बुहारीलाई निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास
फाइल फोटो

नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको गोकर्णस्थित सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको बताइएको छ । 
गत आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको २० लाख र सांसद पूर्वाधार कोषबाट प्राप्त ५० लाख गरी ७० लाख रुपैयाँको बोलपत्र गरी भवन शिलान्यास गरिएको महाविद्यालय सञ्चालक समितिले बताएको छ ।
दुईतले आठकोठे भवन निर्माण गर्न १५ करोड सात लाख लागत अनुमान गरिएको छ । चालू आवमा पनि नगरपालिकाले ४० लाख बजेट विनियोजन गरेको छ । विसं २०६० मा स्थापित महाविद्यालयमा हाल १०८ विद्यार्थी अध्ययनरत छन् ।

त्रिभुवन विश्विद्यालयबाट सम्बन्धनप्राप्त महाविद्यालयमा अध्ययन गरिरहेका १९ बुहारीलाई निःशुल्क शिक्षा दिइएको छ । निःशुल्क शिक्षा दिन नगरपालिकाले सहयोग गर्दै आएको छ । महाविद्यालयमा ४१ छात्रा अध्ययन गरिरहेका छन् ।
महाविद्यालयको भवन नभएकै कारण हाल व्यवस्थापन संकायअन्तर्गत बिबिएसको मात्र कक्षा सञ्चालन गरिएको छ । भवन बनेपछि अन्य सङ्कायको समेत अध्यापन गराइने जनाइएको छ ।

नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाका तर्फबाट बुहारी एवं छोरी शिक्षालाई प्रोत्साहन गर्न गतवर्ष शैक्षिक सामग्री वितरण गरिएकोे बताइन्  । महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १५:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया