अमेरिकी राष्ट्रपति निर्वाचनः बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति निर्वाचित गर्न इलेक्टोरल मतदान

यसअघि अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति निर्वाचन सकिए पनि अब बल्ल त्यहाँ इलेक्टोरल कलेजले मतदान गरेर अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपतिमा निर्वाचित गर्ने भएका छन् । 

यसअघि नोभेम्बरमा आएको नतिजा अनुसार यो इलेक्टोरल कलेज मतदानमा बाइडेनले ३ सय २ मत पाउने छन् । त्यस्तै राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २ सय ३२ मत पाउने छन् ।

अमेरिकी निर्वाचन प्रणालीअनुसार अमेरिकी मतदातले खासमा इलेक्टोर्सका लागि मतदान गरेका हुन् । जसले अब औपचारिक रुपमा कसलाई राष्ट्रपतिमा निर्वाचित गर्ने भन्ने तय गर्नेछन् । तर, यो औपचारिकता मात्र हो । 

तर, यसपटक राष्ट्रपति ट्रम्पले अहिले आएका निर्वाचन नतिजालाई स्वीकार गर्न मानेका छैनन् ।

यसअघि यो इलेक्टोरल कलेजको मतदानले खासै ध्यान तान्दैनथ्यो तर यसपटक ट्रम्पले बारम्बार आफूले नहारेको बताउन थालेपछि यसको पनि चर्चा निकै बढ्न थालेको छ । त्यसो त ट्रम्पले निर्वाचन परिणाम उल्टाउने भन्दै विभिन्न राज्यका अदालतमा मुद्दा पनि हालेका थिए । तर, उनलाई कुनै पनि राज्यका अदलातले समर्थन गरेनन् ।

सोमबार त्यहाँका सबै इलेक्टोरल कलेजका सदस्यहरु वासिङटन डिसीमा पुगेर मतदान गर्दैछन् ।



यो मतदान प्रक्रिया सकिएपछि अब त्यहाँ परेको मतदानलाई वासिङटन डिसीमा पठाइनेछ । त्यहाँ ६ जनवरीमा यो मत गनिने छन् । यो गणनाको अध्यक्षता अहिलेका उपराष्ट्रपति माइक पेन्सले गर्नेछन् । 

अनि यही मतदानले अबको चार वर्षका लागि बाइडेनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्ने छ ।



सोमबार इलेक्टोरल कलेजका सदस्यहरुले मतदान गरिसकेपछि जो बाइडेनले देशवासीको नाममा सम्बोधन गर्ने बताएका छन् । गत महिना राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जनवरीमा औपचारिक रुपमा बाइडेन विजयी भएको घोषणा भए मात्र ह्वाइट हाउस छाड्ने बताएका थिए ।

  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार ३:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया