आजको बैठकमा ओली नजाँदा के हुन्छ ?
फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज (बुधबार) बस्दैछ। दिउँसो १ बजे बालुवाटारमा तय भएको बैठक कहाँ बस्ने भन्नेमा अन्यौलता थपिएको छ। बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्छ वा प्रधानमन्त्री निवास बालुवाटारमा बस्छ भन्नेमा स्थायी समिति सदस्यहरु नै अन्योलमा छन्। 

पार्टीको विवाद जारी रहेकै बेला मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि विवादले झन् उग्ररूप लिएको छ। 

आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीको उपस्थिति हुन्छ वा हुँदैन भन्ने कुराको कुनै टुंगो छैन।  आजको बैठक सार्नका लागि प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ।

बुघधबार बिहान ओलीको प्रस्ताव लिएर स्थायी समिति सदस्य शंकर पोखरेल प्रचण्ड निवास पुगेका थिए।  ओलीको बैठक सार्ने पोखरेलले प्रचण्डलाई सुनाएका थिए। तर सो प्रस्ताव प्रचण्डले अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन्। 

अध्यादेशका विषयमा आजको स्थायी समिति बैठकमा छलफल गर्ने उनीहरुको तयारी छ। बैठकका बारेमा दुई अध्यक्षबीच संवाद समेत नभएकाले स्थायी समिति सदस्यहरु बैठकस्थलको जानकारीसहितको एसएमएस पर्खेर बसेका छन्। बैठक१ बजे बस्ने भनिए पनि बैठकको समय भइसक्दा पनि यसबारे अन्योलता कायमै छ।



बैठकमा प्रधानमन्त्री सहभागी हुने अवस्थामा बालुवाटारमै बस्ने नत्र पार्टी कार्यालयमा हुने नेकपाका नेताहरुले बताएका छन्।  बैठकको अन्योलताकै बीच प्रधानमन्त्री तथा अर्का अध्यक्षलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्। 

पार्टी विवाद वार कि पारको चरणमा रहेका बेला बस्न लागेको स्थायी समिति बैठकलाई महत्वकासाथ हेरिएको छ। स्थायी समितिमा प्रचण्ड–माधव नेपाल पक्षको बहुमत छ। त्यो बहुमतले गरेको कुनैपनि निर्णय आफूलाई मान्य नहुने अडानमा ओली छन्। 



प्रचण्ड–नेता नेपाल पक्षका नेताहरु आजको बैठकमा कुनै हालतमा पनि रोक्न नहुने पक्षमा छन्। स्थायी समिति सदस्यहरु मात्रै नभएर तल्ला कमिटीका नेताहरु पनि आजको  बैठक सुचारु गर्नुपर्ने पक्षमै छन्।  

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बैठक सुचारु हुने र त्यसमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने विश्वास व्यक्त गरे। ‘आजको बैठक रोकिनु हुँदैन। बैठकमा पार्टी अध्यक्ष नै उपस्थित हुनुहुन्न भन्ने कुरामा हामीलाई विश्वास लाग्दैन केन्द्रीय सदस्य गैरेले भने। 

नेकपाका अर्का केन्द्रीय सदस्य खिमलाल भट्टराईले सरकारलाई गरिएको आन्तरिक र बाह्य अवरोधको परिणाम नै संवैधानिक परिषद् संबन्धी अध्यादेश भएको बताए। उनले देश र जनतालाई बन्धक बनाउने प्रवृत्तिका विरुद्ध अध्यादेशले मार्ग प्रशस्त गरेको समेत बताए। 

‘संवैधानिक परिषद्को बैठक बस्न र महत्वपुर्ण संवैधानिक नियुक्तिहरु गर्न अवरोध सिर्जना गर्ने, सरकारलाई हातखुट्टा बाँधेर काम गर्न नदिने, अभिमन्युलाई जस्तो घेराबन्दी गर्ने कार्यले नै अध्यादेश ल्याउनु परेको हो।’ भट्टराईले भने। 

देश र जनताको वृहत्तर हितमा यो अध्यादेश आएको उनको बुझाइ छ। 
 

  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार १३:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया