राष्ट्रपति संविधानको प्रतिकूलतामा उभिँदा गणतन्त्र कमजोर : बालकृष्ण खाँड
फाइल तस्बिर

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकूलतामा उभिएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो टिप्पणी गरेका हुन् । उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकूलतामा उभिँदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताए । पछिल्लो समय राष्ट्रपतिको भूमिकाको सम्बन्धमा जनतामा तिब्र विरोध हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुर्‍याउने बताए । उनले भने, ‘राष्ट्रपति संविधानको प्रतिकूलतामा उभिनु, राष्ट्रपतिको जनतामा तिब्र विरोध हुनु, त्यसले गम्भीर आघात पुर्‍याउँछ । गणतन्त्रलाई सबल बनाउन पनि बाधा पुर्‍याउँछ । राष्ट्रपति गम्भीर बन्नुस् भन्ने कांग्रेसको सल्लाह छ ।’

सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडले बताए । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि नागरिकको तिब्र विरोध हुँदाहुँदै पनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको प्रमुख सचेतक खाँडले बताए । उनले भने, ‘राष्ट्रपतिले राम्रो गर्नुभएन । संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो । सरकारले गरेको निर्णय संविधानको प्रतिकूल छ भने सरकारलाई सच्याउन राष्ट्रपतिले सुझाव दिने, सल्लाह दिने परम्परा छ । संसारभरिको चलन छ । यही अध्यादेश केही समय अघि ल्याउँदा सबै राजनीतिक दल, कानुन, विज्ञ, मिडियाले विरोधका कारण फिर्ता लिइएको थियो । फिर्ता गरिसकेको अध्यादेश लैजाँदा राष्ट्रपतिले त्यति चाँडो स्वीकृत गर्नु उनको कमजोरी हो ।’

प्रमुख सचेतक खाँडले नेपाली कांग्रेस सरकारले संविधानको प्रतिकूलतामा गरेको निर्णयको विरोधमा रहेको समेत बताए । उनले भने, ‘सरकारले जनता प्रतिको उत्तरदायित्व निर्वाह गर्न उदासीनता देखाएको छ । सरकारलाई उत्तरदायी बनाउने कुरामा जोड रहन्छ ।’

यस्तै सांसद दिव्यमणिराज राजभण्डारीले सरकार संविधान अनुरुप चल्नुपर्ने बताए । सरकार आफू खुसी नचलेर संविधान अनुरुप लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनेगरी चल्नुपर्ने बताए । उनले भने, ‘संविधान अनुसार चल्नु पर्‍यो । विधि, विधान अनुसार चल्नु पर्‍यो । जनताको हितको लागि लाग्नु पर्‍यो । आफूखुसी मनपरि गरेर हुँदैन । सबैको रक्षा हुनुपर्छ । अहिले जुन परिस्थिति छ यसरी देश चलाएर हुँदैन । संविधान अनुसार चलेन, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनु पर्‍यो, दुरुपयोग होइन ।’

नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले संसद अधिवेशन बोलाउन माग गरेको छ ।





  • प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार १९:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया