उपभोक्ता ठगी गर्ने पाँच फर्मविरुद्ध मुद्दा
फाइल फोटो

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यावसायिक फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको कार्यालयले जनाएको छ । अदालतमा मुद्दा दायर हुनेमा गोरखकाली ग्यास सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एमलाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङ रहेका छन् ।

मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको पाइएको छ । रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्रान्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालयका प्रमुख मनीषकुमार दासले जानकारी दिए । 

यस्तै न्यू टीका डेरी सेन्टरले दूधको पोकामा घटी मात्रामा राखेर बिक्री वितरण गरेको भेटिएको छ । कार्यालयले गरेको अनुगमनका क्रममा एक लिटर दूधको पोकामा ५० मिलिलिटर तथा आधा लिटर दूधको पोकामा ३० मिलिलिटर कमी भेटिएको छ । गोरखकाली ग्यास सेन्टर, एमलाल स्टोर्स र गोरखकाली हार्डवेयरले अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेकाले कारबाहीका लागि मुद्दा दायर गरेको कार्यालयको भनाइ छ ।

चालु आवमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेबापत दुई हजार ७०८ व्यवसायीलाई कारबाही गरेको कार्यालयले बताएको छ । 

यस्तै, चालु आवमा ४२४ व्यापारीले नाप्ने तौलने यन्त्रको इजाजतपत्र नवीकरण गर्नुका साथै एक हजार ५५० व्यापारीले नाप्ने तौलने यन्त्रको जाँच गरेका छन् । कार्यालयले ३७९ पेट्रोल पम्प जाँच गर्नुका साथै दुई हजार ५०७ ट्याक्सीको मिटर जाँच गरेको छ । कार्यालयले चालु आवमा विभिन्न शीर्षकमा रु ५२ लाख २० हजार ५७९ राजश्व सङ्कलन गरेको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १३:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया