प्रजिअ भट्टराई, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरथिमि–१ र २ का वडाध्यक्ष, काठमाडौं–३२ का वडाध्यक्ष नवराज पराजुली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्माण व्यवसायीसहित सरोकारवालाको छलफलबाट आएका बाधा हटाउँदै विकासका कामलाई तीव्रता दिने सहमतिसँगै करिडोर निर्माण पुनः सञ्चालन भएको हो ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले भने, ‘रोकिएको करिडोर निर्माण सुरु भएको चार दिनमा मनोहरा नदी उकास गरी व्यक्तिले कब्जा गरेको ४५ रोपनी जग्गामा खोला बगाइयो, अब २० दिनमा अरनिको राजमार्ग जडीबुटी पुलबाट पेप्सीकोला मनोहरा पुलसम्म सडक खोल्ने लक्ष्यका साथ मनोहरा करिडोरको काम तीव्र गतिमा गराइरहेका छौँ ।’
विसं २०६३ मा नै स्वीकृत भएको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नै करिडोर समेत निर्माण गर्ने तय भए पनि सुरु हुन नसक्दा बस्नेतको पहलमा करिडोर निर्माण सुरु भएको हो ।
मनोहरा करिडोरमा ३० मिटर खोलाको बहाव रहने, ११ मिटर सडक बन्ने र नौ मिटरको फुटपाथसहितको हरियाली उद्यान रहने गरी निर्माण सुरु भएको बताउँदै तीन साताभित्र करिडोरको ट्र्याक खोलेर सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको सांसद बस्नेतले जानकारी दिए । करिडोर निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गर्ने लक्ष्यका साथ २४ सै घण्टा १५ वटा डोजर लगाएर काम भइरहेको छ ।
यो करिडोर निर्माण सम्पन्नसँगै प्रहरीको समन्वयमा भक्तपुरबाट ललितपुरतर्फ जाने सवारी साधनलाई लोकन्थली जडीबुटी पुलबाट आँखा अस्पताल हुँदै बालकुमारी पठाउने र गौशाला, चावहिल जाने सवारी साधनलाई मनोहरा करिडोरबाट पठाउने गरी व्यवस्थापन गर्दा सडक जाम कम हुने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।