पाकिस्तान विरुद्धको टी–२० सिरिज न्युजिल्यान्डलाई

घरेलु टोली न्युजिल्यान्डले पाकिस्तान विरुद्धको ३ खेलको टि–२० सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

न्युजिल्यान्डले आइतबार भएको दोस्रो खेलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै सिरिज आफ्नो पक्षमा पारेको हो । पाकिस्तानले दिएको १६४ रनको लक्ष्य उसले अन्तिम ओवरमा मात्र १ विकेट गुमाउँदै पुरा गर्यो । जितसँगै न्युजिल्यान्डले सिरिजमा २–० को अग्रता बनाएको हो । 

न्युजिल्यान्डका लागि अविजित रहेका टिम सिफर्ट र कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गरे । उनीहरूले दोस्रो विकेटका लागि अविजित १२९ रनको साझेदारी गरे । 

६३ बलको सामना गरेका सिफर्टले ८ चौका र ३ छक्काको मद्दतमा ८४ रन बनाउँदा, विलियम्सनले ४२ बलमा ८ चौका र १ छक्का सहित ५७ रन बनाए । मार्टिन गप्टिलले २१ रनको योगदान दिए । पाकिस्तानका लागि १ मात्र विकेट फहिम असरफले लिए ।  

यसअघि हामिल्टनस्थित सिडन पार्कमा जस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६३ रनको योगफल तयार पारेको थियो । 

पाकिस्तानका लागि मोहम्मद हाफिजले उत्कृष्ट प्रदर्शन गरे । ९९ रनमा अविजित रहेका उनले ५७ बलमा १० चौका र ५ छक्का प्रहार गरे । मोहम्मद रिजवानले २२ तथा खुसदिल शाहले १४ रनको योगदान दिए । 



न्युजिल्यान्डका लागि टिम साउदीले ४ तथा जेम्स निसम र ईश सोढीले समान १–१ विकेट हात पारे ।

न्युजिल्यान्डले पहिलो खेलमा ५ विकेटको जित दर्ता गरेको थियो । तेस्रो तथा अन्तिम खेल डिसेम्बर २२ मा नापियरस्थित म्याकलिन पार्कमा हुनेछ । 



  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १५:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया