प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैनः विष्णु पौडेल
फरकधार / ८ पुस, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । 

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क गरे । उनले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भङ्ग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताए । 

‘प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो,’ लुम्बिनी प्रदेश, रुपन्देहीबाट सांसद बनेका पौडेलले भने, ‘तर उहाँहरु महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनुभएन ।’ 

उनले सचिवालयका ७७  बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैँजसो समस्या देखिने गरेको बताए । 

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए । उनले अघिल्लोपटकको प्रधानमन्त्रीकालमा ओलीले भारतसँग विद्युत् किनेका कारण मुलुक विद्युतभार कटौतीमुक्त भएको जिकिर गरे । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता, हुलाकी सडक, विमानस्थल निर्माण, स्थानीय तहमा अस्पताल निर्माणलगायत थुप्रै राम्रा काम गरेको उदाहरण दिँदै नयाँ भूभाग समेटेर नेपालको नक्सा जारी गरेपछि ओलीमाथि घेराबन्दी थालिएको विचार व्यक्त गरे ।

  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १८:२२:३,   अन्तिम अपडेट : पुस ८, २०७७ बुधबार १८:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया