देउवा यसकारण ओलीसँग
चुनावमा जाने कांग्रेसको रणनीति

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयले नेकपा विभाजित भइसकेको छ। त्यसको बाछिटा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससम्म पुगेको छ।

७ पुसदेखि शुरु भएको केन्द्रीय समितिको म्याराथन बैठकमा कांग्रेस दुई कित्तामा विभाजित भएको स्पष्ट देखिएको छ। प्रतिनिधिसभा पुनःस्थापना मुद्दामा प्रचण्ड-माधव नेतृत्वसँग जाने कि प्रधानमन्त्री ओलीको आमनिर्वाचनको मुद्दामा समाहित हुने? कांग्रेस अहिले यही दोधारमा फसेको छ। यी दुईमध्ये कुन बाटो सही भन्ने ठम्याउन यतिबेला कांग्रेस नेताहरूबीच सानेपामा रस्साकस्सी चलिरहेको छ।

पहिलो दिनको बैठकबाटै यसका केही संकेत देखिएका छन्। बैठकमा सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधिसभा भङ्ग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको निर्णयलाई उचित त भनेको छैन। तर यो समूहले चुनाव जितेर सत्तामा जानुपर्ने जिकिर गरिरहेछ। 

अर्कातिर सभापति देउवा इतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने चुनावभन्दा प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिनुपर्ने देख्छन्। यसका लागि दबाब बनाउन संघर्षमै ओर्लिनुपर्ने उनीहरुले निष्कर्ष निकालेका छन्।

ओलीको कदमप्रति देउवा सुरुदेखि नै नरम छन्। औपचारिक रुपमा विज्ञप्ति र टिप्पणीमा उनी अलि खरो सुनिनु बेग्लै कुरा हो। ६ पुसमा कांग्रेसले बोलाएको बैठकमा पनि देउवाले खुलेर आफ्नो कुरा राख्‍न मन गरेनन्। न त उनले ओलीको कदमबारे कुनै टिप्पणी नै गर्न चाहे। 

पौडेल ओलीविरुद्ध



त्यो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मात्रै बोलेका थिए। पौडेलले त्यस क्रममा ओलीको कदम लोकतन्त्रविरोधी भएकोले त्यसको कडा प्रतिवाद गर्नुपर्ने बताउँदै आएका छन्। उनी ओलीको कदमविरुद्ध उत्रिएका दलहरूसँग कार्यगत एकता गरेर अघि बढ्नुपर्ने विचारमा विश्वास राख्छन्। ७ पुसको बैठकमा पौडेलले बोल्दै आफ्नो कित्ता स्पष्ट पारिसकेका छन्।

दाहाल-नेपाल समूहको नेकपाले ६ पुसको सर्वदलीय बैठकमा ‘सरकारमा गए पनि कांग्रेससँगै, सडकमा गए पनि कांग्रेससँगै’ प्रस्ताव गरेको थियो। तर त्यसमा कांग्रेसले अझै पनि जवाफ दिइसकेको छैन। यो प्रस्तावप्रति खासमा देउवाकै रुची देखिएन। जस्तो कि ७ पुसको बैठकमा एनपी साउदले बोलेको कुराले पनि देउवा कुन कित्ताको पक्षमा छन् भन्‍ने संकेत मिलिसकेको छ। साउद देउवानिकट नेता हुन्। साउदले बैठकमा बोले, ‘चुनावमा जान पार्टीले खुट्टा कमाउनु हुँदैन।’ 



संवैधानिक आयोगका पदाधिकारीमा देउवाले गरेको सिफारिस ओलीले सदर गर्नुले पनि दुई नेताबीच अघोषित कार्यगत एकता भएको बुझ्‍न कठिन छैन। 

देउवाले चुनावमा जानुमै आफुलाई सहज मानेका छन। उनी आफुलाई पार्टी सभापतिमा दोहोर्याउन चाहन्छन्। चुनावमा ओली लगायतले नेतृत्व गर्ने दलहरूसँग साझा मोर्चा बनाएरै भए पनि बहुमत ल्याउन सकिने र त्यतिबेला फेरि प्रधानमन्त्री बन्न सक्छु भन्ने देउवाको आँकलन हुन सक्छ। 

अर्कोतिर वैशाखमा चुनाव भए पार्टीको १४ औं महाधिवेशन भदौमा सर्छ। प्रधानमन्त्री बन्‍न सके भदौमा महाधिवेशन भइहाले फेरि सभापति जित्न सहज हुन्छ भन्‍ने उनको बुझाइ हुनसक्छ। 

संसद पुनःस्थापना भएको स्थितिमा कांग्रेसले चुनावमा जाने अवसरबाट बञ्चित हुने अवस्था हुन्छ। कांग्रेसको सहयोगबिना सरकार बन्ने स्थिति भए फेरि प्रतिपक्षमै सीमित हुनुपर्ने देउवाले सोचेका हुन सक्छन्। आफुलाई कमजोर हुने दिशातिर किन लान्छन् देउवाजस्तो राजनीतिका चलाख खेलाडीले? 

देउवाको कार्यशैलीलाई नजिकबाट बुझेकाहरूको अनुभव सुन्ने हो भने कांग्रेसभन्दा पनि देउवाका लागि आफु केन्द्रमा हो, संविधान र लोकतन्त्र उनको पहिलो प्राथमिकतामा पर्दैन। देउवाले आफ्नै पार्टीका वरिष्ठ नेता पौडेलले भने जस्तै संविधान र लोकतन्त्र जोगाउन प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दालाई अघि सार्दैनन्। 

देउवाका लागि तीन वर्षपछि फेरि एकपटक मुलुकको प्रधानमन्त्री बन्‍न सकिने अवसर मुख्य कुरा हो। यसअघि चार पटक प्रधानमन्त्री बनिसकेका देउवालाई ज्योतिषले भनेकै छन्, ‘तपाईं सात पटकसम्म प्रधानमन्त्री बन्नुहुन्छ।’

  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १८:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया