‘बरु भोकै मर्छु, उखुको पैसा नपाउँदासम्म घरै जान्नँ’

‘संसारका मजदुरहरु एक हौँ’ 

यो विश्वभरका कम्युनिस्टहरुको मूल नारा हो । कम्युनिस्टहरु आफूलाई सीमान्तकृत, सर्वहारा र मजदुरहरुको पार्टी मान्छन् । लाग्न सक्छ, साँच्चै कम्युनिस्ट पार्टी सत्तामा पुग्यो भने त देशको कायापलट नै हुन्छ र जनताको जीवनस्तर पक्कै अब्बल बन्छ होला । तर, वास्तविकता सोचेभन्दा फरक पर्न सक्छ । अनि तिनै कम्युनिस्ट पार्टीलाई सत्तामा पुर्याएका मजदुर भन्न बाध्य हुन्छन्, जो आए पनि हाम्रो पीडा बुझिदिने कोही हुँदो रहेनछ । याे सन्दर्भ अन्त कतैकाे हाेइन, हाम्रै नेपालकाे हाे ।  

नेपालमा पनि अहिले झण्डै दुईतिहाइ मतप्राप्त कम्युनिस्ट सरकार छ । यथेष्ट बहुमतप्राप्त कम्युनिस्ट सरकारका प्रधानमन्त्रीका रुपमा छन्, केपी शर्मा ओली । ओली आफ्नो पार्टीलाई सर्वहारा र मजदुरको पार्टी हो भन्न सायदै कुनै कार्यक्रम वा सभामा छुटाउँछन् ।

केही वर्षअघि एउटा सभालाई सम्बोधन गर्दा त प्रम ओलीले कतिसम्म पनि भनेका थिए– भातै मात्र खानका लागि मान्छेले मरिहत्ते गर्नुपर्दैन । सरकारले सुतेकै ठाउँमा भात ल्याइदिन्छ । थप उन्नति गर्न मन लागे मात्रै काम गर्ने हो ।

तर, विडम्बना ! कम्युनिस्ट सरकार भएकै देशमा सुतेकै ठाउँमा भात आउने त निकै परको कुरा, न मजदुरहरुको श्रमको सम्मान छ, न त उनीहरुले आफ्ना उत्पादनको उचित मूल्य पाएका छन् । पाइहाले पनि वेलामा पाउँदैनन्, आज मर्यो भोलि ओखतीजस्तो । अनि उनीहरु आफूले बगाएको रगत र पसिनाको मूल्य खोज्न हरेक वर्ष राजधानी आइपुग्छन् । आन्दोलन गर्छन् र भन्छन्– सरकार मेरो कुरा सुनिदेऊ । मेरो श्रमको उचित मूल्य दिलाइदेऊ । कम्युनिस्टको सरकार भएको देशमा सबैभन्दा धेरै पीडित कोही छन् भने मजदुर नै छन् । 



आइतबार बिहान साढे ११ बजे काठमाडौंको माइतीघर मण्डलामा उखु किसानहरुको आन्दोलनले कम्युनिस्ट सरकार आफ्नो काम र नागरिकप्रतिको जिम्मेवारीबाट कति विमुख भएको छ भन्ने झल्को दिन्छ । 

करिब ७० को संख्यामा उखु किसानहरु माइतीघरमा मण्डलामा आफूले विभिन्न चिनी मिलबाट पाउनुपर्ने पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरुले उखु बेचेको मिलबाट पैसा नपाएका उनीहरु आफ्नो पीडा सुनाउन सरकारकै आडमा रहेको माइतीघरमा जम्मा भएका हुन् । 



सरकारले घर–घरमा सिंहदरबारको नारा घन्काइरहेका बेला उखु किसानहरु आफ्नो पीरमर्का सुनिदिन काठमाडौंसँग गुहार मागिरहेका छन् । आफूले पाउनुपर्ने रकम दिलाइदिन भन्दै काठमाडौंमा गुहार माग्न उनीहरु राजधानी आएको यो पहिलोपटक होइन ।  

गत पुसको हिउँदे झरीमा पनि उनीहरु यही ठाउँमा खुला चौरमा पाल टाँगेर साता दिनभन्दा बढी बसेका थिए । एक साताको निरन्तर धर्ना र शुभचिन्तकको दबाबपछि केन्द्रले उनीहरुको माग सम्बोधन गरेको थियो । त्यसबेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै उखुकिसानले पाउनुपर्ने भुक्तानी दिलाइदिने बाचा गर्दै किसानहरुसँग पुस १८ गते सहमति गरेको थियो । 

सरकारबाट पैसा दिलाइदिने आश्वासन पाएपछि उनीहरुले झरीमा पाल टाँगेर आन्दोलन गर्नुपरेको दुःखलाई बिर्सिए । काठमाडौंको ठिहिर्याउने चिसोबीच उनीहरुको मनमा न्यानो आशा जाग्यो । अब बाँकी पैसा छिट्टै पाइन्छ भन्ने आशा लिएर सर्लाही फर्किए । 

यसरी आशा बोकेर फर्किनेहरुमध्ये एक थिए, ४५ वर्षीय दीपेन्द्र यादव । तर, यादव अझै आफूले पाउनुपर्ने रकम नपाएका गुनासो गर्छन् । अन्नपूर्ण चिनी मिलबाट ०७२ देखि ०७५ सम्मको सात लाख रुपैयाँ पाउनुपर्ने सर्लाही रामनगर नगरपालिका निवासी यादवको दाबी छ । आफूसँग त्यसको यथेष्ट प्रमाण पनि रहेको र आवश्यक परेको ठाउँमा प्रस्तुत गर्न सक्ने बताउँछन् । 

छातीमा ‘०७६ साल पुस १८ गते भएको पाँचबुँदे सम्झौता लागू गर्’ लेखिएको पर्चा टाँसेर उनी आइतबार माइतीघरमा आन्दोलनमा थिए । ‘काठमाडौंबाट फर्किसकेपछि हप्तैपिच्छे मिलमा गएँ । यो हप्ता हुन्छ, यो हप्ता हुन्छ भन्दा–भन्दा वर्ष बित्यो,’ यादव सुनाउँछन्, ‘तर, मिलबाट अहिलेसम्म पैसा पाएको छैन ।’ 

‘हजुर सात लाख ऋण लागिसक्यो । ऋणको ब्याज मात्रै तीन–चार लाख भइसक्यो ५ वर्षमा,’ यादवले मलीन स्वरमा भने, ‘१८ जनाको परिवार छ, हजुर ! कसरी पाल्ने त्यत्रो परिवार ?’

अन्नपूर्ण चिनी मिल सञ्चालक राकेश अग्रवालसमक्ष आफ्नो पैसा चुक्ता गरिदिनका लागि उनले लाख बिन्ती बिसाए, तर अग्रवालले उनको कुरै सुनेनन् । वा सुनेर पनि टेरेनन् । र त आइपुगे पोहोरकै बाटो पछ्याउँदै, पोहोरकै माग बोकेर राजधानी । 

आफ्नो वर्षौंदेखिको पैसा दिलाइदिन माग लिएर उनी  कहाँ मात्रै पुगेनन् उनी ? कस–कसको ढोका ढक्ढक्याएनन् होला उनले ? 

गाउँपालिका अध्यक्षदेखि मेयर, प्रमुख जिल्ला अधिकारीदेखि सांसद सबैको दैलो चहारे, तर कसैले सुनेन उनको पीरमर्का । आफ्ना कुरा कसैले नसुनेपछि र आफ्नो पीडा ज्युँका त्युँ रहेपछि उनीहरुसँग एउटै विकल्प बाँकी थियो, पोहोरकै झैँ काठमाडौं जाने र सरकारलाई आफ्ना कुरा सुनाउने । अन्तिम विकल्प प्रयोग गर्दै अन्ततः उनी दोस्रोपटक राजधानी काठमाडौं आए । 

उनका बाबुले ०४० भन्दा अघिदेखि नै उखुखेती सुरु गरेका हुन् । उनी आफैँले पनि ०५५ सालदेखि परिवारको बिँडो थाम्दै आएका छन् । यस अर्थमा उखु खेती उनको पुख्र्यौली पेसा हो ।

र, उखु खेती उनको एक मात्र आयस्रोतको माध्यम पनि हो । उखु बेचेबापत आउनुपर्ने पैसा नपाएपछि परिवारको चिल्लीबिल्ली भएको उनको गुनासो छ । आफ्नो मुख्य चाड छठ खुसीसाथ मनाउन नपाएको पनि वर्षौं भइसकेको यादव बताउँछन् । 

‘यसपालिको छठमा जसरी पनि पैसा दिन्छु भनेको थियो मिलले । लागेको थियो,’ उनले भने, ‘पैसा नपाएपछि यसपालिको छठ पनि खल्लो भयो हजुर !’

आन्दोलनका लागि काठमाडौंसम्म आउने पैसा नभएका कारण उनी गाउँका एक मुखियासँग १० हजार ऋण काढेर आएका हुन्, काठमाडौं । यो पैसाले उनलाई मुस्किलले केही दिन मात्र काठमाडौंमा टिकाउनेछ ।  

काठमाडौंमा एकजना आफन्तको शरणमा बसिरहेका उनी भन्छन्, ‘यो पैसाले हामीलाई काठमाडौंमा धेरै दिन टिकाउँदैन । यो कुरा हामीलाई थाहा छ । अब त उखुको पैसा नपाउँदासम्म जान्न, बरु यहीँ भोकै मर्छु ।’ 

एकपछि अर्को गर्दै भ्रष्टाचारमा मुछिइरहेको र भ्रष्टाचारीको बचाउ गरिरहेको कम्युनिस्ट सरकारलाई के मजदुरहरुमाथि पीरमर्का बुझेर त्यसलाई सम्बोधन गर्ने समय होला ?

विकास र समृद्धिका मोटा–मोटा उखान-टुक्का फलाकेर नथाक्ने प्रम ओलीले अन्यायमा परेका नागरिकलाई न्याय दिलाउन कदम चाल्लान् त ?

आफ्ना भ्रष्ट नेताहरुको बचाउका लागि हमेसा तत्पर रहने प्रम ओलीले मजदुरहरुको पसिना चुस्ने चिनी मिल मालिकलाई कारबाही गरेर तुरुन्तै बक्यौता तिर्न लगाउलान् त ? 

  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १७:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया