विद्यालय खोल्न हतार नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
प्रतीकात्मक तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम उच्च रहेका जिल्लामा तत्काल विद्यालय नखुलाउन आग्रह गरेको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि संक्रमितको संख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह गरेको हो । 

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अन्य जिल्लामा केही सहज अवस्था भए पनि उपत्यकाका तीन जिल्ला र कास्कीमा भने विद्यालय पुनः सञ्चालनमा ल्याउन नहुने बताए ।

देशभरका कुल संक्रमितमा ४० देखि ६० प्रतिशत उपत्यकाका तीन जिल्लाकै भएका कारण यो अवस्थामा विद्यालय सञ्चालन गरेर जोखिम उठाउन नहुने बताउँदै यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिए पुसमा कोरोनाको जोखिमको अवस्था भयावह हुन सक्ने उनले बताए ।

कोरोना प्रभाव कम भएका जिल्लामा भने स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न सकिने जनाइएको छ । प्रवक्ता डा. गौतमले जोखिम कम भएका जिल्लामा पाँच, छ जना मात्र संक्रमित भएको अवस्थामा भने सावधानीपूर्वक विद्यालय सञ्चालन गर्न सकिने स्पष्ट पारे । विद्यालय खुलाउँदा शिक्षक तथा विद्यार्थी दुवैले स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

भौतिक दूरी कायम गर्ने, नियमित प्रार्थना बन्द गर्ने तथा आपसी भेटघाट कम र विद्यालय सञ्चालन हुने समय व्यवस्थापन गरेर कक्षा सञ्चालनमा ल्याउन सकिने उनले बताए ।



कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम नभएपछि काठमाडौँ महानगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुग्न सकेको छैन । उपत्यकाका अन्य नगरपालिकाले विद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि संक्रमणको सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको काठमाडौँ महानगरमा विद्यालय सञ्चालनमा आउन केही दिन लाग्ने देखिएको छ ।

महानगरपालिकाका शिक्षा प्रमुख नमराज ढकालले विद्यालय सञ्चालनका विषयमा महानगरपालिकाले हतार नगरे पनि सरोकारवालासँग छलफल भने जारी राखेको बताए ।
उपत्यकामा  विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी तीन लाखभन्दा बढी रहेको र २० वटा स्थानीय तहबाट विद्यार्थी काठमाडौँ महानगरमा आउजाउ गर्ने भएका कारण विद्यालयको सञ्चालन जोखिमपूर्ण हुने आशङ्का गरिएको  उनले बताए ।  



  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १३:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया