जिप दुर्घटनामा मृतकका परिवारद्वारा १७ दिन देखि वडा कार्यालयमा तालबन्दी
१७ दिनदेखि बन्द रहेको जुनीचाँदे गाउँपालिका वडा नम्बर ११ को कार्यालय । तस्बिर : फरकधार

गएको असोज २१ गते जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भएको जिप दुर्घटनामा मृतकका परिवारले वडा कार्यालयमा ताल बन्दी गरेका छन् । वडा नम्बर–११ का वडा अध्यक्ष अम्बरबहादुर शाहीसहित ७ जनाको मृत्यु भएको दुर्घटनाका पीडित परिवारले विभिन्न मागहरू राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले मंसिर १९ गते यता वडा नम्बर ११ मा तालाबन्दी गरेका छन् । वडा कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयको काम कारबाही १७ दिनदेखि ठप्प छ भने अत्यावश्यक सेवा समेत उपलब्ध गराउन नसकिएको वडा कार्यालयले जानकारी दिएको छ ।

जिल्ला सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जिप सोही गाउँपालिका–१, औलखोलामा दुर्घटना हुँदा वडा अध्यक्षसहित ७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरूमा वडा अध्यक्ष अमरबहादुर शाहीसहित सोहि वडाका कृतिबहादुर शाही, खेमराज शाही, लालबहादुर बुढा, वडा नम्बर ५ कृष्णबहादुर शाही, मालिका बस्नेत र छेडागाड नगरपालिकाका–५ का कर्णबहादुर शाहीको मृत्यु भएको थियो । पीडित परिवारले आफूहरूसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

दुर्घटनामा मृतक कृतिबहादुर शाहीका छोरा बालकृष्ण शाहीले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । ‘बाध्य भएर तालाबन्दी गरिएको हो,’ उनले भने, ‘हाम्रो कुराहरू न वडा कार्यालय न गाउँपालिकाले सुनेको छ । पीडित पक्षसँग गरिएको सहमति कार्यान्वयन भएको छैन ।’

खास गरी कार्यवाहक वडा अध्यक्ष चयन गर्दा मृतक वडा अध्यक्षका परिवारलाई एक पटक नभेटेरै चयन गरिएको र नयाँ वडा अध्यक्ष पीडित पक्षको भावनाविपरीत तरिकाले अघि बढेको उनको आरोप छ । मृतक वडा अध्यक्ष र अन्य वडाबासीको सपना पूरा गर्ने, मृतक वडा अध्यक्षले अघि सारेका कामहरू नयाँ वडा अध्यक्षले त्यसले महत्त्व बुझेर अघि बढेको अवस्थामा वडा कार्यालय पुनः सञ्चालन हुने उनको भनाइ छ ।



यसअघि असोज ३० गते जिल्ला सदरमुकाम खलङगामा प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका पदाधिकारी, पीडित पक्ष सहितको बैठकले पीडित परिवारलाई कर्णाली प्रदेश सरकारबाट प्रतिपरिवार १० लाख राहत उपलब्ध गराउने, पीडित परिवारलाई रोजगारी दिने, गाउँपालिकाले प्रतिपरिवार एक लाख राहत र २५ हजार काजकिरिया खर्च दिने सहमति भएको थियो । तर, लामो समयसम्म कार्यान्वयन नभएपछि पीडित परिवार बाध्य भएर आन्दोलनमा उत्रिएको उनको भनाइ छ । 

दुर्घटनामा निर्वाचित वडा अध्यक्षको मृत्यु भएपछि कात्तिक १७ गते कार्यवाहक वडा अध्यक्षका रूपमा खुला सदस्य रामबहादुर सिंहलाई बहुमत सदस्यले मनोनित गरेका थिए । यता कार्यवाहक वडा अध्यक्ष सिंहले आफूले समस्या समाधानका लागि हरसम्भव प्रयास गरे पनि त्यो सफल हुन नसकेको बताए ।



‘यो समस्यालाई हामी जति सक्दो छिटो समाधान गर्न चाहान्छौँ,’ उनले भने, ‘हामीले विभिन्न पक्षसँग पहल गरिरहेका छौँ । पीडित पक्षसँग ३ पटक वार्तामा बसिसकेका छौँ । तर, सहमति हुन सकेको छैन ।’ लामो समय वडा कार्यालय बन्द हुँदा जनताका अत्यावश्यक काम गर्न नपाएको उनको भनाइ छ ।

यता गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा बस्नेतले पीडित पक्षसँग पटक–पटक छलफल गरे पनि निष्कर्षमा पुग्न नसकिएको बताइन् । ‘गाउँपालिकाले उहाँहरूसँग बेला बेलामा छलफल गरिरहेका छ’, उनले भनिन, ‘३ पटकसम्म छलफल गरिसकेका छौँ । मंगलबार पुन छलफल गर्दै छौँ ।’ 

पीडित पक्षलाई गाउँपालिकाले दिने राहत दिइरहेको समेत बताइन् । ‘असोज ३० गतेको सहमति अनुसार गाउँपालिकाले काजकिरिया खर्च र राहत गरेर १ लाख २५ हजार रुपैयाँ वितरण गरिरहेको छ,’ उनले भनिन, ‘हालसम्म ३ जना मृतकका परिवारले त्यो रकम लिनुभएको छ ।

अन्यलाई पनि खबर गरेका छौँ । तर, उहाँहरू आउनु भएको छैन । उहाँहरू एकै पटक १० लाख माग्नु हुन्छ । तत्काल १० लाख हामीले कहाँबाट दिने ।’ सहमति अनुसारको १० लाखका लागि प्रदेश सरकारसँग समन्वय र रोजगारीको सृजना गराउनका लागि समेत पहल भइरहेको उनको भनाइ छ । 

कार्यवाहक वडा अध्यक्ष नियुक्ति गरेको विषयमा उनले स्थानीय सरकार सञ्चालन ऐनको दफ ११६ बमोजिम नियुक्ति गरिएको बताइन् । ‘जुन दफामा बहुमत सदस्यहरूमार्फत् कार्यवाहक वडा अध्यक्ष बनाउने प्रावधान छ । सोहीअनुसार कार्यवाहक वडा अध्यक्ष चयन गरिएको छ’, उनले भनिन् । साथै उनले त्यस विषयमा छलफल गरिदिनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराए पनि कुनै सहयोग नपाएको गुनासो गरिन् । 

  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १२:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया