प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग भेट गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी आन्तरिक विवादका सन्दर्भमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमलाई खुमलटारमा भेटेर प्रधानमन्त्री ओली सिधै मन्त्री निवास पुल्चोक पुगेका थिए ।
प्रधानमन्त्री ओलीले केहीबेर गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग ‘एक्लाएक्लै’ छलफल गरेका थिए । गृहमन्त्री थापासँगको एकल छलफलपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे पनि बादल निवासमा पुगेका थिए ।
त्यसक्रममा मन्त्रीहरूले ‘दुई अध्यक्षबीचको वार्ता कस्तो भयो ?’ भनेर सोध्दा प्रधानमन्त्रीले ‘खास त्यस्तो केही भएन’ भन्ने जवाफ दिएका थिए । मन्त्रीहरूसँग केहीबेर सामूहिक छलफल पछि प्रधानमन्त्री ओली बालुवाटार फर्किएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
गृहमन्त्री थापासँगको एक छलफलमा प्रधानमन्त्री ओलीले सरकारमा तत्कालीन माओवादीका तर्फबाट नेतृत्व गरेको नेताको हैसियतले प्रचण्डलाईं सहमतिमा ल्याउन र आरोपपत्र फिर्ता गराउने सन्दर्भमा भूमिका खेल्न ओलीले आग्रह गरेको स्रोतले जानकारी दियो । नेता बादल तत्कालीन माओवादीमा प्रचण्डभन्दा अलग गुटको नेतृत्व गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।