रूसको प्रतिबन्ध २ वर्षमा झारियो

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले डोपिङको आरोपमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी रूसमाथि लगाएको ४ वर्षको प्रतिबन्ध खेलकुदको न्यायिक अदालत कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट (कास) ले २ वर्षमा झारेको छ । 

कासले बिहीबार रूसको प्रतिबन्ध २ वर्षमा झार्ने फैसला गरेको हो । यसअघि वाडाले रूसमाथि सन् २०२४ सम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, कासको यो फैसलासँगै रूसको प्रतिबन्ध सन् २०२२ को डिसेम्बर १६ सम्म रहने भएको छ ।

वाडाले रूसले आफ्नो देशको एन्टी डोपिङ एजेन्सीमार्फत् प्राप्त ल्याब रिपोर्टमाथि चलखेल गर्दै गलत रिपोर्ट बुझाएको आरोप लगाएको थियो । वाडाको यो आरोपको खण्डन गर्दै रूसले कासमा अपिल गरेको थियो ।

कासको यो फैसलाले रूसलाई केही राहात मिले पनि उसले आगामी वर्ष जापानमा हुने ओलम्पिक, पाराओलम्पिक र सन् २०२२ मा कतारमा हुने फुटबल विश्वकप जस्ता महत्त्वपूर्ण प्रतियोगिता भने गुमाउने भएको छ । 

रूसले सन् २०२१ को युरोकप भने खेल्न पाउने छ किनकि वाडाले आफ्नो क्षेत्र भित्र युरोपेली फुटबलको उच्च निकाय यूइएफएलाई समावेश गरेको छैन ।

विश्व एथ्लेटिक महासंघले डोपिङबाट मुक्त रहेका रसियन खेलाडीले स्वतन्त्र रूपमा कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने वा नपाउने भन्ने विषयमा सन् २०२१ को मार्चमा निर्णय गर्ने भएको छ ।



यसअघि महासंघले बढीमा १० जना रसियन खेलाडी ट्रयाक एन्ड फिल्डमा स्वतन्त्र रूपमा सहभागी हुने सक्ने जनाएको थियो ।
 



  • प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार १३:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया