घोडेपानी तथा पुलहिल क्षेत्रका होटल सञ्चालनको तयारी, पर्यटकीय चहलपहल बढ्ने अपेक्षा

राउण्ड अन्नपुर्ण पदमार्गमा पर्ने पर्यटकीय स्थल घोडेपानी तथा पुलहिल क्षेत्रका होटल सञ्चालनमा आउने भएका छन् । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको ती क्षेत्रका होटल स्वास्थ्य मापदण्ड अनुरुप पुस १ गते बाट खुल्ने भएका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको उक्त स्थान खोल्नका लागि आवश्यक तयारी स्थानीय व्यवसायीले थालेका छन् । गत चैतदेखि बन्द रहेका व्यवसाय पुनः चलायमान हुने संकेत देखिएको छ ।

म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल मध्येको घोरेपानीका होटलहरु कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि गत चैत ११ गते देखि अर्थात् ९ महिनादेखि बन्द थिए । चैतदेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा व्यवसायी जुटेका छन् ।

गाउँपालिकाले निर्णय गरेको नभई स्थानीय व्यवसायीले नै राज्यले तोकेको स्वास्थ्य मापदण्डको पालना गरेर खोल्ने सहमति गरेको घोडेपानीका पर्यटन व्यवसायी एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनले बताए । 

अध्यक्ष पुनका अनुसार कास्कीको नयाँपुलबाट शुरु हुने पदमार्ग घान्द्रुक हुँदै घोडेपानी निस्कने भएकोले त्यस क्षेत्रका व्यवसाय पनि नखोलेसम्म सहज नहुने भएको भए पनि घोडेपानीको खुल्दा अब घान्द्रुकका व्यवसाय पनि खुल्न सक्छ ।

यसभन्दा अघि कोरोनाको महामारी नसकिएको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले पर्यटकमार्फत कोरोना भित्रन सक्ने कारण देखाउँदै गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा आवतजावतमा रोक लगाएको थियो ।



लामो दूरीका सवारीसाधन, आन्तरिक तथा बाह्य हवाइ उडानमा यात्रुको चहलपहल हुन थालेपछि पर्यटन ब्यवसाय पनि चलायमान हुन अपेक्षा गरिएको छ । 
समुन्द्र सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सूर्योदयको अवलोकनका साथै मगर जातीको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपंक्षी, वनस्पति यहाँको प्रमुख आर्कषण मानिन्छन् ।

फागुन चैत महिनामा लालीगुराँसका बिभिन्न प्रजातिहरू फुलेर ढकमक्क हुने हुँदा पर्यटकको मन लोभिने गर्दछ ।



  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १५:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया