पोखरा–मुक्तिनाथ केबलकारको डिपिआर तयार, योजना अनुसार काम भए  साढे चार वर्षमा बन्ने
फरकधार / ३ पुस, २०७७
प्रतीकात्मक तस्बिर

निर्धारित योजना अनुसार काम भएमा अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमा जान पाइने भएको छ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा बन्ने मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ । ८० किमीभन्दा लामो उक्त केबलकार विश्वकै लामो हुने बताइएको छ ।

मुक्तिनाथ दर्शन प्रालिले केबलकार कसरी र कस्तो बनाउने भन्ने पूर्ण विवरण समेटेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)माथि अहिले लगानी बोर्ड र सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित टोलीले अध्ययन गर्दैछ ।

डिपिआर अनुसार कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८०.१५ किलोमिटर लामो केबलकार बन्नेछ । प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबलकारका डिब्बा (गोन्डुला)ले मुक्तिनाथसम्म पुग्न केबल तीन घण्टा ३६ मिनेट लगाउनेछ । समुद्र सतहदेखि करिब एक हजार मिटरको उचाइबाट सुरु हुने केबलकार तीन हजार सात सय मिटरको उचाइसम्म पुग्नेछ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुनेछ ।

आयोजना निर्माणका लागि इटालियन कम्पनीले रोप्स र डोपलमेयरले परामर्शदाताको काम गर्नेछ । अन्तर्राष्ट्रिय अनुभवी कम्पनी भएकाले यो केबलकारमा उपकरण डोपलमेयरकै प्रयोग हुने जनाइएको छ ।

केबलकार निर्माणका लागि करिब ५३ अर्ब रुपियाँ लाग्ने अनुमान छ । यसका लागि २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत रकम वैदेशिक लगानीबाट जुटाउने योजना कम्पनीको छ । स्वपुँजीको केही हिस्सा सार्वजनिक सेयर निष्कासनबाट समेत जुटाउने र विदेशी लगानी सकेसम्म ऋणका रूपमा लिने योजना रहेको कम्पनीको भनाइ छ । 

आयोजनाको डिपिआर बोर्डले स्वीकृत गरेपछि लगानी बोर्डसँग आयोजना विकास सम्झौता गर्नुपर्ने हुन्छ । त्यसका लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको हुनुपर्छ । डिपिआरका लागि कम्पनीलाई लगानी बोर्डले २०७५ भदौ महिनामा अनुमति दिएको थियो । डिपिआर तयार भए पनि वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको छैन ।

मुक्तिनाथ केबलकार नेपालको नयाँ पहिचानका रूपमा स्थापित हुने र यसले पर्यटकीय तथा आर्थिक गतिविधि बढाउने आँकलन गरिएको छ । वार्षिक करिब ३६ लाख जनालाई सेवा दिने क्षमतामा बनाउन लागिएको यो केबलकारले सरकारलाई वार्षिक साढे दुई अर्ब रुपियाँ राजस्व बुझाउने अनुमान गरिएको छ ।

केबलकार बनेपछि करिब १२ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्  । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि बढ्ने पर्यटकीय गतिविधिलाई यसले थप प्रवद्र्धन गर्ने विश्वास छ ।

  • प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार १३:३७:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया