नेकपा विवादको कालो छायामा नेपाली खेलकुद

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्ला समय चलिरहेको किचलोले देश तताइरहेको छ । देशकै सबैभन्दा ठूलो पार्टी यतिबेला दुई कित्तामा विभाजित बनेको छ । 
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच लामो समयदेखि चलिरहेको असमझदारीले पार्टी फुटको संघारमा पुगेको छ । 

मङ्गलबार सम्पन्न यी दुई समूहको छुट्टाछुट्टै भेला यसैको संकेत हो । ओली समूहले बालुवाटारमा भेला गरिरहँदा प्रचण्ड–नेपाल समूह बबरमहलमा भेला गरिरहेको थियो । 
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको विवाद पार्टी फुटसम्म पुगेको छ ।

नेकपाका नेतासँगै नेपाली खेलकुदका उच्च निकाय पनि दुई कित्तामा विभाजित भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष शिव कोइराला र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ मंगलबार आ–आफ्नो गुटको भेलामा सहभागी भए । 

मंगलबार मन्त्रालयले खेलाडी सम्मान कार्यक्रम राखेको थियो । बिहान ११ बजे हुने भनिएको कार्यक्रम केही ढिलो गरी सुरु भएको थियो । कार्यक्रम ढिलो हुनुको कारण थियो मन्त्री जगतबहादुर विश्वकर्मा ओली पक्षको भेलामा सहभागी हुनु । मन्त्री विश्वकर्मा भेलामा सहभागी भएर ढिलो गरी कार्यक्रममा पुगेका थिए । 

सिंहदरबारमा खेलाडी सम्मान कार्यक्रम चलिरहँदा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ बबरमहलको कार्यक्रममा व्यस्त थिए । उनी माधवकुमार नेपाल निकट मानिन्छन् ।

कार्यक्रममा नेपाली खेलकुदको अभिभावक संस्था राखेपका कुनै पनि पदाधिकारी उपस्थित भएनन् । प्रायः सबै कार्यक्रममा राखेप सदस्य सचिव सिलवाल र उपाध्यक्ष कोइराला उपस्थित हुन्थे, तर मंगलबारको कार्यक्रममा सिलवाल ढिलो गरी पुगे भने कोइराला उपस्थित नै भएनन् । सिलवाल बालुवाटारमा ओली पक्षको सभामा केन्द्रीय सदस्यको सपथ खाएर कार्यक्रममा उपस्थित भएका थिए । 



राखेप सदस्य सचिव सिलवाल ओली निकट हुन् । गतवर्ष राखेप सदस्य सचिवमा नियुक्त भएका थिए । नयाँ खेलकुद ऐन आएपछि स्वतः बर्खास्त भएका उनी खुला प्रतिस्पर्धाबाट पुनः सदस्य सचिव भएका हुन् । 

पार्टी तथा खेलकुदका राम्रा प्रतिस्पर्धीलाई पछि पारेका सिलवाललाई ओलीको राम्रै साथ थियो । उनी ओलीकै जोडबलले दोस्रो पटक सदस्य सचिवमा नियुक्त भएका थिए । 



लामो समयदेखि शिक्षा क्षेत्रमा लागेका उनी केन्द्रीय राजनीतिमा त्यति सक्रिय नभए पनि ओलीका खास मानिन्छन् । उनी तत्कालीन एमालेका ओली गुटले स्थापना गरेको मदन भण्डारी स्पोर्ट एकेडेमीका संस्थापक अध्यक्ष पनि हुन् ।

नयाँ ऐन आएपछि मन्त्री विश्वकर्माले नै तल्कालीन माओवादी केन्द्र निकट कोइरालालाई उपाध्यक्षका रुपमा राखेप भित्र्याएका हुन् । सुरुवातमा राम्रो सम्बन्ध रहेको यी दुईबीच नेकपाको विवादसँगै सम्वन्ध चिस्सिँदै गइरहेको छ । मंगलबारको कार्यक्रममा कोइराला उपस्थित नहुनुले पनि यसको पुष्टि गर्छ । 

पछिल्ला घटनाक्रममा नेकपाको विवाद नेपाली खेलकुदलाई पनि संकटमा पार्ने देखिएको छ । नेतासँगै खेलकुदको नेतृत्वमा पुग्ने पनि विभाजित हुँदा यसले नेपाली खेलकुदको भविष्यलाई अन्धकारतिर धकेल्ने निश्चित छ । मंगलबारको घटनाक्रमले पनि यस्तै देखाएको छ । 

नयाँ ऐनले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीलाई समानान्तर संघका रूपमा व्याख्या गरेको छ । यदि नेपाली खेलकुदका यी संस्थाको नेतृत्वबीच नै खिचातानी सुरु भएको हो भने नेपाली खेलकुदका लागि योभन्दा ठूलो दुर्भाग्य हुनै सक्दैन । 

खेलकुदको विकास गर्छु भन्दै नेतृत्वमा पुगेकामा साँच्चै खेलकुदको विकास गर्छु भन्ने दृढ संकल्प छ भने उनीहरूले आफूलाई राजनीतिक स्वार्थभन्दा माथि राख्न सक्नुपर्छ । खेलकुदको विकासका लागि तीनै संगठनका उच्च नेतृत्वबीच साझेदारी हुनुको कुनै विकल्प छैन । नेपाली खेलकुद कुनै गहिरो खाडलमा पर्नुअगाडि नै उनीहरूले यो कुराको मनन गर्नुपर्छ ।

 

  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १७:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया