प्रधानमन्त्रीसँगै एउटै मञ्चबाट प्रधानन्यायाधीशले भने–विधिको शासनका लागि न्यायपालिका सदैव प्रतिबद्ध छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 

संसद विघटनलाई असंवैधानिक कदम भएको र संविधानले संसद विघटनको कल्पनै नगरेको भनी संविधानविद्हरुले चर्को आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 

 ‘संविधानले तय गरेका निर्माण गरेका नयाँ संरचनाहरु, तिनको सञ्चालन आदिका सम्बन्धमा पनि संवैधानिक र कानुनी व्यवस्था नयाँ रहेका छन्,’ उनले भने, ‘संविधान कार्यान्वयनका सम्बन्धमा हामीले थुप्रै नयाँ कानुन निर्माण गरेका छौँ । कतिपय कानुन संविधानको व्यवस्थाअनुकूल बनाउनका लागि संशोधन र परिमार्जन गरेका छौँ ।’

नेपालको संविधान र कानुनको कार्यान्वयन र तिनको कार्यान्वयन प्रभावकारिता सन्दर्भमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत उनले व्यक्त गरे । 

कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनीयताको लागि त्यसमा आबद्ध संस्थाहरु वा निकायहरुको सक्षमता, निस्पक्षता व्यवसायीकता र जवाफदेहिता अपरिहार्य हुने बताए । 

सरकारी वकिलहरुको सक्षमता, व्यवसायिकता, क्रियाशीलताबाट नै समग्र फौजदारी न्याय प्रणाली गतिशील र प्रभावकारी बन्न सक्ने बताए । त्यसका लागि क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने पनि प्रधानन्यायाधीश जवराले बताए । यस्तै, आमनगारिकको आस्था र विश्वासबाट नै न्यायपालिका र न्याय पद्धति जीवन्त रहने पनि उनले बताए । 



नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको साशनको सुनिश्चितताको लागि न्यायपालिका सदैव प्रतिबद्ध भएको पनि उनले बताए । 

कार्यक्रममा नयाँ भवन उद्घाटनसँगै महान्यायाधिवक्ताको कार्यालयको ७०औं स्थापना दिवसको अवसरमा ‘नेपालका सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७’ समेत समुद्घाटन भएको छ । 



कार्यक्रममा महान्यायधिवक्ता अग्निप्रसाद खरेलले तीन दिवसीय यो सम्मेलन मुलुकी अपराधसंहिता समेतका कानुनहरुले गरेका नयाँ व्यवस्था समेतका सन्दर्भमा सरकारी वकिलहरुबीच हुने छलफलबाट साझा दृष्टिकोण विकास गरी कार्यसम्पादन एकरुपता कायम गर्ने सरकारी वकिलहरुको व्यवसायिकता अभिवृद्धि गर्न एवं सरकारी वकिल कार्यालयको संस्थागत क्षमता विकास गर्नका लागि सम्मेलन प्रभावकारी हुने बताए । 

महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री साथमा प्रधानन्यायाधीशलगायत अतिथिहरु

  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २०:२१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया