नेकपा अब कसको ? ओली समूह कि प्रचण्ड–नेपाल समूहको ? मंगलबारको बैठकको दृश्यले देखाउँछ...

३ जेठ २०७५ साल । नेपाली कम्युनिस्ट इतिहासमा सबैभन्दा बढी एकताको विषयमा कुरा भएको दिन हुनुपर्छ यो । तर, त्यो दिन एकता भएका नेपालका सबैभन्दा ठूला कम्युनिस्ट घटकमा अब विभाजन आइसकेको छ । तत्कालीन नेकपा माओवादी र नेकपा एमालेबीचको त्यो एकतालाई त्यति बेला पनि अस्वाभाविक मानिएको थियो ।

तर, त्यति बेला यी दुई दलले दुई अध्यक्षको व्यवस्था गरेर एकता गरे । एकताको समयमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेका थिए– नेकपा एउटा विमान हो, हामी दुई अध्यक्ष एउटै विमानका दुई चालक ।

उनको यो अभिव्यक्तिकै कारण पनि त्यति बेला नेकपा दुई जनाले उडाउने हुँदा दुर्घटनामा पर्ने अनुमान गरिएको थियो । अन्ततः त्यति बेला गरिएको त्यो अनुमान अब सत्य प्रमाणित भएको छ ।

पछिल्ला केही महिना यता देखिएको नेकपा विवाद अब चरम उत्कर्षमा पुगेको छ र यो पार्टी कम्तिमा पनि दुुई टुक्रामा अब विभाजित भएको छ । मंगलबार यो पार्टीका दुई अध्यक्षले छुट्टाछुटै ठाउँमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । र, दुवै समूहले आआफ्नो सहजताका अनुसार निर्णय गरेका छन् । 

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकले आफ्नो समूहमा केही केन्द्रीय सदस्य थपेको छ र पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ । 

यता, बानेश्वरको कार्की ब्याङ्क्वेटमा भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमूहको बैठकले नेकपा अध्यक्षमा अब माधवकुमार नेपाललाई पनि चयन गरेको छ । नेपाल अब यो समूहमा दोस्रो वरियताका अध्यक्ष भएका छन् । प्रचण्डपछि उनको रोलक्रम निर्धारण गरिएको छ । नेपाललाई अध्यक्ष बनाउनका लागि यो समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेको छ । ओलीमाथि कारवाही गरेर अगाडि बढेको यो समूह र ओलीले एक्लैले नेतृत्व गरेको ओली समूह दुवैले निर्वाचन आयोगमा आफ्ना पछिल्ला अपडेट पठाइसकेका छन् । 



एउटै दलका नेताहरु दुई समूहमा बाँडिएपछि यो निश्चित छ कि अब एउटा नयाँ दल नेपाली कम्युनिस्ट इतिहासमा जन्मिनेछ । अहिलेसम्म यी दुवै दलले अहिलेको नेपाल कम्युनिस्ट पार्टी नाम र अहिलेको चुनाव चिन्ह आफ्नो हुने दाबी गरेका छन् । यसको छिनोफानो निर्वाचन आयोगले गर्नेछ । 

दुवै दलले यसरी आफ्नो नाम अहिलेको हुने भन्दै दाबी गर्दा बहुमतको आधारमा निर्वाचन आयोगले यसको छिनोफानो गर्ने प्रावधान रहेको छ ।



मंगलबारको सिनारियो हेर्ने हो भने यसपटक यो सुविधा बढी प्रचण्ड–नेपाल नेकपालाई हुने भएको छ । ओली नेकपाभन्दा मंगलबारको बैठकमा बहुमत केन्द्रीय समिति सदस्यको संख्या प्रचण्ड–नेपाल नेकपामा देखिएकाले पनि यो नाम ओलीले नपाउन सक्छन् । 

यसका लागि अझै कम्तिमा पनि दुई साता कुर्नु पर्ने हुन्छ । 

तर, मंगलबार दुई ठाउँमा भएका बैठकको एउटा तस्वीरलाई दाँजेर हेरौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको बैठकको अगाडि ड्यासमा उनका समर्थक त छन् तर उनले टाँगेको ब्यानरमा यो बैठक के हो भन्ने लेखिएको छैन ।

यता, प्रचण्ड–नेपाल समूहले गरेको बैठकको मन्चमा राखिएको ब्यानरमा चाहिँ लेखिएको छ– नेपाल कम्युनिस्ट पार्टी । ओली समूहले अहिलेका लागि हँसिया हथौडामात्र छापिएको एक कपडालाई ब्यानर बनाएको छ । यता, प्रचण्ड–नेपाल समूहले यसमा नेकपा मात्र लेखेका छैनन्, केन्द्रीय कमिटी बैठक पनि लेखेका छन् । 

हो, सामान्य रुपमा हेर्दा यसलाई प्राविधिक तयारीको विषयका रुपमा लिइएला । तर, राजनीतिमा ससाना विषयले ठूलो अर्थ राख्छन् । 

यसको उदाहरण, यसअघि नेकपाले नै दिएको छ । यसअघि बारम्बार सचिवालय बैठक तथा स्थायी कमिटी बैठक हुँदा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्ची एउटै नहुँदा पनि ठूलो इस्यू बनाइएको थियो । बारम्बार यस्तो विषयमा चर्चा हुन थालेपछि बालुवाटारमा हुन थालेका सचिवालय बैठकमा प्रचण्डको कुर्ची र ओलीको कुर्ची एकै बनाइएको थियो ।

यो एउटा आधारमा पनि के सोच्न सकिन्छ भने अहिलेको नेकपा प्रचण्ड–नेपाल समूहसँग रहन सक्नेछ । अर्कोतिर, केही समयअघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एमाले) ओलीकै चाहनामा दर्ता भएको आरोप नेकपाकै नेता वामदेव गौतमले ओलीलाई लगाएका थिए । के ओलीले अब नेकपा छाडेर नेकपा (एमाले)लाई आफ्नो पार्टी बनाउँदै छन् ? 

यसको ठोस जवाफका लागि अब कम्तिमा पनि दुई साता कुर्नुको विकल्प छैन ।

  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार ०:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया