नेकपाको कुन समूहमा छन् वामदेव र बादल ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विभाजनको औपचारिकता अब सुरु भइसकेको छ । मंगलबार नेकपाका दुई समूहले दुई भिन्नाभिन्नै ठाउँमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले बानेश्वरमा भोलिका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । यी दुई समूहका मंगलबार हुने केन्द्रीय कमिटी बैठकले औपचारिक रुपमा यी दुई पार्टीको फुट निर्धारण गर्ने सम्भावना बलियो छ । 

भलै, प्रचण्ड–माधवकुमार नेपाल समूहले आफूहरुले अहिले पार्टी फुटको घोषणा नगर्ने बताएका छन् । तर, दुई ठाउँमा हुने केन्द्रीय कमिटी बैठकले यसलाई औपचारिकता मात्र दिन बाँकी रहेको नेकपाकै नेता तथा कार्यकर्ताले बताउन थालेका छन् । 

तर, यहीबीच अहिलेसम्मको ठूलो आश्चर्य रहेको छ, नेकपाका दुई सचिवालय सदस्यको मौनता । अर्थात्, नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले अहिलेसम्म खुलेर नेकपामा न ओली समूहलाई समर्थन गरेका छन् न प्रचण्ड समूहलाई नै । त्यसैले यी दुईले अब कुन बाटो लिने हुन् हेर्न बाँकी छ । 

त्यसो त अहिले यी दुई मौन भए पनि यसअघि बारम्बार यी दुई नेताबारे विभिन्न अड्कलबाजी गरिएको हुन्थ्यो । नेकपामा लामो समय यता विवाद भइरहँदा बादलले अप्रत्यक्ष रुपमा ओलीलाई साथ दिइरहेका थिए । अर्कोतिर नेकपा उपाध्यक्ष वामदेव गौतम यसअघि सुरुवाती चरणमा प्रचण्ड–नेपाल समूहमा देखिए पनि अन्तिम अवस्थामा आएर प्रधानमन्त्री ओलीलाई उनले साथ दिएका थिए । 

बादलले पछिल्लो समय आफू कुन समूहमा छु भनेर स्पष्ट पारेका छैनन् । तर, गत भदौसम्म उनले दुवै समूहका विभिन्न नेताहरुसँग भेटघाट गर्ने गरेका थिए । यता, गौतमले यसअघि पहिले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने बताए पनि गत साउनमा पनि उनको अन्तिम समयमा गरेको निर्णय नेकपामा निकै चर्चित बनेको थियो । 



त्यति बेला वामदेव गौतमले पहिले केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए । तर, विवाद उत्कर्षमा पुग्दा उनले ६ बुँदे विज्ञप्ति जारी गर्दै ओलीले नै सरकारको पाँच वर्षे कार्यकाल हाँक्नु पर्ने बताएका थिए । उनको यो ६ बुँदे प्रस्ताव आएको समयमा ओली गौतमलाई भेट्न भैंसेपाटीसमेत पुगेका थिए । 

अहिले नेकपा विभाजनको अन्तिम तयारीमा रहँदा यी दुई नेताले चाहिँ खुलेर आफूहरुलाई कुनै पनि गुटमा देखाएका छैनन् । 



शनिबार प्रचण्डलाई भेट्न ओली खुमलटार पुग्दा गौतम पनि खुमलटार पुगेका थिए । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरे पछि वामदेव गौतम लामो समय मौन रहे । पछि उनले सामाजिक सन्जालमा ओलीको कदमलाई समर्थन गर्न सकिँदैन त भने तर उनी प्रचण्ड–नेपाल समूहको भेलामा गएका छैनन् । त्यस्तै, ओलीले चालेको यो कदमपछि प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले राजीनामा दिए । तर, गृहमन्त्री बादलले राजीनामा दिएनन्, अनि उनी ओलीको गुट भेलामा पनि पुगेका छैनन् ।

त्यसो त सोमबार साँझ बादल प्रधानमन्त्री निवास पुगेका थिए । तर, उनीनिकट एक नेताका अनुसार उनले अहिलेसम्म ओलीलाई कुनै वचन पनि दिएका छैनन् । भदौ पछि चाहिँ दुई पटक प्रचण्ड निवास खुमलटारमा पुगेका बादलले अन्तिम समयमा आफूले प्रचण्डलाई साथ दिने बताएको स्रोतको दाबी छ । 

अर्कोतिर, सोमबार बादलले आफ्नै समूहसँग लामो छलफल पनि गरेका छन् । छलफलमा उनलाई उनका समूहले अहिले तत्काल ओलीलाई साथ दिन नसकिने र बादलले राजीनामा दिनु पर्ने सुझाएका थिए । तर, बादलले अहिले तत्काल राजीनामा दिने मनस्थिति देखाएका छैनन् ।

यसले अन्योल बढाएको छ, बादल आखिर नेकपामा कुन समूहमा छन् ?

त्यस्तै, अन्योल छ, वामदेव गौतमको पनि । प्रचण्ड नेपाल समूहलाई पछिल्लो समय समर्थन गरिरहेका गौतमले प्रधानमन्त्री ओलीले चालेको कदमको विरोध त गरेका छन् तर त्यसको विरुद्धमा भएका छलफलमा आफूलाई सहभागी गराएका छैनन् । बरु उनीनिकट स्रोतलाई उद्धृत गर्दै केहीले उनी नयाँ पार्टी गठनको तयारीमा लागेको पनि बताउन थालेका छन् । 

यसले थप अन्योल थपेको छ– वामदेव गौतम कुन समूहमा छन् ? 

हामीले यी दुवैबारे यो अन्योल सोधेका थियौँ, नेकपाका एक स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यलाई । 

‘दुवै जनाले ओलीले चालेको कदमलाई गलत भनिरहनु भएको छ,’ ती स्थायी कमिटी सदस्यले फरकधारलाई बताए, ‘त्यसैले उहाँहरु दुवै जनाले अन्तिम समयमा प्रचण्ड–नेपाल समूहलाई नै साथ दिनुहुनेछ ।’

केन्द्रीय कमिटीका ती सदस्यले चाहिँ यसमा फरक धारणा राखेका छन् । ‘वामदेव र बादल दुवैजना शक्तिको पछाडि लाग्नुहुन्छ,’ उनले भने, ‘त्यसैले अहिले उहाँहरु दुवै जना मौन जस्तो देखिनु भएको हो, भोलि जुन समूह ठूलो र शक्तिशाली बन्छ भन्ने उहाँहरुको निष्कर्ष निस्किन्छ, त्यसपछि उहाँहरुले एउटा समूह छान्नुहुनेछ ।’

जे होस्, अहिलेसम्म वामदेव र बादलले देखाएको मौनता अचम्मको छ !

  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार २२:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया