नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । करिब नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र संक्रमण फैलन सक्ने भन्दै तत्काल नखुलाउने गरी छलफल अघि बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ ।
लामो समयसम्म अवरुद्ध भएकाले तत्काल खुलाउँदा सेवाग्राहीको धेरै भीड हुन सक्ने देखिएको प्रवक्ता डा भुसालले बताए । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ ।
त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ । धेरै सेवाग्राहीले ‘अनुमतिपत्र कहिले खुल्छ’ भन्दै विभागमा चासो राखेपछि सम्बन्धित प्रदेशमा नै बुझ्न भनिएको उनले बताए ।
प्रदेशले पनि हतारमा खुलाउनेभन्दा तत्काल स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनले भने, ‘सेवाग्राहीले हतार गरे पनि संघीय सरकार र प्रदेश सरकार दुवै अहिले नखुलाउने सोचेका छन् ।’ असारदेखि यातायात कार्यालयले नवीकरण र वितरण सुरु गरे पनि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन् ।
विगतमा वर्षमा सेवाग्राहीले अनुमतिपत्र लामो समयसम्म नपाउने गरेकामा यो वर्ष भने विभागले पुरानो बाँकी अनुमतिपत्र छापिसकेको छ । विभागले ‘मास प्रिन्टर’बाट झण्डै आठ लाख अनुमतिपत्र छपाइ गरेको थियो ।
पहिले सेवाग्राहीले लामो समय बित्दा पनि अनुमतिपत्र पाएका थिएनन् भने अहिले धेरैले चाहेर पनि अनुमतिपत्रका लागि परीक्षा दिन पाएका छैनन् । सवारी तालीम केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्ने भन्दै प्रशिक्षण दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।