दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

पर्यटन मन्त्रालय अन्तर्गतका संस्कृतिसम्बद्ध निकाय (विकास समिति)सँग आज भएको अन्तर्क्रियामा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिए । उनले गुरु योजनानिर्माण भए मन्त्रालयमा पेस गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रहसमेत गरे ।

मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना रहेको बताउँदै महिना दिनभित्र सुझाब दिन सबै समितिलाई आग्रह गरे । उनले विकास समितिले मितव्ययिता अपनाउन साथै भेटिपाती पारदर्शी तथा व्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न र बेरुजु फर्स्यौट गर्नेतर्फ लाग्न पनि निर्देशन दिए । 

धार्मिक तथा सांस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीय तहको समन्वय गरेर बढीभन्दा बढी फाइदा लिन आग्रह गर्दै मन्त्री भट्टराईले धार्मिकस्थललाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्नसमेत आग्रह गरे । 

अन्तर्क्रियामा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौं, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति ललितपुर, बृहत्तर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेसी महादेवस्थान विकास समिति, खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।





  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार २०:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया