जुगेडाका कुखुरापालक व्यवसायीले स्थानीयको सहयोगमा शुक्रबार राति १० बजे से ३ प १३९७ नम्बरको मोटरसाइकलमा कुखुरा ल्याउँदै गरेको अवस्थामा दुई जना तस्करलाई नियन्त्रणमा लिए ।
कैलालीको धनगढी उपमहानगरपालिका–१२ मा पर्ने जुगेडाका व्यवसायीले सोही समयमा प्रहरीलाई खबर गर्न खोजे, तर सम्पर्क भएन । व्यवसायी विजय राई प्रहरीलाई खबर गर्न त्यहाँको अस्थायी प्रहरी चौकी पुगे । तर, त्यहीबेला अर्को बाटो हुँदै दुई जना प्रहरी तस्कर नियन्त्रणमा लिएको ठाउँमा पुगे ।
कुखुरा व्यवसायीले तस्करीमा प्रयोग गरिएको बाइक, कुखुरा र त्यसमा संलग्न व्यक्तिलाई कारबाहीका लागि प्रहरीलाई बुझाए । प्रहरीकै अगाडि तस्करहरू भागे । तस्करलाई भगाएको भन्दै राति नै आक्रोशित बनेका स्थानीय बिहान प्रहरी चौकीमा पुगेर कार्यालय घेराउ गरे । व्यवसायीहरूले नियन्त्रणमा लिएर पनि भगाएको आरोप लगाउँदै तस्करलाई तुरुन्तै झिकाएर कारबाही गर्न माग गरे ।
स्थानीयको मागपछि प्रहरीले दुई जनामध्ये एकजनालाई चौकीमा बोलायो । अर्को एकजना सम्पर्कमा आएनन् । सम्पर्कमा आएका व्यक्ति पनि सोही क्षेत्रमा रहेका एक व्यक्तिको सम्पर्कबाटै बोलाइएका हुन् ।
कैलालीको गौरीगंगा नगरपालिकाको चौमाला घर भएका प्रकाश मल्ल नाम बताउने युवकले भारतबाट आफूहरूले कुखुरा तस्करी गरेर ल्याएको स्वीकार पनि गरे । उनले कुखुरा तस्करी गरेर ल्याउने गरेको बताएपछि स्थानीय कुखुरा व्यवसायीले उनीसहित तस्करीमा प्रयोग गरिएको मोटरसाइकल र कुखुरासहित उनलाई जिल्ला चलान गर्नुपर्ने माग गरे । तर, प्रहरीले मानेन ।
प्रहरी चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक गोपाल चन्दले जिल्ला प्रहरी कार्यालयबाट चौकीमै कुखुरा नष्ट गर्न र मोटरसाइकल र तस्करीमा संलग्नलाई जिल्ला चलान गर्न आदेश दिएको भन्दै व्यवसायीको कुरै सुनेनन् । दुई घण्टासम्म पनि प्रहरी र व्यवसायीबीच चर्काचर्की भयो तर कुरा मिलेन । बरु प्रहरीले सोही ठाउँमा कुखुरा नष्ट गर्नका लागि मुचुल्का तयार गर्यो । व्यवसायीहरू रोहबरमै नबस्ने गरी त्यहाँबाट फर्किए । प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा सोही ठाउँमा कुखुरा नष्ट गर्यो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नाउव उपरीक्षक प्रतीक विष्टले प्रक्रिया पुर्याएर कुखुरा जुगेडामै नष्ट गरिएको र तस्करीमा संलग्न व्यक्ति र मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।
कुखुरा व्यवसायीहरूले भने क्वारेन्टाइनका प्रतिनिधि, कुखुरा व्यवसायी, पत्रकारलगायतको अनुपस्थितिमा प्रहरीले कुखुरा नष्ट गरेको भन्दै आक्रोश व्यक्त गरे । कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले प्रहरीले सीमा क्षेत्रमा हुने कुखुरा तस्करी रोक्न गम्भीरता नदेखाएको आरोप लगाए । उनले प्रहरी नै तस्करसँग मिलेमतो गर्दा नेपाली कुखुरा व्यवसायी मारमा पर्ने गरेको बताए ।
संघका पूर्व अध्यक्ष तुलसी गौतमले प्रहरी तस्करको दुई–चार सय पैसामा बिक्ने हुँदा सीमाबाट भइरहेको कुखुरा तस्करी नरोकिएको आरोप लगाए । उनले प्रहरीले गर्ने तस्करी नियन्त्रणको काम स्थानीयले गर्दा पनि प्रहरीले साथ नदिएको बताए ।
‘लगाएको लगानी पनि कसरी उठाउने भन्ने अवस्था छ,’ स्थानीय कुखुरा व्यवसायी योगेश मलासी भने, ‘सस्तो मूल्यमा भारतबाट तस्करी हुने कुखुराले हामी डुब्ने अवस्थामा छौं ।’ उनले प्रहरीले कहिलेकाँही कुखुरा समात्ने गरेको भए पनि तस्कर पक्राउ नगर्दा तस्करी नरोकिएको बताए ।
अर्का कुखुरा व्यवसायी रिमा विष्ट थापाले स्थानीयले समातेको तस्करलाई पनि प्रहरीले भगाउने काम गरेर व्यवसाय धरापमा फाल्ने काम गरिरहेको आरोप लगाइन् । तस्करी नियन्त्रणमा प्रहरीले राम्रो भूमिका खेल्न नसकेको उनको भनाइ छ । ‘तस्करी गर्नेहरूलाई रोक्न खोज्दा हाम्रो प्रहरीसँग लाइन छ । तपाईंको के टाउको दुख्यो भन्ने जवाफ फर्काउँछन्’, उनले भनिन् ।
हाल भारतीय बजारमा कुखुरा प्रतिकिलो १५० सम्म पाइने गरेको व्यवसायीले बताए । जबकि धनगढीमा उत्पादित कुखुराको भाउ कम्तीमा प्रतिकिलो २५० मा कारोबार भइरहेको छ ।
भारतीय र नेपाली कुखुरामा प्रतिकिलो झण्डै सय रुपैयाँको फरक रहेकाले अहिले कुखुरा तस्करीमा तस्कर खुलेरै लागेका छन् । कुखुरा तस्करीमा केही नेपाली र केही भारतीय तस्कर सक्रिय भएर हाल जिल्लाको जुगेडा, फूलबारी, हसुलिया लगायतका नाका हुँदै दिउँसो साइकल मोटरसाइकल र राति पिकअप भ्यानमा भारतीय कुखुरा धनगढी बजार लगायत विभिन्न बजार र पहाडी जिल्लामा समेत सप्लाई हुँदै आएको व्यवसायीको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।