‘वाम एकता आजको आवश्यकता हो’
फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले मुलुकको समृद्धि र विकासका लागि वाम र राष्ट्रिय एकता आजको आवश्यकता रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी दाङका संस्थापक नेता स्वर्गीय मणिकलाल गौतमको श्रद्धाञ्जलिसभामा पूर्व सभामुख महराले कम्युनिस्ट एकताले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगिरहेका बेला कम्युनिस्टहरूको एकतालाई स्वीकार गर्न नसक्ने बाह्य तत्त्वले मुलुकको राजनीतिमा उथलपुथल ल्याइदिएको आरोप लगाए ।

महराले एकता भाँड्ने खेलमा बाह्य तत्त्वको प्रभावमा संसद भंग भएकाले यो जनभावना र राष्ट्रहित विपरीत रहेको बताए । उनले मुलुकको रक्षाका लागि वाम एकता अपरिहार्य रहेको बताए । 

जनभावनालाई बुझ्न नसक्दा कयौं पटक मुलुक दलदलमा फसेकाले यो पटक पनि त्यही हुन गएको उनको भनाइ छ । राष्ट्रहितका लागि सबै एकताबद्ध हुनुपर्ने उनको जोड थियो । उनले कम्युनिस्ट एकताका लागि आफ्ना तर्फबाट निरन्तर पहल गरिरहने प्रतिबद्धता जनाए । उनले थपे, ‘यो बहस हो, बहसलाई बहसबाटै समाधान गरिनेछ ।’

कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य सुजिता शाक्यले पार्टीभित्रको अन्तर द्वन्द्वका कारण अहिले यो अवस्था आइपुगेको बताइन् । सरकार घेराबन्दी गर्ने गरी पार्टी नेतृत्वले काम गरेकाले अहिले मुलुकको राजनीतिक घटनाक्रम यस्तो देखा परेको उनको भनाइ छ । कम्युनिस्ट संस्थापकहरू सच्चा न्यायका लागि नेतृत्व सच्चिन जरुरी रहेको उनले बताइन् ।

नेकपाका केन्द्रीय सदस्य तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेकपा सल्लाहकार परिषद्का सदस्य छविलाल वली, लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, पूर्व राज्यमन्त्री शुष्मा शर्मा घिमिरे, कम्युनिस्ट नेता वासुदेव गौतम लगायतकाले दिवंगत संस्थापक नेता गौतमप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 

नेता गौतमको १९८५ भदौ २३ गते जन्म भएको थियो भने मृत्यु २०७७ मंसिर २४ गते भएको हो । दिवंगत नेताले २००७ सालदेखिको राजनीतिक परिवर्तनमा थुप्रै योगदान पुर्‍याएको चर्चा समेत गरिएको थियो ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १९:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया